कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

चामल र ट्रक छोड्न सरकारी वकिलको पत्र

कलेन्द्र सेजुवाल

सुर्खेत — जिल्ला सरकारी वकिल कार्यालयले सरकारी चामल विचलन गर्ने व्यापारीलाई बरामद चामल र ट्रक बुझाउन प्रहरीलाई पत्र लेखेको छ ।

चामल र ट्रक छोड्न सरकारी वकिलको पत्र

आइतबार जिल्ला प्रशासन कार्यालयमा कालोबजार सम्बन्धी मुद्दा दर्ता गरेको वकिल कार्यालयको पत्रप्रति प्रहरी र जिल्ला प्रशासन कार्यालय अन्योलमा परेका छन् ।

मुगुको कालै पठाउनुपर्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनीको ढुवानी अनुदानको चामल भक्तपुर पठाउने क्रममा कात्तिक १३ गते ना ६ ख ५७२१ नम्बरको ट्रकसहित २ सय ५० क्विन्टल चामल नियन्त्रणमा लिइएको थियो । कम्पनीको ढुवानीकर्ता शर्मा ढुवानी सेवाका प्रोप्राइटर वासुदेव शर्माले उक्त चामल भक्तपुर पठाएका थिए ।

सरकारी वकिल कार्यालयले आइतबार ‘कालोबजार तथा केही अन्य सामाजिक अपराध तथा सजाय ऐन’ को दफा ४ बमोजिम हदैसम्मको कारबाही माग गर्दै मुद्दा दायर गरेको छ । निमित्त प्रमुख जिल्ला अधिकारी रोम महतले सोमबार ढुवानीकर्ता शर्माबाट ३ लाख ५९ हजार ५ सय रुपैयाँ धरौटी लिई मुद्दा विचाराधीन राख्‍न आदेश गरेका थिए । हाल बिदामा रहेका प्रमुख जिल्ला अधिकारीले उक्त आदेशमाथि समर्थन वा पुनर्विचार गर्न सक्नेछन् ।

तर मंगलबार जिल्ला न्यायाधिवक्ता राजेश्वर अर्यालले बरामद चामल र ट्रक सम्बन्धित व्यक्तिलाई फिर्ता दिलाइदिन प्रहरीलाई पत्र पठाएका छन् । कालोबजारसम्बन्धी ऐनको दफा १८ मा भने ‘ऐनअन्तर्गत जफत भएको मालवस्तुको बिक्री वितरण नेपाल सरकारबाट हुनेछ’ भनिएको छ । शर्माले सरकारबाट ढुवानी अनुदान लिई मुगु पुर्‍याउने सर्तमा उक्त चामल खाद्य व्यवस्था तथा व्यापार कम्पनीको सुर्खेत शाखाबाट खरिद गरेका थिए ।

‘एकातिर अपराध गरेको भन्दै मुद्दा चलाउने, अर्कोतिर बरामद मालबस्तु छोड्न प्रहरीलाई पत्र पठाउने काम त नहुनुपर्ने हो,’ अधिवक्ता नन्दबहादुर भण्डारीले भने, ‘यदि छोड्नै पर्ने हो भने मुद्दा हेर्ने अधिकारी (प्रमुख जिल्ला अधिकारी) ले त्यस्तो आदेश दिनुपर्छ ।’ मुद्दाको किनारा नलाग्दै प्रमाणको रुपमा बरामद मालबस्तु छोड्नु आश्चर्य भएको उनले बताए ।

सरकारी वकिल कार्यालयको पत्रपछि प्रहरीसमेत चकित परेको छ । मंगलबार साँझ चामल र ट्रक छोड्नको लागि पत्र आएपछि जिल्ला प्रहरी कार्यालयका एकजना प्रहरी अधिकृत सरकारी वकिल कार्यालयमा थप स्पष्ट हुनको लागि गएका थिए । यद्यपि जिल्ला न्यायाधिवक्ता अर्यालले ‘यसबारे व्याख्या गर्ने र कसैलाई स्पष्ट पार्नुपर्ने भए त्यसको जिम्मा आफूले लिने’ भन्दै फर्काएका थिए ।

उनले बरामद चामल सम्बन्धित स्थानमा पुर्‍याउने प्रतिबद्धतापत्रमा सही गराएर बुझाउन निर्देशन दिएका थिए । जिल्ला प्रहरी प्रमुख एसपी राजेन्द्र भट्टले सरकारी वकिल कार्यालयबाट पत्र ढिलो आएकोले ट्रक र चामल नछाडिएको बताए । बुधबार पत्र अध्ययन गरेर चामल र ट्रक छोडिउने उनको भनाइ छ ।

चामल ढुवानी अनियमितता प्रकरणको अनुसन्धानमा सुरुदेखि नै संलग्न र उक्त मुद्दा हेर्ने जिल्ला प्रशासन कार्यालय पनि आश्चर्यमा परेको छ । कार्यालयका एक अधिकृतले जिल्ला न्यायाधिवक्ता नै प्रतिवादीको पक्षमा उभिएजस्तो आभास मिलेपछि मुद्दा प्रक्रियामा जटिलता थपिएको बताए ।

प्रकाशित : मंसिर ९, २०७७ २०:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?