नाका बन्द, तस्करी धमाधम

नाकाहरुबाट मालसामान तस्करी र ओसारपसार बढ्दै गएको छ, लागूऔषधसमेत भित्रिने गरेको छ ।
भवानी भट्ट

कञ्‍चनपुर — कञ्चनपुर प्रहरीले बिहीबार भारतबाट अवैध रूपमा भित्रिएको १ लाख ६५ हजार रुपैयाँ बढीको मालसामान बरामद गर्‍यो । लेडिज सुट र बिँडीलगायत सामान महेन्द्रनगरस्थित बसपार्कमा बेवारिसे अवस्थामा थियो ।

मंगलबार मात्रै ब्रह्मदेव क्षेत्रबाट अवैध रूपमा भित्रिएको चिनी र फास्टफुडका सामान पनि प्रहरीले बरामद गरेको थियो । ती सामानसँगै दुई जनालाई समेत पक्राउ गरेर भन्सार कार्यालयमा बुझाइएको छ ।

कोरोना संक्रमणका कारण गत चैतदेखि नाका बन्द छ । सर्वसाधारणलाई सीमावर्ती बजारतर्फ आउजाउमा रोक लगाइएको छ । उपचार र रोजगारीमा जानेहरूले समेत आधार कार्ड वा स्थानीय प्रशासनको सिफारिस लिनुपर्छ । तर नाकाहरूबाट हुने मालसामानको तस्करी र ओसारपसार भने झनै बढेको छ । सामानसँगै लागूऔषधसमेत भित्रिने गरेको छ । जिल्लाका ब्रह्मदेव, दोधारा चाँदनी, बेलडाँडी, बेलौरी र पुनर्वास क्षेत्रबाट भन्सार छलेर भारतीय वस्तु भित्रिइरहेका छन् ।

‘नाका बन्द नाम मात्रको हो, खुला रूपमा आउजाउ भइरहेकै छ,’ दोधारा चाँदनी नगरपालिका–३ का रमेश सुनारले भने, ‘भारतबाट खुलेआम सामान ल्याउन कुनै रोकटोक छैन ।’ उनका अनुसार दोधारा चाँदनीका विभिन्न नाकाबाट राति मालसामान भित्रिने गरेको छ । यहाँको कुतियाकवर, बडुवाल टोल र कञ्चभोजमा नेपाल र भारत दुवैतर्फका घरआँगनहरू जोडिएका छन् । उक्त क्षेत्रमा नाका बन्दको कुनै प्रभाव छैन । यहाँ तरकारीदेखि खाद्यान्न बिक्रीका लागि समेत भारतीय नागरिक आउने गरेका छन् ।

‘सुरक्षाकर्मीको आँखा छलेर पारी पुगेर मालसामान ल्याउने काम भइरहेको छ,’ जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी अमरबहादुर थापाले भने, ‘खुला सिमानाका कारण रोकथाममा निकै चुनौती छ ।’ उनका अनुसार जंगलको बाटो तथा नदी तरेर भारत गई सामान ल्याउने गरेको भेटिएको छ ।

दिनहुँजसो भारतबाट अवैध रूपमा ल्याइएका सामान बरामद भइरहेको थापाले दाबी गरे । थोरै जनशक्ति र खुला सिमानाका कारण सीमा क्षेत्रमा पूर्णरूपमा आवागमन रोक्न नसकेको सशस्त्र प्रहरीको झलारीस्थित ३५ नं. गणका एसपी वीरेन्द्र ऐरले बताए ।

प्रकाशित : माघ ९, २०७७ १३:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?