नाकामा सकस उस्तै

नाका पूरै खोल्न र रेकर्ड नलिन कुनै परिपत्र नआएको प्रशासनको भनाइ
मोहन बुढाऐर

धनगढी — कामका लागि भारत उत्तराखण्ड राज्यको रामनगर जान लागेका बर्दियाको गेरुवा गाउँपालिका–२ का विष्णु बडालसहित पाँच जनाको समूह शनिबार कैलालीको त्रिनगर–गौरीफन्टा भन्सार नाकामा लामबद्ध थियो । कुराकानीका क्रममा बडालले प्रश्न गरे, ‘बोर्डरमा अझै किन सकस ?’

नाकामा सकस उस्तै

रोजगारी र काम दिन नसक्ने सरकारले भारत जानका लागि बोर्डरमा घन्टौं पर्खाउनुको कारण आफूहरूले थाहा पाउन नसकेको उनले बताए । ‘बोर्डरमा हामी कामको खोजीमा भारत जाने नेपालीको रेकर्ड किन राख्ने गरेको हो ?,’ उनले भने, ‘हामी उतै (भारत) हरायौं बिरायौं भने के सरकारले यो रेकर्डका आधारमा खोजी गर्न आउँछ ? जनताले कुन पीडा भोगेर भारतमा काम गर्न जानुपरेको छ, सत्ता र कुर्सीका लागि लडिरहेको सरकारलाई के थाहा ?’

उनीसँगै रहेका गोविन्द परियारले पनि आफ्नै सीमामा आउजाउ गर्दा सधैं सास्ती बेहोर्नुपरेको बताए । ‘कोरोनाको महासंकटमा घर आयौं, बोर्डरमा तीन/चार दिन रोकियौं,’ उनले भने, ‘हाम्रो सरकारले सजिलै प्रवेश नै दिएन । जाँदा खेरि पनि घन्टौं लाममा लगाएको छ ।’ यसअघि पनि भारतबाट कमाइ गरेर घर फर्कंदा सीमामा लुटिने र नेपाली सुरक्षाकर्मीलाई दुई/अढाई सय रुपैयाँ चेकिङका नाममा थमाउनुपर्ने अवस्था रहेको उनले बताए । केही दिनका लागि दिल्ली हिँडेका कैलालीको सुख्खड जडेपानीका महेन्द्र विष्टले सरकारले नाका खोलेको भने पनि सीमा पार गर्दा उस्तै अवस्था रहेको बताए । ‘नाका ओहोरदोहोर सजिलो भएको सुनेर काम विशेषले दिल्ली जान लागेको हुँ,’ उनले भने, ‘नागरिकता र आधारपत्र देखाउनुपर्नेदेखि घन्टौं लाममा बस्नुपर्ने झन्झट भने कायमै रहेछ ।’

भारत पस्नेमध्येकै चुरै गाउँपालिका खानीडाँडाका हरि जैसी भुसाल कोरोनाकालमा घर फर्केकालाई सरकारले स्वरोजगार कार्यक्रमअन्तर्गत कृषि फाराम भर्नमात्रै लगाएको बताउँछन् । ‘एउटा फाराम कृषिसम्बन्धी काम गर्नका लागि पठाएको थियो,’ उनले भने, ‘कुखुरासम्बन्धी प्रस्ताव पेस गरे । तर अनुदान पाएनौं । फेरि झिटीझोला समातेर इन्डिया नै जानुपरेको छ ।’ नेता र स्थानीय तहका जनप्रतिनिधिका आफन्तले मात्रै सरकारी अनुदान रकम पाएको उनको आरोप छ । ‘पाएपछि आफूमात्रै खाने नेताबाट देश विकास हुँदैन,’ उनले भने, ‘आन्दोलन, सडक जाम, कुटाकुट, मारामारको राजनीति हावी हुन्छ । कसरी विकास हुन्छ ?’ उनीसँगै भारतको पन्जाव जान लागेका सोही ठाउँका विकास जोशीले नेताहरूकै कारण रोजगारीका लागि भारत पस्नुपर्ने दिनको अन्त्य हुन्छ जस्तो नलागेको बताए ।

माथिल्लो निकायबाट नाका पूर्ण खोल्न र रेकर्ड लिने काम रोक्न कुनै परिपत्र नआएको सीमामा खटिएका सुरक्षाकर्मीले बताए । ‘दैनिक ४/५ सयको हाराहारीमा यो नाकाबाट भारत पस्ने हुन्छन्,’ सशस्त्र प्रहरीका सई जगन्ननाथ जोशीले भने, ‘आउनेको संख्या अढाई सय जति हुन्छ । यसअघि जस्तै जाने/आउनेको रेकर्ड राख्ने गरेका छौं ।’ उनका अनुसार नाका खुलेको खबरपछि सीमावर्ती बजारसम्म किनमेललगायत काममा आउजाउ गर्नेसँग विवाद भइरहेको बताए । ‘नाका खुलेपछि भारतको नजिकका सहरबाट नेपाल पस्न आउनेहरू सीमानाकाबाटै फर्केका छन्,’ उनले भने, ‘केहीबेरका लागि भारतको पलियालगायत सीमावर्ती बजार पुगेर फर्कन्छु भन्नेसँग विवाद बढ्छ ।’

उनले अहिलेसम्म उपचारका लागि आउने/जानेबाहेक कुनै पनि देशका नागरिकका लागि नाका खुला नभएको बताए । ‘गेटा आँखा अस्पतालमा दैनिक ५०/६० जना भारतीय नागरिक आउँछन्,’ उनले भने, ‘यताबाट पलियालगायत बजारमा उपचार गर्न जाने/आउनेलाई खुला गरेका छौं ।’ उनले अन्य कामका लागि भारतीय नागरिकलाई आउजाउ बन्द नै रहेको बताए । माघमा मात्रै भारत जाने नेपालीको संख्या १८ हजारभन्दा बढी पुगिसकेको छ । करिब ८ हजार जना नेपाल प्रवेश गरेका छन् ।

सीमा प्रहरीको तथ्यांकअनुसार भदौदेखि अहिलेसम्म भारत जानेको संख्या करिब दुई लाख पुगेको छ । गत भदौदेखि पुससम्म दैनिक दुई हजारभन्दा बढी नेपाली कामका लागि भारत पसेका थिए । आउनेको संख्या अहिले बढेको छ । माघमा भारत पस्ने नेपालीको संख्या दैनिक चार/पाँच सय जना हाराहारी रहेको सई जोशी बताउँछन् । सरकारले त्रिनगर नाकामा गत भदौबाटै आवागमन सहज बनाएको थियो । पछिल्लो पटक माघ दोस्रो साताबाट भारत र चीन सीमाका थप १६ नाका खोल्ने निर्णय गरेको थियो । कैलालीका प्रमुख जिल्ला अधिकारी यज्ञराज बोहराले नाकामा अघिल्लो निर्णयअनुसार नै आउजाउ भइरहेको बताए । ‘छुट्टै परिपत्र निर्देशन केही आएको छैन,’ उनले भने ।

प्रकाशित : माघ २५, २०७७ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?