झुलाघाट नाका ५ दिनका लागि खोलिने- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

झुलाघाट नाका ५ दिनका लागि खोलिने

तृप्ति शाही

बैतडी — भारतसँग सीमा जोडिएको झुलाघाट नाका ५ दिनका लागि खोलिने भएको छ । मंसिर ८ गते देखि १२ गतेसम्म नाका खोलिने भएको हो ।

भारतीय पेन्सनधारी नेपाली नागरिकलाई पेन्सन बुझ्नका लागि सजिलो होस भनेर ५ दिनका लागि नाका खोल्ने तयारी भएको सहायक प्रमुख जिल्ला अधिकारी लोकेन्द्र सिंह नेगीले जानकारी दिए ।

नेपाल सरकारको निर्णय अनुसार जिल्ला प्रशासन कार्यालय बैतडी र डीएम कार्यालय पिथौरागढको समन्वयमा नाका खोल्ने उनले बताए ।

बैतडीमा १२ सय बढी पेन्सनधारी छन् । उनीहरुले गत चैतदेखि पेन्सन बुझ्न पाएका छैनन् । नाका खुलेपछि अत्यावश्यक काम परेकाहरुले समेत आवतजावत गर्न पाउने प्रशासन कार्यालयले जनाएको छ ।

प्रकाशित : मंसिर ६, २०७७ १४:५३
प्रतिक्रिया
पठाउनुहोस्

महिलाको आयस्रोत बेमौसमी आलुखेती 

लीला श्रेष्ठ

भक्तपुर — चाँगुनारायण नगरपालिका–८ कलमसीकी शोभा नेपालले करिब ४ रोपनी क्षेत्रफलमा बेमौसमी आलुखेती गरेकी छन् । १० वर्षअघिसम्म धान, कोदो खेती गर्दै आएकी शोभाको परिवारको मुख्य आम्दानीको स्रोत आलुखेती बन्दै आएको छ ।

‘धान, कोदोबाट खासै आम्दानी हुँदैन थियो, आलुखेती गर्न थालेपछि घर खर्च राम्रै चलेको छ,’ उनले भनिन् । मूलुक कोरोना भाइरस (कोभिड–१९) संक्रमणमा रोमल्ली रहेको बेला सुडालका कृषकहरु भने आलु खन्नमा व्यस्त देखिन्छन् ।

चाँगुनारायण सुडाल किसानले बेमौसमी आलु खेतीबाट मनग्ये आम्दानी गर्न थालेका छन् । ‘आलु बेच्न बजारसम्म पुग्नै पर्दैन, व्यापारी खेत/बारीमै आइपुग्छन्,’ स्थानीय कृषक संगीता नेपालले भनिन्,‘हामीले आलु खनेर बोरामा भरिदिन्छौं ।’ वैशाख जेठमा मकै र भटमास लगाएकै बारीमा गरिने बेमौसमी आलुखेतीबाट यहाँका किसानले मनग्गे आम्दानी गर्ने गरेका छन् ।

चाँगुनारायण नगरको सुडाल, बागेश्वरीका करिब ३ सय घरपरिवारले १५ वर्षयता झण्डै एक हजार रोपनीमा व्यावसायिक बेमौसमी आलु खेती गर्दै आएको वडाध्यक्ष परासर सापकोटा बताउँछन् । ‘विशेषगरी सुडालका महिलाहरुको मुख्य आयश्रोत आलुखेती बन्दै आएको छ,’ वडाध्यक्ष सापकोटाले भने, ‘पुरुषहरु अन्य पेसा/जागिरमा व्यस्त हुन्छन्, पछिल्लो समय कृषि पेसा महिलाले धानिरहेका छन् ।’ आलुखेतीबाटै घर खर्च धान्ने र छोराछोरी पढाउने गर्न थालेको उनी बताउँछन् ।

अहिले आलुको भाउ बढेकाले पनि किसानले बढी मुनाफा लिने गरेको छ । ‘बारीबाटै प्रतिकिलो ६० देखि ६५ रुपैयाँमा बिक्री हुन्छ,’ कृषक इन्दिरा नेपालले भनिन्,‘आलुबाट छोटो समयमै आम्दानी गर्न सकिन्छ ।’ एक रोपनी क्षेत्रफलमा ६० देखि ७० हजार रुपैयाँको आलु बेच्न सकिने कृषक बताउँछन् । पछिल्लो समय बेमौसमी आलुबाट मनग्ये आम्दानी हुन थालेपछि यो खेती गर्ने किसानको संख्यासमेत बढेको छ । मकै निकालेपछि आलुलाई केराउ लाउने तथा थप मलखाद दिएपछि आलु खन्ने बेला नभएसम्म कुनै झमेला नहुने भएकाले पनि किसान यसतर्फ आकर्षित भएको नेपालले बताइन् ।

सिँचाइको आवश्यकता नपर्ने आलु खेतीबाट पाँच गुणासम्म आम्दानी हुने उनको भनाइ छ । उनका अनुसार किसानलाई आफ्नो उत्पादन बजारसम्म लैजानुपर्ने झन्झट पनि छैन । व्यापारीहरू आलु खन्ने बेला भयो कि आफैं गाडी लिएर किसानका खेतबारी मै पुग्छन् ।

मकै र भटमासपछि आलु र हरियो तरकारी लगाउन सकिने आलुखेतीमा आकर्षित भएको स्थानीय कृषक राधिका तिमल्सिनाले बताइन् । किसानका अनुसार एक रोपनी जमिनमा ६ सय किलोसम्म आलु उत्पादन हुन्छ ।

व्यावसायिक बेमौसमी आलु खेतीले सुडालवासीको आर्थिकस्तरमा व्यापक सुधार ल्याएको छ । सुडालमा २०५३ सालमा गाउँ विकास कार्यक्रम लागू गरिएको थियो । सोही कार्यक्रमले सम्भाव्यता अध्ययन गरी बेमौसमी आलु खेतीका लागि स्थानीय किसानलाई तालिम तथा ऋण उपलब्ध गराएर कृषकलाई प्रोत्साहन गराएको वडाध्यक्ष सापकोटाले बताए । ‘किसानलाई तालिम र ऋण दिए पनि सुरुमा थोरै क्षेत्रफलमा बेमौसमी आलु खेती गरेका थिए’, उनले भने, ‘उत्पादन राम्रो भएर आम्दानीसमेत बढ्न थालेपछि किसान यसतर्फ आकर्षित भए ।’

प्रकाशित : मंसिर ६, २०७७ १४:४५
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×