कैलालीमा बाघको आक्रमणबाट एकको मृत्यु

मोहन बुढाऐर

धनगढी — कैलालीको गौरीगंगा नगरपालिका–५ अण्डियामा एक महिलाको बाघको आक्रमणबाट मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा डिएसपी प्रतीक विष्टका अनुसार अण्डियाकी २६ वर्षीया कला धामीलाई स्थानीय पुष्पाञ्जली सामुदायिक वनमा आइतबार दिउँसो ३ बजेको समयतिर आक्रमण गरेको थियो । उनका अनुसार घाँसपातका लागि सामुदायिक वनभित्र गएकी उनीमाथि बाघले आक्रमण गरेको थियो । उनीसँगै गाउँका अन्य ४/५ जना महिला पनि थिए । तर उनीहरु भाग्न सफल भएका थिए ।

डिभिजन वन अधिकृत रामचन्द्र कँडेलका अनुसार तीन दिनदेखि पाटेबाघ कैलालीको बसन्ता संरक्षित तथा सामुदायिक वनमा घुमफिर गरिरहेको बताए । शनिबार पूर्व पश्चिमराजमार्गको चौमला राजीपुर खण्डमा पनि देखिएको स्थानियबाट सूचना प्राप्त भएको डिएफओ कँडेलले बताए ।

उनका अनुसार शुक्रबार कैलारी गाउँपालिका–८ बस्ने दुर्गाप्रसाद चौधरीलाई दुधुवाको बाघले आक्रमण गरी घाइते बनाएको छ । उनको उपचार बाँके कोहलपुर अस्पतालमा भइरहेको छ । कैलारीको–८ नम्बर वडा भारतको दुधुवा नेसनल पार्कसँगै जोडिएको छ । घाइते बस्तीको छेउ नजिकै दुधुवा नेसनल पार्क भित्र पसेको बेला आक्रमण गरेको थियो । डिएफओ रामचन्द्र कँडेलले सोही बाघ नेपाल प्रवेश गरेको हुन सक्ने बताए । बाघको हिँडडुलबारे र स्थानीयलाई जानकारी दिने काम भइरहेको उनले बताए ।

प्रकाशित : फाल्गुन २, २०७७ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?