२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३९०

रानाथारू होमस्टेमा एक वर्षपछि पाहुना

भवानी भट्ट

कञ्चनपुर — शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज छेउमै रहेको रानाथारू होमस्टे ११ महिनापछि सुरु भएको छ । कोरोना महामारीले लकडाउनसँगै बन्द भएको होमस्टे यसै सातादेखि पुनः सञ्चालन भएको हो । 

रानाथारू होमस्टेमा एक वर्षपछि पाहुना

रानाथारू समुदायको संस्कृति, रहनसहन र खानपानको आनन्द लिन सकिने होमस्टे सुरु भएपछि पाहुनाहरू पनि आउन थालेका छन् । अहिले यहाँ नेचर गाइडको तालिम चलिरहेको छ । तालिममा सहभागी २५ जना होमस्टेमै बसेका छन् । ‘होमस्टे बन्द हुँदा बेरोजगार थियौं, घर खर्च चलाउन समस्या भइरहेको थियो,’ होमस्टे व्यवस्थापन समितिका अध्यक्ष पर्शुराम रानाले भने, ‘अब थोरै भए पनि राहत हुनेछ ।’ उनका अनुसार होमस्टेकै भरमा रहेका परिवारलाई झनै समस्या थियो । होमस्टेबाट एउटा परिवारले वर्षमा एक–डेढ लाखसम्म आम्दानी गर्ने उनले बताए ।

२०७३ देखि सुरु भएको होमस्टेमा वर्षमा डेढ–दुई हजारको संख्यामा पर्यटक आउँथे । घरमै उत्पादित तरकारीदेखि कुखुरा होमस्टेमा खपत हुँदै आएको थियो । ‘लकडाउनले बाहिर काम पाइएन, घरमै भएको रोजगारी पनि खोसियो,’ समितिका सचिव चेतराम रानाले भने, ‘लकडाउनमा त उत्पादन भएको तरकारी पनि बेच्न पाइएन ।’ कञ्चनपुरको भीमदत्त नगरपालिका–१४ र १६ मा पर्ने नयाँ कटानका रानाथारू समुदायका हरेक घरमा तरकारी खेती हुन्छ । होमस्टेमा प्रयोग गरेर बचेको तरकारी बेच्न उनीहरू आफैं बजार पुग्छन् ।

यहाँका आठ परिवारले होमस्टे चलाएका छन् । हरेक घरमा दुईदुई कोठामा चारचार जना पाहुना राख्न सकिने अध्यक्ष रानाले जानकारी दिए । उनका अनुसार गत वर्ष नै होमस्टेका कच्ची घरहरू भत्काएर पक्की बनाइएको थियो । लगत्तै लकडाउन सुरु भएपछि ऋण तिर्नसमेत समस्या भएको अध्यक्ष रानाले बताए । शुक्लाफाँटामा पनि लामो समय पर्यटकको आवागमन बन्द भएको थियो । पछिल्लो समय निकुञ्ज पर्यटकका लागि खुला गरिएको छ । होमस्टेमा रानाथारूको परम्परागत पहिरनसँगै कला, संस्कृति पनि हेर्न पाइन्छ ।

पछिल्लो समय मौलिक पोसाकहरू लोप हुँदै गएपछि सामुदायिक भवनमा पाहुनालाई देखाउन पोसाक राखिएका छन् । यसैगरी सांस्कृतिक कार्यक्रम पनि हुने गरेका छन् । ‘पर्यटकहरू हाम्रो संस्कृति र पहिरन हेर्न पनि आउने गरेका छन्,’ होमस्टे सञ्चालक समिति सदस्यसमेत रहेकी भीमदत्त नगरपालिकाको पर्यटन समिति सदस्य वसन्ती रानाले भनिन्, ‘होमस्टेले आम्दानी मात्रै होइन, हाम्रो संस्कृति संरक्षणमा पनि सहयोग पुगेको छ ।’

प्रकाशित : फाल्गुन २, २०७७ ०६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुख्खा मौसम सुरुभएसँगै डढेलो र आगलागी घटना व्यापक बढेका छन् । वर्षेनी हुने यस्ता घटनाबाट धेरै क्षति हुन नदिन के गर्नुपर्छ ?