बालिका बलात्कारको आरोपमा २ जना पक्राउ- सुदूरपश्चिम - कान्तिपुर समाचार

बालिका बलात्कारको आरोपमा २ जना पक्राउ

कान्तिपुर संवाददाता

बैतडी — बैतडीको सिगास गाउँपालिकाकी १६ वर्षीया सुस्त मनस्थितिकी किशोरी बलात्कारमा परेकी छिन् । अंकल र हजुरबुवा नाता पर्नेबाट किशोरी बलात्कारमा परेकी हुन् । 

बलात्कार गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । उनीहरुलाई पक्राउ गरी अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । दुवै जनालाई म्याद थप गरेर अनुसन्धान गरिरहेको इलाका प्रहरी कार्यालय पाटनका प्रहरी प्रमुख प्रहरी निरीक्षक धनदेव साउदले बताए ।

पीडित किशोरीका आफन्तको जाहेरीका आधारमा उनीहरुलाई पक्राउ गरिएको प्रहरी निरीक्षक साउदले बताए । ३ महिनाअघि बलात्कारमा परेकी बालिका गर्भवती भएको थाहा भएपछि मात्र घटना बाहिर आएको हो ।

किशोरीको महिनावारी रोकिएपछि घरपरिवारले सोधपुछ गर्दा घटनाबारे थाहा भएको थियो । त्यसपछि परिवारले स्थानीय प्रहरीचौकीमा खबर गरेका थिए । किशोरीको स्वास्थ्य चेक गर्दा १२ हप्ताको गर्भ रहेको खुलेको छ ।

प्रकाशित : माघ ६, २०७७ १०:२०
प्रतिक्रिया
पठाउनुहोस्

केयूको उपकुलपतिमा माकाजू, थापा र लुइँटेल सिफारिस

सुदीप कैनी

काठमाडौँ — काठमाडौं विश्वविद्यालय (केयू) को उपकुलपतिमा रामकण्ठ माकाजू, भोला थापा र बालचन्द्र लुइँटेलको नाम सिफारिस गरिएको छ ।

शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा गठित सिफारिस समितिले हालका उपकुलपति माकाजू, पूर्वरजिस्ट्रार थापा र प्राध्यापक लुइँटेलको नाम सिफारिस गरेको स्रोतले जनायो । यी नामबाट एक जनालाई कुलपतिसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले उपकुलपतिमा नियुक्त गर्नेछन् ।

माकाजूको दोस्रो कार्यकाल बुधबारबाट सकिँदै छ । मेडिकल स्कुलका प्राध्यापक उनी विभिन्न विवादमा मुछिँदै आएका छन् । उनीमाथि आर्थिक अनियमितताको समेत आरोप लागेको छ । पूर्वरजिस्ट्रार थापाले माकाजूको कार्यशैलीमा असन्तुष्टि जनाउँदै २०७५ मा पदबाट राजीनामा दिएका थिए । उनी स्कुल अफ इन्जिनियरिङका प्राध्यापक हुन् । उनी यसअघि पनि उपकुलपतिका लागि सिफारिसमा परेका थिए । केयू विश्वविद्यालय सभाका सदस्यसमेत रहेका लुइँटेल स्कुल अफ एजुकेसन (शिक्षा) का प्राध्यापक हुन् ।

स्रोतका अनुसार विभिन्न १० वटा मापदण्ड तय गरेर छनोट समितिले यी नाम सिफारिस गरेको हो । केयूको उपकुलपति बन्न ४४ आकांक्षीले सिफारिस समितिलाई आफ्नो व्यक्तिगत विवरण बुझाएका थिए । सिफारिस समितिले व्यक्तिगत विवरण बुझाउन सार्वजनिक सूचना जारी गरेको थियो । केयूमा उपकुलपति नियुक्ति गर्न सार्वजनिक सूचना जारी गरिएको यो पहिलोपटक थियो ।

समितिमा संस्थापक उपकुलपति सुरेशराज शर्मा र विश्वविद्यालय संरक्षण समितिका अध्यक्ष दमननाथ ढुंगाना सदस्य छन् । उनीहरूले तेस्रो कार्यकाल पनि माकाजूलाई नै उपकुलपति बनाउन जोड बल गर्दै आएको स्रोतको दाबी छ । शर्मा र ढुंगानालाई पटक/पटक सिफारिस समितिमा राखिएको भन्दै कतिपयले असन्तुष्टि जनाएका छन् । केयूका प्राध्यापक–कर्मचारीले भने एउटै व्यक्ति दुई कार्यकालभन्दा बढी एउटै पदमा बस्न नहुने माग गर्दै आएका छन् । चिकित्सा शिक्षा सुधारका अभियन्ता डा. गोविन्द केसीले समेत कार्यक्षमता र मापदण्डका आधारमा पारदर्शी तरिकाले उपकुलपति नियुक्त गर्न माग गरेका छन् ।

प्रकाशित : माघ ६, २०७७ १०:०८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×