कब्रिस्तान सिल गरिएपछि अन्त्येष्टि रोकियो- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

कब्रिस्तान सिल गरिएपछि अन्त्येष्टि रोकियो

मृतकका आफन्त भन्छन्- पीडामाथि पीडा थपियो
मोहन बुढाऐर

धनगढी — स्थानीयको विरोधका कारण वडा कार्यालयले कब्रितास्न सिल गरेपछि धनगढी उपमहानगरपालिका–१ का ५० वर्षीय मोहम्मद जमसेदको अन्तिम संस्कार हुन पाएको छैन ।  दुई दिनअघि मृत्यु भएका उनको शव घरमै रहेको  छ ।

मुस्लिम समुदायले आफनो धार्मिक परम्पराअनुसार अन्तिम संस्कार गर्न नपाएको भन्दै विरोध जनाएका छन् । शनिबार स्थानीय मुस्लिम समुदाय धनगढी पशुपति टोलमा रहेको मस्जिद अगाडि भेला भएका छन् । स्थानीय प्रशासनलाई दिउँसो १२ बजेभित्र कब्रिस्तानमा अन्तिम संस्कारका लागि बाटो खोल्न अनुरोध गरेका छन् ।

कात्तिक १३ गते एक जना कोरोना संक्रमितको शव नेपाली सेनाले शवको व्यवस्थापन गरेपछि स्थानीयले विरोध गरेका थिए । उक्त विरोधका कारण वडा कार्यालयले विवाद समाधान नहुन्जेलसम्मका लागि शुक्रबार वडा कार्यालयले कब्रिस्तान सिल गरेको भन्दै सूचना टाँसेको थियो ।

शुक्रबार बिहान दुवै मिर्गौला फेल भएर मोहम्मदको मृत्यु भएको थियो । समयमै मृतकको अन्तिम संस्कार गर्न नपाउँदा परिवारमा पीडामाथि पीडा थपिएको आफन्त बताउँछन् ।

‘पीडामाथि पीडा थपिएको छ,’ मृतकका छोरा सद्दामले भने, ‘पहिलेदेखि नै हाम्रा पुर्खाको अन्तिम संस्कार हुँदै आएको कब्रिस्तानमा मेरो बुवाको अन्तिम संस्कार हुन पाएको छैन, यसो किन गरिँदै छ ?’ घरमै शव राख्नु पर्दा आमा र परिवारजनमा चिन्ता थपिएको उनले बताए ।

प्रकाशित : कार्तिक १५, २०७७ १२:३४
प्रतिक्रिया
पठाउनुहोस्

गीता : कति प्राचीन ?

महाभारत भीष्मपर्वको एउटा अंश हो– गीता अर्थात् भागवतगीता । तर, अधिकांश विद्वान् गीतालाई स्वतन्त्र रचना मान्छन् । आजसम्म थाहा भएअनुसार, इसाको सातौं शताब्दीमा गीता महाभारतको अंश भइसकेको थियो । सातौं शताब्दीअघि नै गीता अस्तित्वमा थियो भन्ने अर्को एउटा प्रमाणचाहिँ ह्वेनसाङको यात्रा वर्णन हो ।
भोगीराज चाम्लिङ

हाम्रो गाउँ (बोहेम्मा) मा एक जना बाजे हुनुहुन्थ्यो ब्रिटिस लाहुरे । उहाँलाई कहाँबाट कसरी प्रभाव पर्‍यो, म भन्न सक्दिनँ तर घरमा गीता राखेर सातामा दुई या तीन दिन बिहान–बिहान पूजापाठ र वाचन गर्नुहुन्थ्यो ।

एक जना मामाले मेरो कलिलो दिमागमा पनि उत्सुकता जगाइदिएकाले लाहुरे बाजेसँग गीता छ भन्ने थाहा पाएपछि पढ्न मागेँ । पूजा गर्ने दिन ल्याइदिने सर्तमा मलाई दिनुभयो । त्यसबखत गीतालाई बुझ्ने क्षमता ममा थिएन तर केही कुराचाहिँ दिमागमा अवश्य छाप बसेको थियो— कर्म गर फलको आशा नगर ! जे भयो राम्रो भयो, जे हुँदै छ राम्रो हुँदै छ र जे हुनेछ राम्रो हुने ! आत्मा अविनाशी छ ! भक्ति गर भक्ति इत्यादि ।

मेरो बुझाइ थियो— आशा नगरे पनि कर्मको फल त पाइहालिन्छ, त्यसैले गीता ठीकै भन्दै छ । गीताले राम्रो हुनेछ भन्ने कुरासँगचाहिँ म आफ्नो दुःखको अन्त्य हुने आशा गर्थेँ । त्यसैले यो कुरा पनि ठीक छजस्तो लाग्थ्यो ! तर, कुरा यति सरल कहाँ रहेछ र ?

...

महाभारत भीष्मपर्वको एउटा अंश हो गीता अर्थात् भागवतगीता । तर, अधिकांश विद्वान् गीतालाई स्वतन्त्र रचना मान्छन् । आजसम्म थाहा भएअनुसार, इसाको सातौं शताब्दीमा गीता महाभारतको अंश भइसकेको थियो (एम. विन्टरनित्ज, ए हिस्ट्री अफ् इन्डियन लिटरेचर, भोल्युम १, सन् १९२७, पृष्ठ. ४३८) । सातौं शताब्दीभन्दा पहिला नै गीता अस्तित्वमा थियो भन्ने अर्को एउटा प्रमाणचाहिँ ह्वेनसाङको यात्रा वर्णन हो ।

ह्वेनसाङको यात्रा वर्णनमा यस्तो पढ्न पाइन्छ— प्राचीन समयमा भारतको ‘स्थानेश्वर देश’ मा दुई जना राजा थिए । एकआपसमा लड्दालड्दा थकित भएका उनीहरूले युद्ध अन्त्य गर्ने सल्लाह गरे तर जनता मानेनन् । त्यसपछि एक जना राजाले ज्यादै बुद्धिमान र चतुर ब्राह्मणलाई पुस्तक लेख्न सुटुक्कै पहाडतिर पठाए । पुस्तक तयार भएपछि राजाले मन्त्रीलाई भने, ‘म भगवान्को अंश हुँ । मैले सपनामा यस्तोयस्तो स्थानमा पवित्र ग्रन्थ देखेँ, खोजेर ल्याऊ ।’ त्यो पुस्तक फेला पर्‍यो । जनतामा खुसियाली छायो । अनि राजाले जनताका नाममा सम्बोधन गरे, ‘जसले शत्रु सेनामाथि आक्रमण गरेर वीरगति प्राप्त गर्छ, उसले पुनः मान्छेको जुनी प्राप्त गर्नेछ । जसले ठूलो संख्यामा शत्रु सेना मार्छ, उसले स्वर्गको सुखभोग गर्नेछ’ (बुद्धिस्ट रेकर्ड अफ् द वेस्टर्न वर्ल्ड, भोल्युम १, सन् १८८४, पृष्ठ. ४८४–४८५) । गीतामा कृष्णले अर्जुनलाई प्रेरित गर्दै ‘या त मरेर स्वर्ग प्राप्त गर्छौ, या त युद्ध जितेर पृथ्वीमा भोग गर्छौ’ भनेकोसँग रत्तीभर फरक छैन राजाको यो सम्बोधनको सार । त्यसैले कौसाम्बीले राजाको आदेशमा तयार भएको त्यो ग्रन्थ गीता हो भनेका हुन् (मिथक और यथार्थ, सन् १९७६, पृष्ठ. २०) ।

विन्टरनित्जको विचारमा प्रारम्भमा गीता वीरगाथामा आधारित काव्य थिएन । युद्धको मैदानमा कृष्ण र अर्जुनबीच भएको ६५० श्लोकको जुन दार्शनिक संवाद छ, त्यो मूल कविले लेखेको होइन । सम्भवतः मूल गीतामा अर्जुन र रथ हाँक्ने कृष्णका बीचमा छोटो संवाद थियो होला तर ‘भगवान्’ कृष्णसँग अर्जुनको संवादका रूपमा थिएन (पृष्ठ. ४३७) ।

रिचार्ड गार्बेको विचारमा पनि मूल गीता धेरै छोटो थियो, पछि थपेर अहिलेको आकारमा आएको हो । त्यही क्रममा गीता १८ अध्यायको भयो (विन्टरनित्ज, पृष्ठ. ४३६) । महाभारतमा १८ पर्व हुनु, मुख्य पुराण १८ हुनु र गीता पनि १८ अध्यायकै हुनु संयोग मात्रै हो त ? पक्कै पनि होइन, किनभने ब्राह्मणहरूको मुख्य गोत्र १८ रहेकोले उनीहरूको दृष्टिमा १८ पवित्र अङ्क हो । त्यही भएर महाभारत युद्धसमेत १८ अक्षौहिणी सेनाबीच १८ दिन चलेको देखाइएको हो (कौसाम्बी, पृष्ठ. २०) । तर, यसभन्दा फरक कौसाम्बीचाहिँ गीतालाई संक्षिप्त प्राचीन धर्मोपदेशको विस्तार होइन, पूर्ण रूपमा नयाँ रचना हो भन्ने मान्यता राख्छन् (पृष्ठ. २१) ।

जहाँसम्म गीताको रचनाकालको कुरा छ, एकथरीका विचारमा गीता इसापूर्वको हो, अर्कोथरीको विचारमा इसापछिको । त्यसमध्ये कौसाम्बी मात्रै हुन्, जसले गीतालाई इसापछिको मान्छन् ।

श्लोकहरूको तुलनात्मक अध्ययन गर्दै बाल गंगाधर तिलकले गीताको रचना उपनिषद् र ब्रह्मसूत्रभन्दा पछाडि भएको बताएका छन् (श्रीमद्भागवतगीता रहस्य, सन् १९८८, पृष्ठ. ५३५) । सामान्यतया उपनिषद्काल भनेर इसापूर्व ८००–५०० लाई मानिने (आर्थर ए. म्याक्डोनेल, ए हिस्ट्री अफ् संस्कृत लिटरेचर, सन् १८९९, पृष्ठ. २०२) भएकाले गीताको रचना बढीमा इसापूर्व ५०० हाराहारीमा रचना भएको हो ।

गीतालाई इसापूर्व पाँचौं शताब्दीको रचना मान्ने एक मात्र विद्वान् हुन् राधाकृष्णन । उनका अनुसार, गीताबाट ‘भगवान्’ वासुदेवलाई प्रार्थना गरिएको श्लोक जस्ताको तस्तै सारेर बोधायनको कृति ‘गृहसूत्र’मा समावेश गरिएको छ । बोधायनको समय भनेको त्यस्तै इसापूर्व चौथो या पाँचौं शताब्दी हो । त्यसकारण गीताको समय इसापूर्व पाँचौं शताब्दी मान्दा गल्ती हुँदैन (इन्डियन फिलसफी, भोल्युम १, सन् १९२९, पृष्ठ. ५२३) ।

आर.जी. भण्डारकर पनि लगभग राधाकृष्णनकै हाराहारीमा गीतालाई कम्तीमा इसापूर्व चौथो शताब्दी पुरानो मान्छन् (राधाकृष्णन, पृष्ठ. ५२३) । काशीनाथ त्रिम्बाक तेलाङ पनि गीताले दिन खोजेको शिक्षा (विषय), शैली, छन्द (श्लोक) र आन्तरिक सन्दर्भहरूले गीताको रचनाकाल इसापूर्व ३०० भन्दा पहिले भएको विचार राख्छन् (म्याक्स मुलर, द स्याक्रेड बुक्स् अफ् इस्ट, भोल्युम ८, सन् १८८२, पृष्ठ. ३४) ।

राधाकृष्ण, भण्डारकर र त्रिम्बाकजस्तै रिचार्ड गार्बे र एसजी सरदेशाइको मत लगभग मिल्दोजुल्दो छ । गार्बेको विचारमा गीताको मूल स्वरूप इसापूर्व दोस्रो शताब्दीमा तयार भएको हो, वर्तमान स्वरूप चाहिँ सन् २०० तिर (राधाकृष्णन, पृष्ठ. ५२३) । सरदेशाइ पनि गीताको जन्म इसापूर्व २०० तिर तयार भए पनि इस्वी सम्वत्को सुरुदेखि २५० का बीचमा ‘कम्पाइल’ गरिएको मान्यता राख्छन् (मार्क्सिजम् एन्ड द भागवत् गीता, पृष्ठ. ६) ।

यी सबै विद्वान्हरूभन्दा फरक कौसाम्बीचाहिँ गीतालाई त्यति पनि पुरानो मान्दैनन् । उनका अनुसार, गीतामा जुन ‘कर्म–फल’ को सिद्धान्त छ, त्यो बौद्धमतको प्रभाव हो । त्यस्तै सांख्य, मीमांसादेखि पूर्ववेदान्त विचारधारासम्मको प्रभाव भएकाले गीताको रचनाकाल सन् १५० देखि ३५० का बीचमा भएको हो । त्यस्तै गीतामा जुन उत्कृष्ट शास्त्रीय संस्कृत भाषाको प्रयोग भएको छ, त्यो गुप्तकाल (सन् ३३५–४५५) भन्दा धेरै पहिलेको होइन (कौसाम्बी, पृष्ठ. १९) । यसरी इसापूर्व ५०० देखि सन् ३५० बीचको फराकिलो समयसीमाका बीचमा गीता रचना भएको विद्वान्हरूको अलगअलग मत रहेको छ ।

...

गीता खास वर्गको पक्षमा लेखिएको ‘भव्य’ रचना हो । गीता रचनाको खास पृष्ठभूमि पनि छ । इसापूर्व ७०० देखि इसापूर्व ५०० का बीचमा भारतको गंगा नदीको उपत्यकास्थित मगध (उत्तरी बिहार) राज्यमा फलामको आविष्कार भएपछि वनजंगल फँडानी भयो र कृषियोग्य जमिनको क्षेत्रफल बढ्यो । सडकहरू बने, ठूल्ठूला जहाजहरू बने, व्यापार र यातायात विस्तार मात्रै भएन, फड्को नै मार्‍यो । पैसामा आधारित अर्थतन्त्र फस्टायो । सहरको विकास भयो । जनसंख्या तीव्र गतिमा वृद्धि भयो । राजनीतिक परिवर्तनका कारण सोहीअनुसार प्रशासन आवश्यक भयो । उपनिषद्कालका जनजातीय राजतन्त्र र गणतन्त्रहरूको सट्टामा क्षेत्रीय राजतन्त्रहरू उदाए । नयाँ अर्थतन्त्रले बलियो केन्द्रीकृत राज्यको माग गर्यो । सैन्य क्षेत्रमा समेत व्यापक परिवर्तन आयो (सरदेशाइ, पृष्ठ. १०) ।

यही अवधिमा एकातिर शूद्र र वैश्य, अर्कोतिर ब्राह्मण र क्षत्रियका रूपमा तीव्र वर्गसंघर्ष चल्यो । शूद्रहरूको अवस्था भयानक थियो । उनीहरूलाई मान्छेमा गणना गरिँदैनथ्यो । मालिकले पिट्नु र मार्नु सामान्य थियो (सरदेशाइ, पृष्ठ. ७) । यसप्रकारको पृष्ठभूमिमा गीताको रचना भएकाले वर्गसंघर्षलाई मत्थर पार्न अनि क्षत्रिय राजतन्त्रका पक्षमा जनमत निर्माण गर्न गीतामा युद्ध, वर्णव्यवस्था, भक्ति र कर्म–फल सिद्धान्त इत्यादिमा व्यापक जोड दिइएको हो ।

तर महात्मा गान्धी, तिलक, रामानुज (१३औं शताब्दी), शंकर (८औं शताब्दी) जस्ता भारतका विशिष्ट विचारकका लागि जरुरी देखिएको गीता सर्वसाधारणका लागि चाहिँ जरुरी महसुस भएको देखिँदैन । सन्त कवीरलाई भागवतगीताको जरुरी भएन जबकि सर्वसाधारणका बीचमा सरल तर गहन उपदेश दिने उनका अनुयायी हिन्दु र मुसलमान दुवै थिए । तुकाराम, जयदेव अथवा चैतन्यजस्ता भारतका लोकप्रिय व्यक्तित्वहरूका काम र रचना गीतामा आधारित थिएन जबकि उनीहरू किसान र सर्वसाधारणका बीचमा लोकप्रिय थिए (कौसाम्बी, पृष्ठ. १६–१७) । किन विशिष्ट व्यक्तिले रुचाएको गीता जनसाधारणका पक्षपाती चिन्तकले जरुरी महसुस गरेनन् ? त्यसको कारण हो गीताको वर्गीय पक्षधरता ।

आफ्नो वर्गीय पक्षधरता खुलस्त हुने गरी गीतामा भनिएको छ— ब्राह्मण, क्षत्रिय, वैश्य र शूद्रजस्ता चार वर्णीय भेदभाव ईश्वरले नै सृष्टि गरेको हो । अर्थात् गीता अमानवीय वर्णव्यवस्था कायम राख्न चाहन्छ । त्यसैले कौसाम्बी निर्धक्क भन्छन्— गीता भनेको उच्च वर्गका लागि ब्राह्मणद्वारा गरिएको रचना हो (कौसाम्बी, पृष्ठ. १८) । यही कारण विशिष्ट महापुरुषहरूका लागि गीता चाहियो तर अरूलाई आवश्यक भएन ।

गीताको प्रारम्भमा गणआधारित सामूहिक सम्बन्ध र सिद्धान्तमाथि भीषण प्रहार गरेर निजी सम्पत्ति र वर्गसम्बन्धलाई उच्च स्थान दिइएको छ । गीताले यही नयाँ व्यवस्थालाई सैद्धान्तीकरण गरेर गणआधारित व्यवस्थाका पक्षधरहरूबाट हुन सक्ने आलोचनालाई चुप गराउने प्रयास गरेको छ । गीताले खासमा गणआधारित सामूहिक लोकतन्त्र अन्त्य भयो, अब वर्गवैरभाव र शोषणको युग आयो ! गणआधारित नैतिकता र आचार–व्यवहारको अन्त्य भयो र वर्गसमाजको नैतिकता र आचार–व्यवहारको युग आयो भनेर घोषणा गरेको छ (श्रीपाद अमृत डाँगे, भारत : आदिम साम्यावाद से दास प्रथा तक का इतिहास, सन् २००८, पृष्ठ. १७५) ।

त्यस्तै एक सबैका लागि, सबै हरेकका लागि भन्ने जनजातीय जीवन र समाजको आदर्श हो (सरदेशाइ, पृष्ठ. २२) । तर, भारतमा गुप्त शासनकालमा समुद्र गुप्त (सन् ३३५–३८०) ले विशाल संख्यामा पन्जाब र राजपुतनाका जनजातीय अधिराज्यहरू मासेर क्षेत्रीय अधिराज्य खडा गरेका थिए । गीतामा श्रीकृष्णलाई यही नयाँ क्षेत्रीय अधिराज्यका पक्षपातीका रूपमा प्रस्तुत गरिएको छ (सरदेशाइ, पृष्ठ. २३) ।

डाँगे के पनि भन्छन् भने शोषणमा आधारित नयाँ व्यवस्थाको रक्षाका लागि प्रभुत्वशाली वर्ण अर्थात् ब्राह्मण र क्षत्रियहरू जे पनि गर्न तयार भए । उनीहरू धन, पशु, गाउँ, भूमि, दास र राज्य आफ्नो कब्जामा राखिराख्न जे पनि गर्न तयार भए । जस्तोसुकै युद्ध पनि गर्न तयार भए । आफ्नै वंश, गुरु अथवा जोकोहीका विरुद्ध युद्ध गर्न तयार भए । गीतामा कृष्णले अर्जुनलाई दिएको उपदेशको गुदी नै यही हो (पृष्ठ. १७८) ।

शूद्र र वैश्यले चुपचाप रगत–पसिना बगाउन छाडेर श्रम (कर्म) को फल खोजी गर्न थाले भने; जे हुँदै छ, राम्रो हुँदै छैन भने भने खैरियत रहँदैन भनेर पो कर्म गर फलको आशा नगर भनिएको रहेछ; जे हुँदै छ राम्रै हुँदै छ भनिएको रहेछ । त्यही भएर पो भक्ति गर भक्ति भनिएको रहेछ । त्यही भएर पो वर्ण (जात) व्यवस्था ईश्वरको सृष्टि भनिएको रहेछ ।

प्रकाशित : कार्तिक १५, २०७७ ११:५४
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×