१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

भारतीय बस व्यवसायीका ‘एजेन्ट’ बाट ठगिँदै नेपाली कामदार

मोहन बुढाऐर

धनगढी — अछाम, रेठीकोठका शेरबहादुर साउदसहित पाँच जनाले शनिबार भारतको बैङ्लोर जान गौरीफन्टामा बसको टिकट पाउन सकेनन् । उनीहरू सीमावारि डोकेबजार फर्किएर त्यहाँ रहेका भारतीय बसका नेपाली ‘एजेन्ट’बाट महँगोमा टिकट लिन बाध्य भए । 

भारतीय बस व्यवसायीका ‘एजेन्ट’ बाट ठगिँदै नेपाली कामदार

‘दुई घण्टा लामो लाइन बसेर नाका पार गर्‍यौं,’ साउदले भने, ‘पारि गौरीफन्टा रोडमा दर्जनौं गाडी भारतका विभिन्न सहरका लागि खडा थिए । सीधै बैङ्लोरका लागि पनि २ बस थिए तर सिट पाएनौं ।’ दलालसँग पाँच सय बढी तिरेर टिकट लिएको उनको भनाइ छ ।

कैलाली, जोशीपुरका विलास चौधरीसहित १५ जनाको समूह गौरीफन्टाबाट सिधै भारतको रत्नानगर जान चाहन्थ्यो । गौरीफन्टामा रत्नानगरका लागि चार बस पनि थिए । तर उनीहरूले तिनमा सोझै टिकट काट्न पाएनन् ।

‘एजेन्टबाट टिकट काटेर ल्याऊ भन्यो,’ रामविलासले भन्यो, ‘दुई घण्टा लाममा लागेर नाका क्रस गरेका थियौं । यता गन्तव्यका लागि बस नपाएर पुनः नेपाली सीमाको दसगजा आएर दलाललाई सर्म्पक गर्नु पर्‍यो ।’ दलालले सोमबारका लागि टिकट काटेकाले एक दिन धनगढीमै बस्नुपरेको उनले बताए ।

धनगढीका बसपार्क, भन्सार रोड र दसगजामा रहेको डोके बजारबाट सञ्चालित विभिन्न नेपाली ट्राभल्स एजेन्सीले नै नेपाली कामदारबाट बढी रकम असुल्ने मात्रै नभई यात्रुलाई बाटोमै अलपत्र पार्ने र ठगी गर्ने गरेका छन् । अघिल्लो सोमबार टिकट नपाएरै १ सय २६ यात्रु भारतको पलियामा अलपत्र पारिएका थिए । धनगढी बसपार्कस्थित बर्ददेवी टुर एन्ड ट्राभल्सको टिकटमा भारतीय बस व्यवसायीले लैजान नमानेपछि नेपाली कामदार बीच बाटोमा अलपत्र परेका थिए ।

एजेन्सीले भारतका मुम्बई, बैङ्लोर, रत्नानगरलगायत सहरमा काम गर्न जाने १ सय २६ जनाबाट भाडा असुलेर गौरीफन्टा नाकाबाट दुईवटा बसमा पलिया पठाएको थियो । पलियामा भारतीय बससेवाका कम्पनीले एजेन्सीको टिकटका अधारमा लैजान नमानेपछि उनीहरू पुनः सीमानाकामा फर्केका थिए ।

गन्तव्यमा पुग्न नपाएका नेपाली कामदारले अर्को दिन मंगलबार जिल्ला प्रहरी र जिल्ला प्रशासन कार्यालय कैलालीलाई संयुक्त रूपमा ठाडो उजुरी दिए । सोही उजुरीका अधारमा बर्दादेवी टुर एन्ड ट्राभल्सका अध्यक्ष रमेश विश्वकर्मा, खेम जोगी, अर्जुन जयगढीलगायतलाई पक्राउ गरेको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी प्रतीक बिष्टले १ सय २६ जना नेपाली कामदारबाट असुल गरेको ६ लाख ३६ हजार फिर्ता गराई चार जनालाई सार्वजनिक मुद्दामा कारबाही गरिएको बताए । एजेन्सीहरूले बसपार्क र विभिन्न जिल्लाबाट आउने बसहरूमा नेपाली कामदारलाई सम्पर्क गरेर भारत पठाउने गरेको खुलेको पनि उनले जानकारी दिए । ‘पछिल्लो समय त गाउ गाउँसम्म एजेन्सीहरूले आफ्नो सञ्जाल विस्तार गरिसकेका छन्,’ डीएसपी बिष्टले भने, ‘उनीहरूलाई नेपालमै टिकटको भाडा उठाएर पठाउने गरेका छन् ।’

बिष्टका अनुसार एजेन्सीहरूले यात्रु अरूको सम्पर्कमा नआऊन् भनेर होटलमा लुकाएर राख्ने, होटलमै टिकट काट्ने र अर्को दिन सिधै नाका कटाएर बसमा बसाउने गरेको समेत पाइएको छ । गौरीफन्टा नाकामा खटिने सशस्त्र प्रहरी निरीक्षक राजेन्द्रबहादुर कुँवरका अनुसार हरेक दिन २ हजारको संख्यामा यो नाकाबाट नेपालीहरू भारत गइरहेका छन् । उनका अनुसार भारतमा लकडाउन हटेपछि यहाँबाट हालसम्म १ लाख १२ हजार ९ सय ३६ जना नेपाली भारत पसेका छन् । मंसिर महिनामा मात्रै ३४ हजार ८ सय ८१ जना गएका छन् ।

प्रकाशित : मंसिर २३, २०७७ १३:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?