कैलालीमा बाघको आक्रमणबाट एकको मृत्यु- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कैलालीमा बाघको आक्रमणबाट एकको मृत्यु

मोहन बुढाऐर

धनगढी — कैलालीको गौरीगंगा नगरपालिका–५ अण्डियामा एक महिलाको बाघको आक्रमणबाट मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय कैलालीका प्रवक्ता तथा डिएसपी प्रतीक विष्टका अनुसार अण्डियाकी २६ वर्षीया कला धामीलाई स्थानीय पुष्पाञ्जली सामुदायिक वनमा आइतबार दिउँसो ३ बजेको समयतिर आक्रमण गरेको थियो । उनका अनुसार घाँसपातका लागि सामुदायिक वनभित्र गएकी उनीमाथि बाघले आक्रमण गरेको थियो । उनीसँगै गाउँका अन्य ४/५ जना महिला पनि थिए । तर उनीहरु भाग्न सफल भएका थिए ।

डिभिजन वन अधिकृत रामचन्द्र कँडेलका अनुसार तीन दिनदेखि पाटेबाघ कैलालीको बसन्ता संरक्षित तथा सामुदायिक वनमा घुमफिर गरिरहेको बताए । शनिबार पूर्व पश्चिमराजमार्गको चौमला राजीपुर खण्डमा पनि देखिएको स्थानियबाट सूचना प्राप्त भएको डिएफओ कँडेलले बताए ।

उनका अनुसार शुक्रबार कैलारी गाउँपालिका–८ बस्ने दुर्गाप्रसाद चौधरीलाई दुधुवाको बाघले आक्रमण गरी घाइते बनाएको छ । उनको उपचार बाँके कोहलपुर अस्पतालमा भइरहेको छ । कैलारीको–८ नम्बर वडा भारतको दुधुवा नेसनल पार्कसँगै जोडिएको छ । घाइते बस्तीको छेउ नजिकै दुधुवा नेसनल पार्क भित्र पसेको बेला आक्रमण गरेको थियो । डिएफओ रामचन्द्र कँडेलले सोही बाघ नेपाल प्रवेश गरेको हुन सक्ने बताए । बाघको हिँडडुलबारे र स्थानीयलाई जानकारी दिने काम भइरहेको उनले बताए ।

प्रकाशित : फाल्गुन २, २०७७ १९:१७
प्रतिक्रिया
पठाउनुहोस्

प्रेम र यौनिक उत्पीडनको त्रास

नारायणी देवकोटा

देशमा राजनीतिको माहोल तातिरहेको बेलामा यो वर्षको भ्यालेनटाईन डे अल्लि फिक्का फिक्का छ । साथै आम मानिसहरुलाई निरन्तर सार्वजानिक भएका बलात्कार र हत्याका श्रृङ्खलाले त्रसित बनाएको छ । यता सहरमा ‘आई लभ यु’ भन्ने शब्दमा दम छ क्यारे ! राजनीतिक जुलुसमा नाराको रुपमा देखिँदै छ ।

प्रेमको सामान्य परिभाषाले, ‘कोही वा केही प्रतिको गहिरो भावनात्मक सम्बन्ध’ भनेर व्याख्या गर्छ । यो लेख सामान्यरुपमा व्याख्या गरिने प्रेम र आम बुझाईको यौनिक प्रेमसँग जेलिएका पाटाहरुमा केन्द्रित छ ।

प्रेमको सामान्य तर वृहत व्याख्या

एक महिना अगाडि लेखक अभय श्रेष्ठ र म एक साहित्यीक पत्रिकाको लागि चैतन्य मिश्र सरको अन्तरवार्ता लिन गएका थियौं । दुई घण्टा लामो कुराकानीमा चैतन्य सरसँग प्रेमका विविध पाटा र विभिन्न प्रकार (समवयका केटाकेटी वा युवायुवती बीचको यौनिक प्रेम, समाज, संस्कृति, पर्यावरण र जनवारसँगको प्रेम, आफ्ना परिवारका सदस्यमा वा कसैप्रतिको प्रेम) का बारेमा कुरा भए । चैतन्य सरले पछिल्ला दिनमा आफ्नी छोरी र गमलामा हुर्कँदै गरेका रुख विरुवाप्रतिको प्रेमलाई जोड्दै प्रेम यौनिक प्रेम मात्रै होइन भन्ने बारेमा कुरा गर्नु भयो ।

उहाँसँग लिएको अन्तरवार्ता ट्रान्सक्राईव गरिरहँदा मैले आफ्नो जीवनका कयौ प्रकारका प्रेमको बारेमा सोचिरहेँ । मेरो जीवनमा केही यस्ता साथी छन्, जो मेरा उदेक वा उराठलाग्दा सामाजिक सञ्जालका पोष्ट हेरेर मेरो ‘हालखबर ठीक भएको’ पक्का गर्न मलाई फोन गरिरहन्छन् । केही मेरा बाआमाले नजन्माएका दाईहरु छन्, जो मेरा समस्या र कामको बारेमा चासो राख्छन् र बाटो देखाउँछन् । केही गुरुहरु छन् जसले मेरा वैचारिक अलमलमा विनासर्त (कुनै कुरामा सहयोग गर्ने बाहनामा फाईदा उठाउने होइन) बाटाहरु बताइदिन्छन् । र, परिवारका सदस्यबीचको प्रेम त कसको पो हुँदैन र ? व्यक्तिगत, पेशागत र वैचारिक लडाईंका तमाम खुट्टा तानातानको बीचमा जजसका कारणले म उभिएकी छु । मेरोजस्तो सबै मानिसको जीवनमा यस्तो प्रेम होला ।

यस प्रकारको प्रेम भएका कोही पनि मानिसलाई केही भए व्यक्ति कुनै समय नभनी सहयोगको लागि दौडन्छ । आपत पर्दा आफ्नो बासस्थानको ढोका जुनैबखत खुल्ला राख्छ । वा कसैको मृत्युमा कयौं दिन सयौं मानिसका अगाडि हुरुक्क भएर रुन सक्छ । डरलाग्दा सपनाबाट बिउँझेर ब्यक्तिले जजसलाई फोन गर्दै ‘तिमीलाई ठीक छ नि’ भनेर सोध्छ । ती सबैजनासँग मानिसको गहिरो प्रेम हुन्छ र यस प्रकारको प्रेममा यौन सम्बन्ध आमरुपमा गौण मानिन्छ ।

मानिससँगको प्रेमलाई छोडेर कुरा गर्दा पनि प्रकृति, न्याय, कला, आफ्नो जीवनको उदेश्य वा अरु कुराका प्रतिको प्रेमलाई पनि प्रेम भन्न सकियो । यी सबै प्रकारका प्रेमलाई हामी आमरुपमा प्रेम भन्न सक्छौं । जुन प्रेम गर्नको लागि कसैसँग अनुमति माग्नु पर्दैन । वा उसले गरे म पनि गर्छु उसले नगरे म पनि गर्दिनँ भन्न पर्दैन ।

आम तर, साँघुरो यौनिक प्रेम

प्रेमको बृहत परिभाषाबाट साघुँरो परिभाषामा आउँदा आमरुपमा हामी समवयका, यौनिक सम्बन्ध (विपरित लिङ्ग मात्रैको कुरा होइन) को चाहनासहितका, विवाह गर्ने सर्तमा गरिने प्रेमलाई प्रेम भन्छौं । चलनका धेरै गीत, कविता, कथा, फिल्म यस्तै–यस्तै प्रेम, आकर्षणका बयानले भरिएका छन् । किशोरवयमा प्रवेश गरेपछि मानिसले आफ्नो जीन्दगीको बारेमा सोच्छ । जीवनकालभरिको सहयात्रीको बारेमा सोच्छ । जीवनभरिको यात्रा र यौन अकर्षणलाई कानुनी, सामाजिक मान्यता दिने विवाह संस्थाको कसीमा मानिसले कसैलाई मन पराउँछ र मन पराएको बदलामा आफू पनि मन परेको कुरालाई प्रेमको रुपमा लिन्छ ।

साँघुरो प्रेममा मानिस प्रेमको बदलामा प्रेमको अपेक्षा गर्छ । यौनिक निकटता, धन, जात, उमेर, स्वस्थ्य वा शक्तिसँग यस प्रकारको प्रेम जोडिएको हुन्छ । मानिसका जीवनमा यी कुराको तलमाथि भइरहँदा यौनिक प्रेम पनि तलमाथि भइरहन्छ । मानिसहरु भन्छन्– ‘घरमा श्रीमती गर्भवती वा विरामी छ त्यसैले बाहिर उसको प्रेम छ । वा श्रीमानदेखि वर्षौ टाढा छ त्यसैले उसको अर्को मानिससँग प्रेम छ । कथित ठूला जातिका मानिसले गरिब वा कथित् तल्लो जातीका छोराछोरीसँग हाँसखेल (यौनिक पनि) गर्न हुन्छ । उमेर छँदा त धेरै थिए तर अब एक्लै छु ।’ यस्ता परिघटनाको वरिपरि घुमिरहने प्रेमको परिभाषा साँघुरो मान्दा पनि यो प्रेमले मानिसको जीवनमा धेरै ठूलो अर्थ राख्छ ।

मानिस प्रेममा किन विक्षिप्त बन्छ ?

यौनिक प्रेमकै बारे कुरा गर्दा मानिसले अभिव्यक्तिका कयौं माध्ययमले व्यक्त गरेका कुरा ‘उमेरमा जसको नि प्रेम हुन्छ नि’ भनेर टारे हुने सामान्य कुरा होइनन् । विवाह गर्ने सर्तमा सुरु भएको प्रेम विवाहमा टुङ्गिएन भने मानिसलाई मानसिक आघात हुन्छ । विवाह गर्ने वा सँगै जीवन बिताउने सर्तसँग यौनमात्रै वा एउटा कुरामात्रै भन्दा पनि जीवनका विविध पाटाहरु जोडिएका हुन्छन् । जसमा मानिसले कयौं आफ्ना नभएका रुचि र बानीमा सम्झौता गरेको हुन्छ । आफ्नो जोडीका केही खराब बानीहरुलाई असलबानीहरुसँग तुलना गरेर स्वीकार गरेको हुन्छ । जीवनभर सँगै बिताउने सर्तमा उसले कयौं गोपनीय कुरा खोलेको हुन्छ, साझा लक्ष्यहरु राखेको हुन्छ । भावी जीवनको रुपरेखा कोरेको हुन्छ र यौनिक सम्बन्ध राखेको हुन्छ ।

प्रेममा छुटिनु भनेको एउटा मानिससँग यौन सम्बन्ध टुट्नुमात्रै होईन । गोपनियताका कयौं कुरा खुल्नु पनि हो, साझारुपमा राखिएका लक्ष्यहरुमा एक्लै पुग्ने कि नपुग्ने भन्ने दुविधा पनि हो र कयौंपटक लक्ष्यप्रतिको लगाव टुटेर अलमलिनु पनि हो । वा भावी जीवनका लागि बाटाहरु भत्किनु पनि हो । जसले प्रेमलाई यी सबैसँग जोडेर आफूलाई अगाडी बढाएको हुन्छ उ प्रेममा विक्षिप्त बन्छ ।

अलमलमा यौन सम्बन्ध

सतहबाट हेर्दा प्रेमको साँघुरो परिभाषाले यसले यौन सम्बन्धका लागि सामाजिक र कानुनी मान्यता प्रदान गर्ने संस्था विवाहलाई नै लक्ष्य मानेपछि यौनको बारेमा खासै अलमल गर्नु नपर्नेजस्तो लाग्छ । तर, यौन नितान्त दुई यौन अंगको समागममात्रै पनि होइन । यौ आफैंमा जटील र विविध (शारीरिक अवस्था वा क्षमता, मनोअवस्था, वातावरण र संस्कृति) पक्षसँग जोडिएको कुरा हो । यी सबै कुरालाई विश्लेषण गरेर मात्रै मानिस यौन सम्बन्धमा मानसिक वा भावनात्मक रुपमा जोडिएको हुन्छ वा स्वीकार गरेको हुन्छ ।

तर, समाजमा यौनका प्रति सबै मानिसका एकै प्रकारका सोच छैनन् । कसैले यसलाई यौनिक पवित्रतासँग जोडेर हेर्छन्, कोही पुरुष (पुरुष नै) आफ्नो पुरुषत्वको रुपमा लिन्छन् वा कसैले स्वतन्त्रतासँग जोडेर हेर्छन् भने समाजमा यी सबै प्रकारका सोच एकसाथ बोकेर हिँड्ने मुखुण्डोधारी पनि छन् ।

यौनिक पवित्रताको सोच हामी र अर्को भन्ने सोचमा आधारित छ । र, यो महिला र सीमान्तकृत समुदायप्रति वर्चश्वसाली समुदायद्वारा गरिने एक प्रकारको दमनको हतियार हो । यौन सम्बन्धलाई पुरुषत्वसँग जोडेर हेर्ने मानिसले यौन सम्बन्ध विभिन्न महिलाहरुसँग राखिरहनु वा यौन सम्बन्ध राख्ने आफ्नो विशेष क्षमता भएको मान्दै गर्वको रुपमा प्रस्तुत गर्छन् । सामाजिक सञ्जालमा कुनै महिलालाई ‘बलात्कार गर्छु’ भनेर खुलेआम भन्ने मानिसलाई हामी यस्ता सोच भएका मानिस हुन् भन्न सकिन्छ ।

यौनलाई स्वतन्त्रताको रुपमा लिने मानिसहरु दुईजनाको सहमति वा लेनदेन (यौन कर्म वा व्यापार) मा गर्न सकिने कुरा हो भन्ने मान्यता राख्छन् । यौन सम्बन्धको व्याख्यामा यो व्याख्या धेरैहदसम्म अहिलेको समाजमा स्वीकार्य छ । तर, स्वतन्त्र भनिएका सम्बन्धहरुमा पनि यौन फगत यौन मात्रै हुँदैन, यौनसँग मानिसले आफ्ना हुर्काईका क्रममा विकास गरेका अवधारणाहरु, संस्कृति र सोचसहितको मानिस जोडिएको हुन्छ ।

माथि भनिएका तीनै प्रकारका धारणाका कार्ड एकसाथ खल्तीमा हालेर हिँड्ने कयौं मानिस समाजमा छन् । यस्ता मुखौटाधारीहरु लैंगिक न्यायको लागि सार्वजानिक रुपमा बोलि पनि रहन्छन्, अँध्यारोमा आफूभन्दा कमजोर महिलाका वक्ष र नितम्ब हेर्दै थुकमात्रै निल्दैनन् एकान्त पाए निचोर्न पनि भ्याउँछन् । घरभित्र आफ्ना परिवारका महिला सदस्यलाई शुसिल हुन आग्रह पनि थोपर्छन्, अनि साथीहरुको बीचमा जाँडलाई बहाना बनाएर वा रमाइलोको नाममा कतिजना महिलासँग कसरी कसरी यौन सम्बन्ध राखेको भनेर आफ्नो पुरुषत्वको गफ दिन पनि भ्याउँछन् । यस्ता मानिसहरु हाम्रै वरिपरि र सँगै–सँगै छन् भन्ने कुरा ‘मिटु आन्दोलन’का क्रममा बाहिर आएका छन् । आउँदै छन् ।

यौन सम्बन्धसँग जोडिएका विभिन्न सोचहरुले यौनिक प्रेम र त्यसको निरन्तरतालाई वा विवाहमा परिवर्तन हुने उद्देश्यलाई प्रभावित पारेको हुन्छ । त्यसैले यौन सम्बन्धसहितको प्रेम कसैको लागि ‘जीवनभरिको सम्बन्ध’ बनिदिन्छ कसैका लागि ‘दुई चार दिनको हल्का रमाइलो’ मात्रै लागिदिन्छ ।

यौन उत्पीडनलाई प्रेमको जलप

केही महिना अगाडि एकजना यौन उत्पीडनको आरोप लागेका मानिसको विषयमा कुरा चलिरहँदा आदरणीय साहित्यकार खगेन्द्र संग्रौलाले ‘...को नारी प्रेम’ भनेर लेख्नु भयो । संग्रौलाको टुईटर पोस्ट पढेपछि मैले स्रोह वर्ष अगाडिको घटना सम्झिएँ । हजुरबा उमेरका एक व्यक्तिले मेरो उमेरकी (२० वर्षकी) साथीलाई यौनसम्बन्धको प्रस्ताव राखे, बडो दार्शनिक पाराले । यो दार्शनिक पाराको जगमा थियो– एङ्गेल्सको ‘परिवार नीजि सम्पति र राज्यसत्ताको उत्पति’, राहुल सांकृत्यानको ‘वोल्गा से गंगा’ र ओशोका केही भाषणहरु । ती साठी वर्षे बृद्धले एउटी बीस वर्षे युवतीलाई गरेको यौन सम्बन्धको प्रस्तावको बारेमा केही सिनियरसँग कुरा गर्दा उहाँहरुले ‘उसको त लिङ्ग काटेर चौरहामा झुण्डाउने हो भने आधा महिलाले चिन्छन् भन्ने भनाई नै छ’ भनेर सुनाउनु भयो । यो कुरा सायद उक्त पुरुषको सोचप्रतिको घृणाभन्दा पनि आफूले त्यसै गर्न नपाएको गुम्फनबाहेक केही थिएन भन्ने कुरा म बल्ल अहिले आएर बुझ्छु । त्यसैगरि एकजना छाडा बोल्ने, महिलाहरुलाई सार्वजानिक रुपमा नै यौनजन्य दुर्ब्यवहार गर्ने एकजना प्राध्यापकको बारेमा कुरा हुँदा ‘उहाँ त महामानव वा सांसारिक घटनाबाट मुक्त भएको दार्शनिक’ भन्ने उत्तर आउथे ।

‘मिटु आन्दोलन’ सुरु भएपछि मैले सम्मान गरेका केही मानिसहरुले गरेका यौन उत्पीडनका घटना सार्वजानिक भए । यी सबैसँग प्रेम, यौनिक स्वतन्त्रता र दर्शनका कुराहरु जोडिएका थिए । जो आफूभन्दा कमजोरलाई जे अर्थ लगाएर वा जुन सन्दर्भ भनेर आफ्नो घृणित वासना पूरा हुन्छ मानिस त्यसै गर्छन् । यो सन्दर्भ किन जोडेको भने नेपालको अहिलेको बौद्धिक भनिने वर्गको ठूलो हिस्सा प्रेमको बारेमा अलमलमा छ । उसले उत्पादन गर्ने ज्ञान (सामाजिक सञ्जाल, सार्वजानिक सञ्चारमाध्यम, साहित्य) पनि अलमलले भरिएको छ । जसलाई मुखुण्डोधारीहरुले आफ्नो स्वार्थअनुसार प्रयोग गर्छन् ।

प्रकाशित : फाल्गुन २, २०७७ १९:१६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×