कसरी सुक्यो सुर्मा सरोवर ?- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कसरी सुक्यो सुर्मा सरोवर ?

त्यहाँ तापक्रम वृद्धि भएर पानी बाफ भएर उडेको, जलाधार क्षेत्रमा रहेका मुहान सुकेको वा कुनै भौगर्भिक परिवर्तनले ताल सुकेको अनुमान गर्न सकिन्छ – अजय दीक्षित, पानीविज्ञ
त्यहाँ गइरहने धेरैजसोले ताल सुक्यो होला भनेर विश्वासै गर्दैनन्
वसन्तप्रताप सिंह

बझाङ — पुसको तेस्रो साता जब उनी सुर्मा सरोवर पुगे, आँखाले हेरि नभ्याउने ताल सुकेर धाँजा फाँटेको देख्दा उनी रनभुल्लमा परे । ‘सुरुमा त मलाई अर्कै ठाउँमा आएछु कि जस्तो लाग्यो । सपना हो कि विपना छुट्याउनै सकिनँ,’ सुर्मा गाउँपालिका–४ का गणेश बोहराले भने, ‘ताल भएको ठाउँ खडेरी परेको खेतजस्तै चिराचिरा परेको थियो । त्यहाँ पहिले सुर्मा ताल थियो भनेर पत्याउनै नसकिने भएछ । कसरी यस्तो भयो होला, केही लख काट्नै सकिनँ ।’

एक वर्षयता उनी गाउँपालिका केन्द्रस्थित एभरेस्ट बैंकको सुरक्षा गार्डका रूपमा कार्यरत छन् । त्यसअघि उनी प्रत्येक हिउँद (मंसिर–पुस) मा जडीबुटी र वैशाख–जेठतिर यार्सा संकलनका लागि सुर्मा सरोवर पुग्थे । यसपटक भने आफू कार्यरत बैंकका कर्मचारीलाई घुमाउन उनी त्यहाँ पुगेका थिए । ‘मंसिर–पुसतिर जाँदा सरोवर झन् सुन्दर देखिन्थ्यो । चारैतिर अग्ला डाँडाको बीचमा नीलो पानी, जति हेरे पनि हेरिरहुँ लाग्थ्यो,’ उनले भने, ‘मेरै मुखबाट तालको सुन्दरताको बयान सुनेर सरहरूले घुम्न जाऔँ भन्नुभयो । ताल सुकेको देखेपछि म त झस्किएँ । झूटो बोलेछ भन्ने हुन् कि भनेर लाज पनि लाग्यो ।’ १०/११ वर्षको उमेरदेखि त्यहाँ जान थालेका उनी १४/१५ पटकसम्म सुर्मा सरोवर पुगेको बताउँछन् । तर यसअघि कहिल्यै तालको पानी घटेको समेत थाहा पाएका थिएनन् ।

सुर्मा सरोवर सुदूरपश्चिमको प्रमुख पर्यटकीय गन्तव्य हो । समुद्र सतहदेखि ४ हजार मिटर उचाइमा रहेको यो ताल बझाङ सदरमुकाम चैनपुरबाट चार दिनको पैदल दूरीमा पर्छ । यो तालमा दुर्गादेवीका १६ बहिनीमध्येकी एक सुर्मा देवीको बास रहेको धार्मिक मान्यता छ । यसलाई हिन्दु धर्मावलम्बीहरू सानो कैलाशका रूपमा पनि पूजा गर्छन् । जनैपूर्णिमाका दिन यहाँ विशेष मेला पनि लाग्छ । दार्चुला र बझाङलगायत सुदूर पहाडका स्थानीयलाई सरोवर सुकेको खबरले झस्काएको मात्रै छैन, केही अनिष्ट हुने डरले त्रसितसमेत छन् । सुर्मा सरोवर घुम्न गएकाहरूले ल्याएको फोटो देखाउँदा कतिपय स्थानीयले ताल सुकेको कुरा पत्याउनै नसकेको एभरेस्ट बैंकका अर्का कर्मचारी कृष्ण बोहराले सुनाए । ‘हामीले ताल सुकेको फोटो–भिडियो देखाउँदा पनि धेरैले त पत्याउनै सकेनन्,’ उनले भने, ‘सुर्मा देवीले छल गरेर तिमीहरूलाई सुकेको ताल देखाएको हो भन्छन् । त्यहाँ गइरहने धेरैजसोले सुक्यो होला भनेर विश्वासै गर्दैनन् ।’

बझाङको सुर्मा गाउँपालिकास्थित सुर्मा सरोवर (माथि) को दुई वर्षअघि खिचिएको तस्बिर ।

त्यहाँ पुग्नेको मनमौजी व्यवहार र सुर्मा देवीको मर्यादा नराखेका कारण देवी रिसाएर यस्तो भएको हुन सक्ने सुर्माका ६० वर्षीय कुया बोहराले बताए । उनका अनुसार त्यहाँ जाँदा खाली खुट्टा जानुपर्ने, लसुनप्याज खान नहुने, यौनजन्य गतिविधि गर्न नहुने मान्यता छ । ‘अहिले मानिसले मनपरी गर्न थाले । देवीको मर्यादा नै राखेनन् । देवी रिसाएर नै ताल सुकेको हुनुपर्छ,’ उनले भने ।

ताल सुकेको खबरले जनप्रतिनिधिसमेत चकित परेका छन् । सुर्मा गाउँपालिका अध्यक्ष नरबहादुर बोहराले पनि देवी रिसाएर नै यस्तो भएको हुन सक्ने बताए । ‘अरू कुरा त परै जाओस्, ताल क्षेत्रमा आगो बाल्न र बिँडी, चुरोटसम्म खान मिल्दैनथ्यो । अहिले त मनपरी छ । रक्सी खाने, जथाभावी दिसापिसाब गर्न थाले, त्यही भएर देवी रिसाएर नै यस्तो भएको हुनुपर्छ,’ उनले भने, ‘नभए कस्ता–कस्ता खडेरीमा पनि नसुकेको ताल अहिले कसरी सुक्यो ?’ उनका अनुसार २०७२ भदौदेखि २०७३ असारसम्मको खडेरीमा पनि यो ताल सुकेको थिएन । तालको नापजाँच गर्दा देवी रिसाउँछिन् भन्ने मान्यता रहेकाले यसको यकिन गहिराइ र क्षेत्रफलसमेत हालसम्म किटान गरिएको छैन । ‘देखेको आधारमा अन्दाजी ६ फिट गहिरो र ६ सय वर्गमिटर जति क्षेत्रफल होला,’ उनको अनुमान छ ।

चार वर्षअघि कात्तिक/मंसिरतिर सुर्मा सरोवर पुगेका सुदूरपश्चिमका पर्यटनकर्मी किशोर खड्का पनि ताल सुकेको खबर सुनेर अचम्ममा परेको बताउँछन् । तालको चारैतिर ५ हजार मिटर अग्ला हिमाल रहेका र उपत्यकाको बीचमा रहेको ताल सुक्नुका कारणबारे अध्ययन गरिनुपर्ने उनको भनाइ छ ।

सुर्मा सरोवर सुक्नुको कारण अध्ययनपछि मात्रै यकिन हुन सक्ने ताल तथा पानीविज्ञ बताउँछन् । ‘अध्ययन नगरीकनै यही कारणले सुक्यो होला भन्न त गाह्रो छ,’ पानीविज्ञ अजय दीक्षितले भने, ‘त्यहाँ तापक्रम वृद्धि भएर पानी बाफ भएर उडेको, जलाधार क्षेत्रमा रहेका मुहानहरू सुकेका कारण तालमा पानी अभाव भएको वा कुनै भौगर्भिक परिर्वतनले सुकेको अनुमान मात्रै गर्न सकिन्छ ।’ उनले केही वर्षयता विभिन्न कारणले वातावरण र जलवायु परिवर्तन भइरहेकाले हामीले वर्षौंदेखि देख्दै भोग्दै आएको वातावरणीय अवस्था भोलि पनि त्यस्तै रहन्छ भनेर ठोकुवा गर्न नसकिने अवस्था आएको बताए ।

उच्च स्थानमा रहेको र कहिल्यै नसुकेको ताल एक्कासि सुक्नु वातावरणीय हिसाबले ठूलो मुद्दा भएकाले यसको अध्ययन हुनुपर्ने अर्का पानीविज्ञ डा. दीपक रिजालले बताए । ‘यो आश्चर्यजनक र महत्त्वपूर्ण वातावरणीय घटना हो । ताल किन सुक्यो भन्नेबारे गहन अध्ययन आवश्यक छ,’ केही वर्षपहिला सेती नदी र यसको जलाधार क्षेत्रमा रहेका तालतलैयाको अध्ययनको नेतृत्व गरेका उनले भने, ‘हिमाली क्षेत्रमा जलवायु परिवर्तनले पारेको प्रभाव र त्यसको दीर्घकालीन असरबारे बुझ्नका लागि पनि अध्ययन गरिनु जरुरी छ ।’ उनले तालको आसपासमा रहेका मुहान सुकेका कारण ताल सुकेको हो कि भन्ने अनुमान गरिए पनि अध्ययनबिना के कारणले सुक्यो भनेर ठोकुवा गर्न नसकिने बताए ।

प्रकाशित : माघ २९, २०७७ १०:०१
प्रतिक्रिया
पठाउनुहोस्

कलिलैमा बिहे, २० पुग्दा ३ सन्तान

भरत जर्घामगर

सिरहा — धनगढीमाई नगरपालिका–११ की रेखा सदा मुसहरको १४ वर्षको उमेरमै विवाह भयो । भर्खर २० वर्ष टेकेकी उनी कानुनी रूपमा बिहे गर्ने उमेरमा तीन छोराछोरीकी आमा बनिसकेकी छन् । गर्भमा चौथो सन्तान छ । 

जेठो छोरा निशु ५ वर्ष, छोरीहरू रानी साढे तीन वर्ष र रीतिका वर्ष दिनकी छन् । श्रीमान् अरुण इँटाभट्टामा काम गर्छन् । सुकुम्बासी परिवारका उनीहरूको अहिलेसम्म नागरिकतासमेत बनेको छैन । रेखाले जस्तै सासू आशा सदाले पनि बच्चा जन्माइरहेकी छन् । आशाका जेठा छोरा अरुण (रेखाका श्रीमान् २० वर्ष), माइलो अर्जुन ८ वर्ष, कान्छो विशाल साढे ६ वर्ष र छोरी अञ्जली छन् । सासू–बुहारी सँगसँगै बर्सेनि सुत्केरी हुँदा स्याहार नपुगेर कमजोर बनेको र रोगले गाँजेको रेखा सुनाउँछिन् । ‘सुत्केरीका बेला पोषिलो खानेकुरा पाउनु परको कुरा, कति रात भोकै सुत्नुपर्थ्यो,’ रेखाले भनिन्, ‘ढाड दुख्ने, जोर्नीहरू कटकट खाने रोगले थलिएकी छु ।’ रेखाकी सासू आशा पनि त्यस्तै समस्या भोगिरहेकी छन् । उनी पनि गह्रुँगो काम गर्न सक्दिनन् । उनका श्रीमान् मनकुले भारतको पञ्जाबमा मजदुरी गरेर खर्च पठाउँछन् ।

धनगढीमाई नगरपालिका–११ का २३ घर मुसहर बस्तीका अधिकांशको विवाह सानै उमेरमा भएको छ । रेखाकी आमा प्रमिलाको विवाह पनि १० वर्षमै सिरहाकै नरहा ललभितियामा भएको थियो । प्रमिलाले समेत अहिलेसम्म बच्चा जन्माइरहेकी छन् । ८ छोरीमध्ये रेखा जेठी हुन् । माइली प्रभा र साहिँली पवनीको पनि विवाह भई एक/एक छोरी छन् । ‘मुसहर समुदायमा सानै उमेरमा विवाह गर्ने चलन छ, उमेर पुगेर विवाह गर्नुपर्छ भन्ने थाहै भएन,’ रेखाले भनिन् ।

लहान नगरपालिका–२४ झुटकीस्थित ३७ घरपरिवारको मुसहरी टोल छ । त्यहाँ पुग्दा कलिलो उमेरका मुसहर बुहारीहरू बालबच्चा काखी च्यापेर बसेका भेटिन्छन् । १५ वर्षीया रुबी देवी सदा ६ महिने छोरा प्रवेश, १७ वर्षीया पुजा अढाई वर्षे छोरी उषा, २० वर्षीया सिल्टोदेवी १ वर्षे छोरा रितेशलाई काँखी च्यापेर घाम तापिरहेका भेटिए । कलिलै उमेरमा सन्तान जन्माएका उनीहरू निरक्षर छन् । उनीहरूका श्रीमान्ले पनि पढेका छैनन् । ऐलानी जग्गामा बस्ने उनीहरूमध्ये कोही खोलामा गिट्टी चालेर गुजारा चलाउँछन् भने कोही युवा मजदुरीका लागि भारतको मुम्बई र पञ्जाबतर्फ हानिएका छन् ।

सिरहाका मुसहर बस्तीमा सानै उमेरमा आमा बन्ने युवतीहरूको संख्या बढ्दो छ । २०६८ को जनगणनाअनुसार नेपालमा मुसहरको संख्या २ लाख ३४ हजार ४ सय ९० छ । सिरहामा मात्रै यो समुदायका ३९ हजार ९ सय २९ छन् । तीमध्ये ९५ प्रतिशत भूमिहीन सुकुम्बासी छन् । अशिक्षा र चेतना अभावकै कारण मुसहर समुदायमा बालविवाह चलन बढ्दो रहेको नेपाल राष्ट्रिय मुसहर संघका अध्यक्ष चन्देश्वर सदा बताउँछन् ।

उनका अनुसार सीमान्तकृत, अल्पसंख्यक डोम र मुसहर समुदायमा विशेषगरी छोराछोरी जन्मनेबित्तिकै विवाहको टुंगो लगाउने चलन कायम छ । मगनी भइसकेकी छोरीले उमेर पुगेपछि अन्यत्रै विवाह गर्लान् कि भन्ने डरले सानैमा विवाह गरिदिने चलन रहेको उनले बताए । लहान बहुमुखी क्याम्पस समाजशास्त्र विभागका सहप्राध्यापक शोभितलाल चौधरी अशिक्षा, गरिबी र चेतना अभावले बालविवाह भइरहेको बताउँछन् ।

पछिल्लो समय यस समुदायका किशोरी बालविवाहविरुद्धको अभियानमा सक्रिय भएका छन् । कक्षा १० मा पढ्दै गरेकी मलहनवा मुसहर बस्तीकी १६ वर्षीया राधिका सदाय मुसहरलाई उनका अभिभावकले विवाह गरिदिन खोजे । बुबा झगडु र आमा ठकनीकी एक्ली छोरी राधिकालाई विवाहका लागि मगनी आयो । विभिन्न संघसंस्थाले दिएको तालिम र स्कुले शिक्षाबाट बालविवाहबारे जानकार राधिकाले विवाह मगनीलाई अस्वीकार गरिन् । ‘विवाह अस्वीकार गरेलगत्तै अभिभावकले हेला गर्न थाले,’ राधिकाले भनिन्, ‘कानुनी र शारीरिक रूपमा पनि विवाह गर्ने उमेर होइन भन्दा अभिभावकले बेवास्ता गर्न थाले, एक मात्र सन्तान भएकाले विवाह छिटो गर्नुपर्ने ढिपी गरिरहे ।’

विवाह टार्न उनले टोलका सँगै पढ्ने संगीहरूलाई भेला पारिन् र बालविवाहविरुद्ध लड्ने निधोमा पुगिन् । बस्तीकै कक्षा १० मा पढने सुमित्राकुमारी सदाय मुसहर, सन्तोषी, कक्षा ९ मा पढ्ने सुमिता, कक्षा ८ मा पढ्दै गरेकी अनुषा सदाय मुसहरले बालविवाहको चलनविरुद्ध अग्रसरता देखाए । राधिकाकै अग्रसरतामा उनीहरूले नमुना किशोरी समूह गठन गरे । मुसहर किशोरी समूहले राधिकाका अभिभावकलाई बालविवाह कानुनी रूपमा दण्डनीय हुने र शारीरिक, मानसिक रूपमा दुर्बल हुने सुझाए ।

प्रकाशित : माघ २९, २०७७ १०:०१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×