१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

डोटीमा प्रादेशिक इन्जिनियरिङ कलेज स्थापना हुने

रासस

डोटी — जिल्लामा प्रादेशिक इन्जिनियरिङ कलेज स्थापना हुने भएको छ । कलेज स्थापनाका लागि विश्व विद्यालय अनुदान आयोग (यूजीसी) पूर्व प्रमुख त्रिरत्न बज्राचार्यको नेतृत्वमा पाँच सदस्यीय समितिसमेत गठन गरिएको छ ।

डोटीमा प्रादेशिक इन्जिनियरिङ कलेज स्थापना हुने

समितिले प्रारम्भिक अध्ययन, सम्भाव्यता अध्ययन भएपछि अन्तिम तयारीस्वरूप पूर्वाधार अध्ययन तथा स्थान छनोट गर्नेछ ।

बज्राचार्य नेतृत्वको टोलीले सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री त्रिलोचन भट्ट, दिपायल सिलगढी नगरपालिकाका नगर प्रमुख मन्जु मलासीलगायत सरोकारवालासँग भर्चुअल मिटिङसमेत गरिसकेको छ ।

तत्कालीन शिक्षामन्त्री धनीराम पौड्यालले डोटी, बर्दिवास, चितवन र दाङमा इन्जिनीयरिङ कलेज स्थापनाका लागि सम्भाव्यता अध्ययन गर्न विश्व विद्यालय अनुदान आयोगलाई बजेट विनियोजन गराएका थिए । सोहीअनुरूप अहिले डोटीमा पनि प्रादेशिक इन्जिनियरिङ कलेज स्थापना गरिन लागेको डोटी क्याम्पसका सहप्राध्यापक हर्कबहादुर कलेलले जानकारी दिए ।

कलेज स्थापनाका लागि प्रारम्भिक अध्ययन टोलीका संयोजक हरि रोक्का नेतृत्वको टोलीले डोटी क्याम्पस र सेती प्राविधिक शिक्षालय दिपायलमा इन्जिनियरिङ कलेज स्थापना गर्न सकिने सुझाव दिएको छ ।

दोस्रो चरणको सम्भाव्यता अध्ययन गर्नका लागि यूजीसीका सदस्य विकास अधिकारीको नेतृत्वको टोलीले डोटी क्याम्पस र सेती प्राविधिक शिक्षालयमा भएका पूर्वाधार प्रयोग गर्न सकिए पनि उक्त शैक्षिक संस्थामा इन्जिनियरिङ कलेज सञ्चालनका लागि नीतिगत समस्या रहेका कारण नसकिने सुझाव दिएको छ ।

कसरी सञ्चालन गर्ने सम्बन्धमा फरक मत भए पनि डोटीमा इन्जिनियरिङ कलेज स्थापनाको राम्रो सम्भावनाका साथै उपयुक्त स्थान रहेको भनेर दुवै समितिले सरकारलाई सुझाव दिएको दिपायल सिलगढी नगर प्रमुख मलासीले जानकारी दिए ।

कलेज निर्माणका लागि एसियाली विकास बैंक, विश्व बैंक र अष्ट्रेलियन एडको सहयोग रहेको बताइएको छ ।

प्रकाशित : कार्तिक ११, २०७७ ०९:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?