१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

बालविवाह रोक्न पुरोहितहरूको प्रतिबद्धता

बझाङ — बाजुरामा बालविवाह गर्नेहरूको संख्या बर्सेनि बढ्न थालेपछि यसलाई रोक्न स्थानीय पुजारी र पुरोहितहरूलाई सक्रिय गराउन थालिएको छ । बालविवाहका नकारात्मक परिणामबारे पुरोहित र स्थानीय पुजारीहरूलाई सम्झाइबुझाइ गरेपछि उनीहरूले यो कुप्रथा रोक्ने प्रतिबद्धता व्यक्त गरेका हुन् ।

बालविवाह रोक्न पुरोहितहरूको प्रतिबद्धता

बालविवाह रोक्न धार्मिक अगुवाहरूलाई परिचालन गर्ने रणनीतिको सुरुवात जिल्लाको बूढीनन्दा नगरपालिकाले गरेको हो । विवाह गर्नुअघि धार्मिक अगुवाहरू (पण्डित, पुरोहित र पुजारी) को परामर्श लिने संस्कार भएकाले उनीहरूमार्फत सचेतना फैलाउन नगरपालिकाले यस्तो कदम चालेको हो ।

‘हामीले विभिन्न गोष्ठी, अन्तरक्रियालगायत कार्यक्रम गरेर बालविवाहले महिला र बालबालिकाको विकास, स्वास्थ्य तथा समग्र समाजमा कस्तो असर पार्छ भन्ने कुरा उहाँहरूलाई सम्झाएपछि बालविवाह रोक्न सक्रिय हुने प्रतिबद्धता गर्नुभएको हो,’ नगरपालिकाकी उपमेयर सृष्टि रेग्मीले भनिन् । उनले कोरोना महामारीपछि नगरपालिकामा बालविवाह गर्नेको संख्या बढ्न थालेकाले पनि यस्तो कदम चाल्नुपरेको बताइन् ।

नगरपालिका क्षेत्रमा रहेका प्रमुख धार्मिक अगुवाले केटा र केटीको नागरिकता वा जन्मदर्ताको प्रमाण हेरेर २० वर्ष पुगेको निश्चित भएपछि मात्रै विवाह गराउने, बालविवाह भएको वा हुन लागेको जानकारी पाए तुरुन्तै सम्बन्धित निकायमा खबर गर्ने र यो सम्झौता उल्लंघन गरे आफूहरू पनि कानुनी सजायको भागीदार हुने कुरा नगरपालिकासमक्ष लिखित प्रतिबद्धता गरेको उपमेयर रेग्मीले बताइन् । ‘उहाँहरूले लिखित प्रतिबद्धता नै गरेपछि बालविवाहका घटनामा कमी आउने विश्वास नगरपालिकाले गरेको छ । यस्तो चलन रोक्न अरू सिर्जनशील तरिकाबारे पनि हामी मन्थन गरिरहेका छौँ,’ उनले भनिन् ।

धार्मिक अगुवाले पनि आफूहरूले बालविवाहका असरबारे थाहा नपाएका कारण यसअघि स्वीकृति दिने गरेको स्विकार्दै अबका दिनमा रोक्नका लागि प्रयास गर्ने बताएका छन् । ‘विभिन्न कार्यक्रममा गएपछि हामीले बालविवाहका कारण मानिसले कसरी दु:ख पाएका रहेछन् भन्ने थाहा पायौं । बच्चाले बच्चा बोकेका (सानै उमेरका केटी आमा) देख्यौं । कतिले सुत्केरी हुन नसकेर ज्यान गुमाएको हाम्रै समाजमा देख्यौं,’ स्थानीय पुरोहित पुष्पराज उपाध्यायले भने, ‘सानैमा विवाह गर्दा पढ्न नपाएको, उनीहरूको स्वास्थ्य खराब भएको कुरा थाहा पाएपछि यो राम्रो रहेनछ, धर्मका नाममा हामीले कतै पाप त गरिरहेका छैनौँ भन्ने लागेर बालविवाह रोक्ने प्रतिबद्धता गरेका हौँ ।’

उपाध्यायले नगरपालिकाका १५ भन्दा बढी पुरोहितले बालविवाह रोक्ने प्रतिबद्धता गरेको जानकारी दिँदै आमागी दिनमा नगरपालिका क्षेत्रभित्र आफूले पनि बालविवाह नगराउने र कसैले गराएको थाहा भए कारबाही गराउन पहल गर्ने बताए । बालविवाह बढी हुनेमा सुदूरपश्चिममै अगाडि रहेको बूढीनन्दा नगरपालिकामा तीन वर्षमा ६१ जोडीले उमेर नपुग्दै विवाह गरेको नगरपालिकाको तथ्यांक छ ।

प्रकाशित : पुस २२, २०७७ १२:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?