कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६४

सुदूरपश्‍चिममा एन्टिजेन परीक्षण

धनगढी — कोरोना संक्रमण दर पत्ता लगाउन सुदूरपश्चिम प्रदेश सरकारले चार जिल्लामा एन्टिजेन विधिबाट परीक्षण सुरु गरेको छ ।

सुदूरपश्‍चिममा एन्टिजेन परीक्षण

प्रदेशको सामाजिक विकास मन्त्रालयका स्वास्थ्य महाशाखा प्रमुख नरेन्द्र कार्कीले कैलाली, कञ्चनपुर, डोटी र अछामका हटस्पट मानिएका गाउँ र वडामा एन्टिजेन परीक्षण सुरु गरिएको बताए । ‘समुदाय स्तरमा कोरोना संक्रमणको अवस्था आकलन गर्न यसले सघाउ पुग्छ,’ उनले भने ।

स्थानीय तहका प्रयोगशाला प्राविधिकलाई तालिम र किट उपलब्ध गराएर परीक्षण थालिएको उनले बताए । यसअघि कोरोना संक्रमण दर उच्च देखिए पनि अहिले घटेको उनको दाबी छ । ‘विश्वभर संक्रमण दर घटेको प्रभाव हामीमा पनि परेको हुन सक्छ तर जोखिम घटेको छैन,’ उनले भने, ‘सतर्कता र सावधानी बढाउन जरुरी छ ।’

प्रदेश स्वास्थ्य निर्देशक डा. गुणराज अवस्थीले एन्टिजेन विधिबाट एक घण्टामै परीक्षण रिपोर्ट आउने र अभियान सञ्चालन गरिएका सबै क्षेत्रको संक्रमण दर थाहा पाउन १० दिन लाग्ने बताए । स्वास्थ्य कार्यालय प्रमुख ललित धामीले कैलालीका १३ वटै स्थानीय तहमा एन्टिजेन परीक्षण सुरु भइसकेको जानकारी दिए ।

प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार अहिले सुदूरपश्चिमका चारवटा प्रयोगशालामा दिनमा बढीमा २ सय जनासम्मको पीसीआर परीक्षण भइरहेको छ, जसमध्ये औसत १०/१५ जनामा संक्रमण देखिने गरेको छ ।

प्रदेशमा हालसम्म १३ हजार ८ सय ९६ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये मृत्यु हुनेको सख्या ५५ छ । मंगलबारसम्म १ हजार ५ सय १२ जना सक्रिय संक्रमित छन् ।

प्रकाशित : माघ ८, २०७७ १३:०२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?