सुदूरपश्‍चिम प्रदेशको पहिलो चौमासिकको खर्च न्यून- सुदूरपश्चिम - कान्तिपुर समाचार

सुदूरपश्‍चिम प्रदेशको पहिलो चौमासिकको खर्च न्यून

अर्जुन शाह

धनगढी — सुदूरपश्चिम प्रदेश सरकारले चालू आर्थिक वर्षको पहिलो चौमासिकमा ६ दशमलव २९ प्रतिशत खर्च गरेको छ ।

सरकारले कूल विनियोजित बजेटमा २ अर्ब ९ करोड ८६ लाख मात्र खर्च गर्न सकेको हो । चालू वर्षमा ३३ अर्ब ३८ करोड बजेट विनियोजन गरिएको छ ।

कात्तिक मसान्तसम्म पुँजीगततर्फ ९९ करोड २८ लाख र चालूतर्फ १ अर्ब १० करोड ४७ लाख खर्च भएको आर्थिक मामिला तथा योजना मन्त्री झपट बोहराले बताएका छन् ।

मन्त्री बोहराले यस अवधिको खर्च गत आर्थिक वर्षको यसै अवधिको भन्दा बढि भएको बताए । ‘कोभिडको जटिल परिस्थितीमा पनि हामीले उत्साहजनक खर्च गर्न सकेका छौं’ उनले भने, ‘चालू चौमासिकमा ४० प्रतिशत हाराहारीमा खर्च पुर्‍याउँछौं ।’

प्रकाशित : मंसिर १०, २०७७ १५:०१
प्रतिक्रिया
पठाउनुहोस्

छोराको आसमा ज्यानकै जोखिम

बैतडीको दुर्गम भेगका महिलाहरू अझै पनि छोराको आसमा लगातार बच्चा जन्माइरहन्छन् । यसले गर्दा आमा–बच्चा दुवैले पर्याप्त पोषण पाउँदैनन् । महिलाहरूमा विभिन्न स्वास्थ्य समस्या देखिएका छन् । मातृ मृत्युदर पनि बढेको छ ।
तृप्ति शाही

बैतडी — सिगास गाउँपालिका–५ ढुंगाडकी लालमती धामी ६ सन्तानकी आमा हुन् । ४५ वर्षीया उनका ४ छोरी र २ छोरा छन् । कान्छा छोरा सात वर्षका भए । लगातार चार छोरी जन्मेपछि छोराका लागि थप सन्तान जन्माउनुपरेको उनले बताइन् । ‘छोरा नभए त हाम्रातिर सन्तानै भन्दैनन् । अनि छोरा नहुन्जेल बर्सेनि जन्माउनै पर्‍यो,’ उनले भनिन् ।

दशरथचन्द नगरपालिका–९ की सपना (नाम परिवर्तन) का सात छोरी छन् । ‘सबैले छोरा नै चाहिन्छ भन्छन् । मलाई पनि त्यस्तै लाग्छ,’ उनले भनिन्, ‘अझै छोराको आस छँदै छ ।’ ३५ वर्षीया उनले एक–दुई वर्षको अन्तरालमा लगातारजसो बच्चा जन्माएकी हुन् ।

जिल्लामा छोराको आसमा यसरी बच्चा जन्माइरहनेहरू अरू पनि थुप्रै छन् । यहाँको समाजमा छोरीलाई अझै पनि सन्तानका रूपमा नस्विकार्ने प्रवृत्ति रहेकाले यस्तो अवस्था आएको दशरथचन्द नगरपालिका–४ की वडा सदस्य कल्पना राना क्षेत्रीले बताइन् । ‘शिक्षित वर्गले नै यस्तो गरेको उदाहरण जिल्लामा प्रशस्त पाइन्छ,’ उनले भनिन्, ‘अशिक्षित समुदाय र ग्रामीण भेगमा त अझै धेरै छ ।’

धेरै सन्तान जन्माएकै कारण महिलाहरूको स्वास्थ्यमा नराम्रो असर पर्ने गरेको छ । उनीहरू आफैं पनि यसबारे जानकार छन् । धेरै सन्तान जन्माएकैले तल्लो पेट दुख्ने, पाठेघर खस्लाजस्तो हुने समस्या भोग्नुपरेको सिगासकी लालमती बताउँछिन् । ‘धेरै बच्चा जन्माउँदाको पीडा त हामीबाहेक अरूलाई के थाहा होला र ? मर्नु न बाँच्नु हुन्छ तर पनि के गर्नु, जन्माउनै पर्‍यो,’ उनले भनिन् । दुई–दुई वर्षको फरकमा लगातार बच्चा जन्माएकैले आफ्नो स्वास्थ्य कमजोर भएको उनलाई लाग्छ ।

सात सन्तानकी आमा कल्पनालाई पनि उस्तै समस्या छन् । ‘मेरो शरीर पनि केही बाँकी रहेको छैन जस्तो लाग्छ । जताततै दुख्छ, सधैं बिरामी भइरहेकी हुन्छु । तल्लो पेट दुखिरहन्छ । तर के गर्नु महिलाको जिन्दगी यस्तै रहेछ ?,’ उनले भनिन् ।

चेतना नभएर भन्दा पनि त्यसलाई लागू नगर्ने प्रवृत्तिका कारण अझै पनि छोराको आसमा धेरै सन्तान जन्माउनेहरू रहेको स्वास्थ्य कार्यालय बैतडीको परिवार नियोजन कार्यक्रमका सम्पर्क–व्यक्ति हरीशप्रसाद भट्टले बताए । ‘हामीले जनचेतनामूलक कार्यक्रम थुप्रै गरेका छौं । धेरै सन्तान जन्माउन हुन्न भन्ने ज्ञान सबैलाई छ,’ उनले भने, ‘तर पनि परम्परागत सोचले गर्दा यसले निरन्तरता पाइरहेको देखिन्छ ।’

धेरै सन्तान जन्माएकै कारण महिलाहरूको प्रजनन स्वास्थ्यमा असर पर्ने गरेको दशरथचन्द नगरपालिका–१ गुरुखोला बर्थिङ सेन्टरकी अनमी द्रोपती बडूले बताइन् । सानै उमेरमा बिहे हुने, सानै उमेरमा लगातार बच्चा जन्माइरहने र जन्मान्तर पनि धेरै नहुने भएकाले महिलाहरूलाई स्वास्थ्य समस्या निम्तिने गरेको उनको भनाइ छ । ‘सुत्केरी अवस्थामा पोसिलो खानेकुरा नपाउँदा स्वास्थ्यमा थप समस्या भएर दिदीबहिनीहरू स्वास्थ्य संस्था धाइरहने गरेका छन,’ उनले भनिन् ।

जिल्ला अस्पताल बैतडीका प्रमुख डा. वसन्तराज जोशीले पनि छोराको आसमा धेरै सन्तान जन्माउने प्रचलनले महिलामा प्रजनन स्वास्थ्यसम्बन्धी समस्या धेरै देखिने गरेको बताए । विशेष गरी रक्तअल्पता हुने, पाठेघर खस्ने, बच्चा जन्माउँदा धेरै रगत बग्नेलगायत समस्या निम्तिने गरेको उनको भनाइ छ । ‘तीन–चारवटा बच्चा जन्माइसकेकी आमाले फेरि जन्माउँदा धेरै रगत बग्ने हुन्छ,’ जोशीले भने, ‘सुत्केरीलाई जोखिम पनि हुन्छ । मातृ मृत्युदर बढ्ने कारण यो पनि हो ।’ उनका अनुसार धेरै सन्तान हुँदा आमाले मात्र नभई बच्चाले पनि राम्रो स्याहार पाउँदैनन् । यसले गर्दा आमा र बच्चा दुवैको स्वास्थ्य जोखिममा पर्छ ।

बच्चा धेरै भएका महिलाहरू पाठेघर खस्नेलगायत समस्या लिएर स्वास्थ्यसंस्था आइरहने गरेको जिल्लाको विकट पञ्चेश्वर गाउँपालिकास्थित कुलाउ स्वास्थ्यचौकीका इन्चार्ज सुरेश सार्कीले बताए । उनका अनुसार महिनामा यस्तो समस्या बोकेका ५/६ जना महिला आउने गरेका छन् ।

प्रकाशित : मंसिर १०, २०७७ १४:३२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×