कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

केन्द्र विवादले सुर्नयामा झडप, गाउँपालिकाका अध्यक्षसहित १२ जना घाइते

तृप्ति शाही

बैतडी — बैतडीको सुर्नया गाउँपालिकामा केन्द्र विवादले बुधबार साँझ झडप भएको छ । झडपमा परी गाउँपालिका अध्यक्ष वीरबहादुर विष्टसहित १२ जना घाइते भएका छन् । रौलेश्वरमा रहेको अस्थायी केन्द्र अन्यत्र सार्न नदिने भन्दै स्थानीयले गाउँपालिका कार्यालयमा ताला लगाएका थिए । त्यही ताला खुलाउन जान लागेका बेला गाउँपालिका अध्यक्ष विष्टमाथि आक्रमण भएको हो ।

स्थानीयले हानेको ढुंगा लाग्दा उनको टाउकोमा चोट लागेको जिल्ला प्रहरी कार्यालय बैतडीका प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए । यस्तै अन्य ७ जना स्थानीयलाई पनि चोट लागेको उपाध्यक्ष विष्टले बताइन् । झडपमा ४ जना प्रहरी पनि घाइते भएका छन् ।

अध्यक्षलाई उपचारको लागि धनगढी लगिएको छ । प्रहरी र स्थानीयको स्थानीय स्वास्थ्यसंस्थामा उपचार भइरहेको छ ।

अहिले प्रहरी निरीक्षक धनदेव साउद नेतृत्वको प्रहरी टोली घटनास्थलमा खटिएको छ । अहिले अवस्था सामान्य रहेको प्रहरीले बताएको छ ।

पालिकाको वडा नम्बर ५ रौलेश्वरमा रहेको अस्थायी केन्द्रलाई गाउँपालिकाले सोही वडाकै पविता भन्ने स्थानमा सार्ने तयारी गरेको थियो ।

२०७६ पुस ९ गतेको कार्यपालिका बैठकले समेत केन्द्र पवितामै सार्ने निर्णय गरिसकेको थियो । रौलेश्वरका स्थानीयहरु भने रौलेश्वरबाट केन्द्र पविता सार्न नदिने पक्षमा थिए । पालिकाले केन्द्र सार्ने तयारी गरेपछि उनीहरु पालिकाविरुद्धमा आन्दोलनमा उत्रिएका हुन् ।

यही विवादले केही दिन अघिदेखि पालिकाका कार्यालयमा स्थानीयले तालाबन्दीसमेत गरेका गाउँपालिकाकी उपाध्यक्ष लिला विष्टले जानकारी दिइन् । उनका अनुसार ताला खोल्ने विषयमा २ पटकसम्म स्थानीय र पालिकाको वार्ता भएको थियो तर उनीहरुबीच सहमति हुन सकेन । अध्यक्षको रोहबरमा ताला खोल्ने पालिकाले निर्णय गरेपछि अध्यक्ष ताला फुटाउने तयारीमा थिए । यतिबेलै पालिकासँग असन्तुष्ट स्थानीयले आक्रमण गरेका हुन् ।

२ वर्ष अघिदेखि नै पालिकामा केन्द्रको विवाद रहेको थियो । अहिले पालिकाले केन्द्र सार्ने भनेर यसै साताको बैठकबाट १५ लाख बजेट समेत छुट्याएकोले अस्थायी केन्द्रका स्थानीय आन्दोलित भएका हुन् । उनीहरुले सर्वोच्च अदालतमामा मुद्दासमेत हालेका छन् । अस्थायी केन्द्र र अहिले सार्ने भनिएको केन्द्रको पैदल दूरी १५ मिनेटको मात्र रहेको छ ।

प्रकाशित : आश्विन २९, २०७७ ०९:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?