बेलैमा उपचार नपाउँदा अछाममा सुत्केरी महिलाको मृत्यु- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बेलैमा उपचार नपाउँदा अछाममा सुत्केरी महिलाको मृत्यु

मेनुका ढुंगाना

अछाम — अछामको तुर्माखाँद गाउँपालिकाकी एक सुत्केरी महिलाको सोमबार राति मृत्यु भएको छ । उनको उच्च रक्तस्रावका कारण मृत्यु भएको जिल्ला अस्पतालले जनाएको छ ।  

जिल्ला अस्पतालका डा. अतुल भारद्वाजका अनुसार तुर्माखाँद गाउँपालिका-४ नाडाकी ३८ वर्षीया नामसरा विक सोमबार दिउँसो व्यथा लागेको र रक्तस्राव भएको भन्दै तुर्माखाँद स्वास्थ्य चौकी पुगेकी थिइन् । अवस्था गम्भीर भएका कारण स्वास्थ्य चौकीमा उपचार हुन नसकेपछि उनलाई दिउँसो साढे ४ बजे जिल्ला अस्पताल रिफर गरिएको थियो । 'ती महिलालाई तुर्माखाँदबाट मंगलसेन पुर्‍याउनै ६ घण्टा लाग्यो । त्यतिन्जेल रगत अत्यधिक बगिसकेको थियो । साँझ करिब १० बजेतिर जिल्ला अस्पताल पुर्‍याइएको थियो,’ डा. भारद्वाजले भने, 'अस्पताल पुग्दा उनको अवस्था गम्भीर थियो । हामीले नर्मल डेलिभरी नै गरेका हौं । बच्चा पेटमै मरिसकेको थियो ।'

रात १२ बजे उनले बच्चा जन्माएको र त्यसको केही समयपछि उच्च रक्तस्रावका कारण मृत्यु भएको उनले बताए । 'सुत्केरी भइसकेपछि हामी ब्लड दिने तयारीमा थियौं । अनेक प्रयास गर्दा पनि महिलालाई बचाउन सकिएन,’ उनले भने, ‘शिशु जन्मेको केही समयपछि उनको मृत्यु भयो ।’ परिवारका अनुसार नामसराका यसअघि ३ छोरा र २ छोरी छन् । छैटौं शिशुलाई जन्म दिने क्रममा उनको मृत्यु भएको हो ।

प्रकाशित : मंसिर १६, २०७७ ०९:५१
प्रतिक्रिया
पठाउनुहोस्

वार्नरको चोटमा अस्ट्रेलिया

रोयटर्स

मेलबर्न — अस्ट्रेलियाली ब्याट्सम्यान डेविड वार्नर भारतविरुद्धको शृंखलामा सेतो बलको क्रिकेटका लागि चोटका कारण बाहिरिएका छन् ।

एडिलेड ओभलमा डिसेम्बर १७ मा हुने पहिलो टेस्टका लागि फर्कन उनी संघर्षरत रहने छन् । यो घरेलु टिमका लागि चिन्ताको विषय हुनेछ ।

क्रिकेट अस्ट्रेलियाले सोमबार जनाएअनुसार वार्नरले भारतविरुद्ध दोस्रो एकदिवसीय खेलका क्रममा चोट बोकेका थिए । अस्ट्रेलिया ५१ रनले विजयी उक्त खेलमा वार्नर फिल्डिङ गर्दा घाइते भएका थिए । उनलाई ‘ग्रोइन इन्ज्युरी’ भएको हो । चार टेस्ट शृंखलाका लागि अब उनलाई आराम नै दिइने छ ।

तीव्र गतिका बलर प्याट कमिन्सलाई पनि टेस्ट शृंखला ध्यानमा राखेर सेतो बलको क्रिकेटबाट आराम दिने निर्णय भएको छ । प्रशिक्षक जस्टिन ल्याङ्गरले भनेका छन्, ‘टेस्ट शृंखलामा कमिन्स र वार्नर हाम्रा लागि दुई सर्वाधिक महत्त्वपूर्ण खेलाडी हुन् । अब वार्नर चोटबाट मुक्त हुने प्रयासमा हुनेछन् । कमिन्स भने आराममा बस्ने छन् ।’

ट्वान्टी–२० क्रिकेटमा वार्नरको स्थानमा अर्का प्रारम्भिक ब्याट्सम्यान डे’आरे सर्टलाई मौका दिइनेछ । कमिन्सको स्थानमा भने कसैलाई राखिएको छैन । चोटमुक्त हुने प्रयासमा रहेका मार्कस स्टोइनिसलाई भने टिममै राखिएको छ । तीन खेलको एकदिवसीय शृंखलामा अस्ट्रेलियाले २–० को निर्णायक अग्रता लिइसकेको छ ।

प्रकाशित : मंसिर १६, २०७७ ०९:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×