२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५९

भागरथी हत्याको विरोधमा प्रदेश राजधानीमा विद्यार्थी आन्दोलित

मोहन बुढाऐर

धनगढी — सुदूरपश्चिम प्रदेशको राजधानी धनगढीमा बैतडीकी किशोरी भागरथी भट्टको बलात्कार पछि हत्याको विरोधमा विद्यार्थीहरु दिनहुँ आन्दोलनमा उत्रिइरहेका छन् ।

भागरथी हत्याको विरोधमा प्रदेश राजधानीमा विद्यार्थी आन्दोलित

मंगलबार धनगढीको सुदूरपश्चिम एकेडमी कलेजको नेतृत्वमा विद्यार्थीहरुले मुख्यमन्त्री तथा मन्त्री परिषद्को कार्यालयमा धर्ना, नाराबाजी र चक्काजाम सहितको विरोध प्रदर्शन गरेका छन् ।

आन्दोलनमा सहभागी विद्यार्थीहरुले दिदीबहिनीको विशेष सुरक्षा योजनासहित बलात्कारीलाई तत्काल कठघरामा उभ्याएर फासी दिनुपर्ने सहितको नारा व्यक्त गरे । स्कुल ड्रेससहित आन्दोलनमा सहभागी प्लस टु देखि ब्याचलर तहसम्मका सयौं छात्रछात्राहरुले करिब चार घन्टा मुख्यमन्त्रीको गेट अगाडि नारा लगाउँदै धर्ना दिने र चक्का जाम गरे ।

गत बुधबार विद्यालयबाट फर्कने क्रममा सम्पर्कविहीन भएकी भागरथीको शव बिहीबार साँझ स्थानीय लवलेक सामुदायिक वनमा भेटिएको थियो । प्रहरी अनुसन्धानबाट उनको बलात्कार पछि हत्या गरिएको पुष्टि भएको छ । प्रहरीले अपराधीलाई अहिलेसम्म पक्राउ गर्न सकिरहेको छैन ।


‘भागरथीको घटनाका अपराधी समात्न नसकेको पनि एक साता बित्न थालेको छ,’ पूजा जोशीले भनिन्, ‘कतै भागरथीले पनि निर्मलाको नियति भोग्नु पर्ने त हैन्, यसैका लागि आन्दोलनमा आउनु परेको हो ।’ प्रदेश राजधानी धनगढीमा भागरथीको हत्या गनेलाई कारबाहीको माग राख्दै विद्यार्थीहरुले घटना बाहिरिएको भोलिपल्टबाट आन्दोलनरत छन् । कुनै दिन कुनै विद्यालय र कलेजबाट विद्यार्थीहरु सडकमा उत्रिरहेका छन् । स्वस्फूर्त रुपमा स्कुलबाट विद्यार्थीहरु सडकमा आउन थालेका हुन् ।

प्रहरी प्रशासनले अनुसन्धानको दायरा साँघुरिँदै गएको छ भन्दै आएको छ । ‘निर्मलाले न्याय पाउन नसकको अवस्थामा उस्तै प्रकृतिमा भागरथीको बलात्कारको घटना असह्य छ,’ आन्दोलनमा सहभागी पदम बोहराले भने, ‘सरकारले भागरथीको हत्यारा–बलात्कारीलाई तुरुन्तै कठघरामा उभ्याउनु पर्छ । सँगसँगै निर्मलालाई पनि न्याय चाहिएको छ । उनको हत्याराको खोजी होस् ।’

त्यस्तै अस्मिता चन्दले सरकारले हत्यारा र बलात्कारीलाई कारबाहीको दायरामा ल्याउन नसक्दा देशमा अपराधीको मनोबल बढिरहेको बताइन् । अबको विद्यार्थीको आन्दोलन एक/दुई वटा घटनाका लागि मात्रै नभएर सरकारले दिदीबहिनीको सुरक्षाको ग्यारेन्टी दिन पर्ने उनले बताइन् । त्यस्तै मन्दोदरी साउदले बलात्कारका घटनाहरु बढिरहेका तर सरकार गम्भीर नभएकाले नेपालमा महिलाको सुरक्षा नभएको बताइन् ।

प्रकाशित : माघ २७, २०७७ १७:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?