कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

उपभोक्ता समितिबाटै ठगिए किसान

सिँचाइ योजना भित्र्याउने भन्दै लाखौं रूपैयाँ उठाउने समितिका पदाधिकारी नै सम्पर्कमा छैनन्
मोहन बुढाऐर, गणेश चौधरी

धनगढी — सिँचाइको आसमा कैलालीको जोशीपुर वाणीका कुछबहादुर चौधरीले एक बिघा खेत बेचेर ११ लाख रुपैयाँ उपभोक्ता समितिलाई बुझाए । किसानले केही पैसा हालेपछि विश्व बैंकको लगानीमा नहर बन्ने समितिले उनलाई बताएको थियो । आठ वर्ष बित्यो, न विश्व बैंकको लगानी आयो, न कुलो नै बन्यो । उनको आफ्नो पैसासमेत फिर्ता पाएनन् । उनीजस्ता थुप्रै उपभोक्ताबाट लाखौं असुलेको समिति अहिले गुमनाम छ । यसका पदाधिकारी सम्पर्कमै आउन चाहँदैनन् ।

कैलालीमा रानीजमरा र वाणी ऐतिहासिक कुला हुन् । कर्णालीबाट ल्याएको पानीले जिल्लाको पूर्वोत्तर टीकापुर सिञ्चित हुन्थ्यो । मध्यवर्ती क्षेत्र जोशीपुरमा भने वाणी कुलोबाट आएको पानी लगाइन्थ्यो । वाणी कुलोको स्रोत स्थानीय पथरिया नदी हो । हरेक बर्खामा कर्णाली र पथरिया नदीमा बनाइएको कुलोको बाँध बाढीले बगाउँदा किसान हैरानी बेहोर्थे । बाँध बाँध्न कर्णालीमा महिना र पथरियामा १५ दिन लाग्थ्यो । घरको एक जना श्रमदानमा जानैपर्ने नियम थियो । घरबाट रासनपानी लिएर बास बसेरै कुलोको पुनर्निर्माणमा जाने चलनलाई स्थानीय ‘बेसाहर’ भन्छन् । कुलोमा पानी बगेको दिन उनीहरूका लागि उत्सव हुन्थ्यो । दुवै कुलोमा यो परम्परा थालिएको सय वर्ष नाघिसकेको छ ।

विश्व बैंकको लगानी आएपछि रानीजमरा कुलो राष्ट्रिय गौरवको आयोजनामा परेको छ । त्यहाँ भइरहेको विकास देखेर कुछबहादुरलाई लाग्यो, आफ्नो कुलोमा पनि कुनै योजना आउँछ र दुःखका दिन फिर्छन् भने एक बिघा जग्गा दिनु कुन ठूलो कुरा भयो र ! ‘कुलोमा विश्व बैंकको लगानी आउँछ र रानीजमरा जस्तै बन्छ भनेर बुबालाई उपभोक्ता समितिले विश्वास दिलाएर जग्गा बेचाएका हुन्,’ छोरा अमरबहादुरले भने, ‘विश्व बैंकको लगानी ल्याउन व्यक्तिको नाममा रहेको कुलोको साढे ३ बिघा जग्गा किन्न रकम अपुग भयो भनेका थिए ।’ उनका अनुसार योजना परेपछि समितिले ११ लाख रुपैयाँ फिर्ता गर्ने भनेको थियो । तर जग्गा बेचेर कुछबहादुरले रकम बुझाएपछि समितिका अध्यक्ष सम्पर्कविहीन भए । अन्य पदाधिकारी र सदस्य पनि टाढिन थाले ।

यस विषयमा बुझ्न वाणी कुलो समितिका अध्यक्ष डम्बर परियारलाई एक महिनासम्म फोन र घरमै गएर भेट्ने प्रयास गरे पनि उनी सम्पर्कमा आएनन् । समितिका सदस्य श्रीकृष्ण चौधरीले कुलोका लागि व्यक्तिको जग्गा किन्नुपरेकाले कुछबहादुरबाट ११ लाख रुपैयाँ उपभोक्ता समितिले लिएको स्विकारे । उनका अनुसार वाणी कुलोको बाँध बाँधिने ठाउँबाट पानी मूल नहरमा ल्याउन रमेश रावलसहित ६ जनाको साढे ३ बिघा जग्गा परेको थियो । कुछबहादुरबाट लिएकोसहित १३ लाखजति रकम रावललगायतलाई कुलोमा परेको जग्गाको रकमबापत बुझाएको उनी बताउँछन् । अरू उपभोक्ताबाट प्रतिकट्ठा २० रुपैयाँका दरले रकम संकलन गरिएको थियो । तर हालसम्म उपभोक्ता समितिको नाममा रावललगायतका व्यक्तिले उक्त जग्गा पास गरेका छैनन् । आफूहरूले पूरै रकम नपाएकाले पास नगरेको रावलले बताए ।

समितिका सदस्य चौधरीका अनुसार २०६६ सालमा आएको बाढीले कुलोको मुहान बगाएपछि स्थानीय श्रमदानले बाध बाँध्न सक्ने अवस्था रहेन । सरकारी योजना भित्र्याउन २०६८ तिर उपभोक्ता समिति बन्यो । त्यसको अध्यक्षमा परियार चयन भए । समितिको बैंक खाता अध्यक्ष, सचिव र कोषाध्यक्षको नाममा सञ्चालन गर्ने निर्णय गरियो । उपभोक्ता भेलाबाट १७ गाउँबाट प्रतिकट्ठा २० रुपैयाँका दरले सबै घरबाट चन्दा उठाउने निर्णय गरिएको थियो । ‘गाउँका भलमन्सा र समिति सदस्यलाई पैसा उठाउने जिम्मेवारी दिइएको थियो,’ चौधरीले भने, ‘हाम्रो गाउँ वाणीबाट १ लाख ३६ हजार उठ्यो ।’

योजना ल्याउन भन्दै उपभोक्ता समितिले कैलालीको साबिक जोशीपुर, थापापुर र भजनी गाविसका १७ गाउँमा चन्दा संकलन गरेको थियो । तर उक्त रकमको हरहिसाब सार्वजनिक नगरिएको स्थानीयले गुनासो गरे । ‘चन्दा उठाएको पैसा पनि खाइदिए,’ भजनी–६ थापापुरका कैलाश चौधरीले भने, ‘हामी उपभोक्ता भेला बसाउन माग गरिरहेका छौं तर समिति भागिरहेको छ ।’ प्रतिकट्ठा २० का दरले एक परिवारले ५ सयदेखि १५ सयसम्म रकम दिएको उनी बताउँछन् । ‘यस आधारमा २ हजारभन्दा बढी घरबाट उठेको करिब २५–३० लाख रकम हिनामिना गरेको देखिन्छ,’ उनले भने ।

उपभोक्ता समिति गठन भएपछि कुलोमा करिब २० करोडको योजनासमेत परेको थियो । उक्त रकमले कुलोको मूल बाँध र तटबन्ध बन्यो, त्यसपछि कुनै योजना आएन ।

सिँचाइ डिभिजन कार्यालय धनगढीका इन्जिनियर हेमराज भण्डारीले आर्थिक वर्ष २०६८/६९ मा १९ करोड ७९ लाख २० हजार रुपैयाँको योजना परेको बताए । उक्त बजेटबाट मूल बाँधसहित तटबन्ध, क्यानल स्ट्रक्चर बनाइएको थियो । योजनाको काम २०७१/७२ मा सकिएको हो । चालु वर्षमा प्रदेश सरकारले १० लाख बजेट विनियोजन गरेको छ । तर उपभोक्ता समिति नै निष्क्रिय भएपछि फ्रिज हुने स्थिति रहेको इन्जिनियर भण्डारीले बताए । ‘समितिका पदाधिकारी र सदस्य नै सम्पर्कमा छैनन्,’ उनले आश्चर्य व्यक्त गरे, ‘तर बजेट कसरी पर्‍यो ?’ गठनपछि एकपटक पनि समितिको साधारणसभा बसेको छैन ।

भजनी–६ थापापुरका शंकर कठरियाले उपभोक्ता समितिको जिम्मामा परम्परागत कुलो गएपछि बेसाहर जाने चलन टुटेकाले किसानका खेत बाँझिन थालेको बताए । ‘सरकारी बजेटमा बाँध निर्माण भए पनि समितिले जिम्मेवारपूर्वक काम नगर्दा कुलोको पूरै सिञ्चित क्षेत्रमा पानी पुगेन,’ उनले भने, ‘खेत बाँझिएको मात्रै छैन परम्परागत कुलोको भविष्य नै संकटमा छ ।’ उपभोक्ता समितिका नाममा केही व्यक्तिले अहिले पनि पानीपोत भन्दै बाली र रकम उठाउने गरेको स्थानीय बताउँछन् ।

प्रकाशित : फाल्गुन ३, २०७७ १३:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?