भारतीय पेन्सनरहरुका लागि तीन दिन सीमा पुल खुला- सुदूरपश्चिम - कान्तिपुर समाचार

भारतीय पेन्सनरहरुका लागि तीन दिन सीमा पुल खुला

मनोज बडू

दार्चुला — नेपालमा रहेका भारतीय पेन्सनरहरुका लागि नेपाल–भारत जोड्ने सीमा पुल बुधबारबाट तीन दिनसम्म खुला रहने भएका छन् ।

भारतीय पेन्सन बुझ्ने नेपाली नागरिकहरुका लागि सीमा खोलिएको प्रशासनले जनाएको छ । सीमा बिहान ९ देखि दिउँसो ३ बजेसम्म पेन्सन बुझ्नेका लागि मात्र खुला रहने छ ।

भारतीय पेन्सन बुझ्न जिल्लाको सदरमुकाम खलंगा र मालिकार्जुन गाउँपालिकाको जौलविवी नाकाको सीमा तीन दिनसम्म खुला गरिन लागेको हो । दसैं तिहारको खर्च जोहो गर्न भएको समस्यालाई मध्यनजर गर्दै भारतमा पेन्सन बुझ्ने नेपाली नागरिकलाई मात्र सीमा पुलमा आवतजावत गर्न दिइने जिल्ला प्रशासनले जनाएको छ ।

कोरोना भाइरसको जोखिमलाई मध्यनजर गर्दै गत चैत ११ गतेबाट बन्द भएपछि भारतमा पेन्सन बुझ्ने नेपाली समस्या परेका छन् । सीमा पुल नेपाली नागरिकहरुलाई भारतबाट पेन्सन बुझ्न र भारतमा बैंक खाता रहेकाहरुलाई कारोबार गर्नका लागि दोस्रो पटक खुलेका हुन् । यसअघि गत असार २४ गतेदेखि तीन दिनसम्म खोलिएको थियो ।

पेन्सनरहरुले आफ्नो पेन्सनपट्टासहित परिचय खुल्ने परिचयपत्र बोकेर स्वास्थ्य सम्बन्धी मापदण्ड पुर्ण रुपमा पालना गरेर पेन्सन बुझ्नुपर्ने छ । पुल खुलेको समयमा पेन्सनरहरु मात्रै पुलमा आवतजावत गर्न पाउने प्रशासनले जनाएको छ ।

प्रकाशित : कार्तिक ५, २०७७ १४:०४
प्रतिक्रिया
पठाउनुहोस्

अफगानिस्तानमा पाकिस्तानी भिसा लिने लाइनमा भागदौड, कम्तीमा १५ को मृत्यु

रोयटर्स

जलालाबाद — भिसाका लागि आवेदन दिन जम्मा भएको भीडमा भागदौड मच्चिँदा अफगानिस्तानमा कम्तीमा १५ जनाको मृत्यु भएको छ ।  मंगलबार जलालाबाद सहरमा  रहेको पाकिस्तानी कन्सुलेट कार्यलय अगाडि जम्मा भएको भीडमा एक्कासि भागदौड मच्चिँदा कम्तीमा १५ जनाको मृत्यु भएको हो ।

भिसा आवेदनका लागि पाकिस्तानी कन्सुलेट कार्यालय अगाडि झन्डै ३ हजार जना भेला भएका थिए । भिसा आवेदनका लागि टोकन लिने क्रममा एक्कासि भागदौड मच्चिएको हो ।

प्रान्तीय काउन्सिलका सदस्य सोहराब कादरीका अनुसार भीडले कुल्चिएर मृत्यु हुनेमध्ये ११ जना महिला रहेका छन् । मृतकमध्ये केही ज्येष्ठ नागरिक रहेको पनि उनले जानकारी दिएका छन् । टोकन लिनका लागि तँछाडमछाड गर्दा एक्कासि भागदौड मच्चिएको पनि अफगान अधिकारीहरुले बताएका छन् ।

औषधोपचार, शिक्षा र रोजगारीका लागि अफगानिस्तानबाट बर्सेनि हजारौंको संख्यामा पाकिस्तान जाने गर्छन् । पाकिस्तान र अफगानिस्ताबीच करिब २ हजार ६ सय किलोमिटर सीमा जोडिएको छ ।

धार्मिक उत्पीडन, द्वन्द्व र चरम आर्थिक संकटका कारण मुलुक छोडेका करिब ३० लाख अफगानीलाई पाकिस्तानले शरण दिएको छ । म‌ंगलबारको घटनाका बारेमा काबुलस्थित पाकिस्तानी राजदूतावासले भने कुनै प्रतिक्रिया दिएको छैन ।

प्रकाशित : कार्तिक ५, २०७७ १३:५९
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×