कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बझाङमा १२ वर्षपछि नियमित उडान

समिट एयरले शुक्रबार र मंगलबार नियमित उडान गर्ने तालिका
वसन्तप्रताप सिंह

बझाङ — हवाई सेवा बन्द भएको १२ वर्षपछि बझाङमा नियमित उडान सुरु भएको छ । समिट एयरको विमानले मंगलबार दिउँसो धनगढी–बझाङ–धनगढीमा उडान गरेको छ ।

बझाङमा १२ वर्षपछि नियमित उडान

धनगढीबाट १८ जना यात्रु बोकेर आएको समिट एयरको ट्वीनअटर विमानले मंगलबार दिउँसो १ बजे बझाङको देवल विमानस्थलमा अवतरण गरेको थियो ।

बझाङबाट नवजात शिशुसहित २० जना यात्रु धनगढीका लागि उडेका थिए । अब समिट एयरले शुक्रबार र मंगलबार नियमित उडान गर्नेछ । यसअघि विमानस्थल कालोपत्र भएपछि समिट एयरकै विमानले असोज १७ मा बझाङमा सफल परीक्षण उडान गरेको थियो । परीक्षण उडानका क्रममा पर्यटनमन्त्री योगेश भट्टराईलगायत बझाङका सांसद, नेता त्था नागरिक उड्डयन प्राधिकरणका अधिकारी पनि बझाङ आएका थिए ।

लामो समयपछि हवाई सेवा नियमित भएको भन्दै स्थानीय खुसी भएका छन् । ‘बसमा गएको भए पूरै दिन लाग्थ्यो । जहाजले २२ मिनेटमै धनगढीबाट बझाङ पुर्‍यायो,’ धनगढीबाट बझाङ आएकी देवकी थापाले भनिन्, ‘यस्तो सुविधा अब बन्द नहोस् ।’

नियमित हवाई सेवा सुरु भएपछि यहाँको पर्यटन प्रवद्र्धनमा पनि ठूलो योगदान पुग्ने अपेक्षा गरिएको स्थानीय जनप्रतिनिधिको भनाइ छ । ‘अब एकै दिनमा काठमाडौंबाट बझाङ पुगिने भएको छ,’ छबीसपाथीभेरा गाउँपालिका–१ का वडाध्यक्ष नयन बोहराले भने, ‘आकर्षक गन्तव्य हुँदाहुँदै पनि कष्टकर यात्रा गर्नुपर्ने डरले बझाङ आउन नसकेकाहरूलाई हवाई सेवाले ठूलो राहत दिनेछ ।’

यसैबीच हवाई सेवा नियमित भए पनि भाडा भने अचाक्ली महँगो भएको स्थानीयले गुनासो गरेका छन् । नागरिक उड्डयन प्राधिकरणले तोकेको एकतर्फी भाडा ४ हजार ९ सय रुपैयाँ सर्वसाधारणका लागि महँगो भएको उनीहरूको भनाइ छ ।

विमानस्थल कालोपत्र भएपछि अन्य विमान कम्पनीले पनि बझाङ आउन चासो देखाइरहेकाले प्रतिस्पर्धा भएपछि भाडादर केही कम हुन सक्ने नागरिक उड्डयन प्राधिकरणका उपप्रबन्धक मोहन गिरीले बताए । २०३५ सालमा कच्ची विमानस्थल निर्माण सम्पन्न भएपछि पहिलो पटक तत्कालीन शाही नेपाल वायुसेवा निगमले साप्ताहिक उडान थालेको यो विमानस्थल २०६५ सालसम्म सञ्चालनमा थियो ।

प्रकाशित : आश्विन २७, २०७७ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?