बैतडीमा निरीक्षकसहित ५ प्रहरीलाई कोरोना- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बैतडीमा निरीक्षकसहित ५ प्रहरीलाई कोरोना

तृप्ति शाही

बैतडी — बैतडीमा प्रहरी निरीक्षकसहित ५ जना प्रहरीमा कोरोना पुष्टि भएको छ । जिल्ला अस्पताल बैतडीको प्रयोगशालामा गरिएको परीक्षणमा उनीहरुमा कोरोना पुष्टि भएको हो ।

कोरोना संक्रमण भएका प्रहरीहरु सबै जिल्ला प्रहरी कार्यालयमा कार्यरत रहेका बैतडीका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक नारायणप्रसाद अधिकारीले बताए ।

कोरोना पुष्टि हुनेमा एकजना प्रहरी निरीक्षक, एकजना प्रहरी नायब निरीक्षक, एकजना प्रहरी सहायक निरीक्षक, एकजना हवल्दार र एकजना जवान हुन् । जिल्ला बाहिरबाट सरुवा भएर आएका, परीक्षा दिन बाहिरी जिल्ला गएका र घर बिदाबाट आएकाहरुमा कोरोना देखिएको उनले बताए । संक्रमण पुष्टि भएका सबै क्वारेन्टाइनमा रहेका थिए । हाल उनीहरु अस्पतालको आइसोलेसनमा छन् । उनीहरु सबैको स्वास्थ्य अवस्था सामान्य रहेको छ ।

प्रकाशित : आश्विन २५, २०७७ ०९:५४
प्रतिक्रिया
पठाउनुहोस्

सार‌ंगीमा मन

बाटुलेचौरको झलकमान प्रतिष्ठानमा सित्तैमा सारंगी सिक्न पाउँदा स्कुले बेलादेखि नै सिर्जनशील पुस्ता तयार भइरहेका छन्
‘सारंगी जोगाउने जिम्मा गन्धर्वको मात्रै होइन,’ उनी भन्छन्, ‘अरु जातिले पनि चाख राख्नु राम्रो हो’
दीपक परियार

पोखरा — सारंगीको तीर्थस्थल पोखराको बाटुलेचौर चोकैमा छ झलकमान गन्धर्वको सालिक । सालिकलाई दायाँ पारेर तलतिर लागेपछि साँघुरो गल्ली आउँछ । अलि तल कालीखोला बगिरहेछ । गल्ली र खोला बीचको भिरालो पाखामा छन्, गन्धर्व समुदायका केही घर ।

तिनै घरमध्ये एउटामा विहानीपख कलिला केटाकेटी झुम्मिन्छन् । कसैको हातमा सारंगी हुन्छ, कसैकोमा मादल । केटाकेटीलाई आफ्नै घरको एउटा कोठामा राखेर दिलीप गायक सांरगीको सरगम सिकाउँछन् । मादलको ताल फिट्छन् । गीतका भाका हाल्छन् । उनी जसोजसो भन्छन्, केटाकेटी उसैउसै गर्छन् । गुरुको लयमा लय मिलाउँछन् ।

बाटुलेचौरमा झलकमान गन्धर्व राष्ट्रिय लोकबाजा सारंगी संरक्षण पाठशाला प्रतिष्ठान खुलेको १२ वर्ष भयो । प्रतिष्ठानले ११ वर्षदेखि बालबालिकालाई सारंगी सिकाइरहेको छ । प्रतिष्ठानका उपाध्यक्ष दिलीपले हाल ४ देखि १७ वर्षका २२ बालबालिकालाई सारंगी सिकाउँछन् । प्रतिष्ठानले बालबालिकालाई सारंगी सिकाएको कुनै शुल्क लिँदैन । कोरोना महामारीमा बालबालिकाले आफूलाई निखार्ने मौका पाए ।

बाटुलेचौरकै विद्यालयमा ३ कक्षामा पढ्ने ऋषव गायक तीन वर्षदेखि सारंगी सिकिरहेछन् । उनी बिहान गुरुसँग सारंगी सिक्छन् । दिउँसो विद्यालयको अनलाइन कक्षा हुन्छ । बेलुकी घरमै अभ्यास गर्छन् । उनलाई पछि अरूलाई पनि सारंगी सिकाउन मन छ । १० वर्षीया खुसी गायकले सारंगी सिकेकै ६ वर्ष भयो । अचेल उनी झलकमानका गीतहरूमा सारंगी बजाउन सक्ने भइसकिन् । ५ कक्षामा पढ्ने उनी पढाइ र संगीतलाई सँगसँगै लैजान चाहन्छिन् । सारंगी उनको मनपर्ने बाजा हो । ‘सुरुसुरुमा डर लाग्थ्यो,’ उनले भनिन्, ‘अहिले जानेपछि छोड्नै मन लाग्दैन ।’ उनले सारंगी बजाएको भिडियो बनाएर आफ्नो टिकटकमा राखेकी छन् ।

चार वर्षीया आरोही गायकका बुबाआमा नै संगीतकर्मी हुन् । झन् गाउँका पाका मान्छेले सारंगी र मादल बजाएको, गीत गाएको सुनेर हुर्किरहेकी उनलाई सानैदेखि टक बस्यो । उनी मादल खुब राम्रो बजाउँछिन् । सारंगी पनि सिकिरहेकी छन् । १० वर्षीय युनिस गायकलाई संगीतकार बन्ने धोको छ । विद्यालयमा हुने कार्यक्रममा सारंगी र मादल बजाउनुपरे उनी सुरुमै तम्सिन्छन् । बुबाआमाले पनि कुनै रोकटोक गरेका छैनन् । दिलीपले नै सारंगी सिकाएका १७ वर्षीय निशान गायक पारंगत भइसके । सारंगी बजाउन जानेरै उनलाई पोखराको कुमुदिनी होम्सले १० कक्षासम्म छात्रवृत्तिमा पढाएको थियो । परम्परागत बाजा लोप हुँदै गएकाले सारंगी जोगाउने जिम्मा आफ्नो पुस्ताको काँधमा आएको उनी ठान्छन् । ‘अरू जुनसुकै पेसा अपनाए पनि सारंगी साथमै लिएर हिँड्छु,’ उनले भने, ‘अरूलाई पनि सिक्नुपर्छ भन्ने प्रेरणा दिन्छु ।’

प्रतिष्ठानको उद्देश्य सारंगी नमरोस् भन्ने हो । सानैदेखि सिकाएर सारंगीमा रस बनाउन बाटुलेचौरका धनबहादुर गायकले सुरुआत गरे । अहिले उनैका छोरा दिलीप यो कर्ममा लागेका छन् । दिलीपले १० वर्षको उमेरबाट बुबासँग सारंगी सिके । सिक्दासिक्दै उनी सारंगी र मादल बजाउन, गीत गाउन, नाच्न पोख्त हुँदै गए । संगीतकर्मकै कारण उनी १० कक्षासम्म छात्रवृत्तिमा पढ्न पाए । पृथ्वीनारायण क्याम्पस भर्ना भएपछि उनी जनसांस्कृतिक महासंघमा आबद्ध भए । लोकगीतबाट उनको मन क्रान्तिकारी गीततिर पनि गयो । ०५७ मा क्याम्पस पढ्दापढ्दै उनी अमरसिंहचोकमा रहेको सोल्टी दोहोरी साँझमा बुबासँगै काम गर्न थाले । सारंगी र मादल बजाएको तलब उनी मासिक १ सय ५० रुपैयाँ बुझ्थे ।

अलि पछि उनी विद्यालयमा सारंगी सिकाउन थाले । कुमुदिनी होम्स, गण्डकी बोर्डिङ, सेन्ट फ्रान्सिसका विद्यार्थीलाई उनले सारंगी, मादल, हार्मोनियम बजाउन र गीत गाउन सिकाए । अहिले बालमैत्री विद्यालयमा सिकाउँछन् । उनको पुस्ताका निकै कम गन्धर्व युवाले सारंगी बजाउन सिके । ‘पहिले घरघर डुलेर सारंगी बजाएर पाएको अन्नले जीविका चलाउनुपर्ने अवस्था थियो,’ ३८ वर्षीय उनले भने, ‘त्यही देखेर हुर्किएका युवामा सारंगीप्रति रुचि नहुनु केही हदसम्म स्वाभाविक पनि हो ।’ तर अब अवस्था फेरिएको छ । सारंगी जोगाउनलाई अब घरघर गएर बजाउनुपर्छ भन्ने छैन । लोक, आधुनिक तथा फ्युजन गीतमा सारंगीको प्रयोग हुन्छ । दोहोरी साँझ, गजलमा सारंगी छुट्दैन । विद्यालयले अन्य बाजागाजासँगै सारंगी पनि विद्यार्थीलाई सिकाउँछन् । सारंगीवादक देश, विदेश घुम्न पाएका छन् । सारंगीले व्यावसायिकता पाएको छ । ‘मेरा दौतरीले सिकेनन्, अहिले उनीहरूकै छोराछोरीलाई सिकाइरहेछु,’ उनले भने, ‘सारंगी लोप हुनबाट बचाउन यसको महत्व बुझाउन जरुरी छ ।’

उनी बालबालिकालाई मंगल धुन, कर्खा र अन्य परम्परागत गीतमा बजाउन सिकाउँछन् । विस्तारै बानी पर्दै गएपछि उनीहरूले नयाँ गीतमा बजाउँछन् । प्रतिष्ठनमा सिक्ने बालबालिकालाई प्रोत्साहन होस् भनेर विभिन्न कार्यक्रममा प्रस्तुतिका लागि दिलीपले लैजान्छन् । कतिपयले खर्च दिएर पठाउँछन् । कसैले बाटो खर्च पनि दिँदैनन् ।

पोखरामा रहेका नयाँ पुस्ताका अधिकांश सारंगीवादक यही प्रतिष्ठानबाट उत्पादित हुन् । गन्धर्व समुदाय बाहेककालाई पनि दिलीप सारंगी सिकाउँछन् । बाटुलेचौरकै अन्नपूर्ण आत्मनिर्भर बाल आश्रममा रहेका २५ बालबालिकाले उनीसँग सारंगी सिक्छन् । ‘सारंगी जोगाउने जिम्मा गन्धर्वको मात्रै होइन,’ उनी भन्छन्, ‘अरू जातिले पनि चाख राख्नु राम्रो हो ।’ उनले दुई सयजतिलाई सारंगी सिकाइसके । उनीसँग मादल, हार्मोनियम र गायन सिक्ने दुई हजारभन्दा बढी पुगे । तत्कालीन पोखरा उपमहानगरले विन्ध्यवासिनी संगीत प्रशिक्षण केन्द्रमा सारंगी बजाउन सिकाउन उनलाई खटाएको थियो । यो हाल बन्द छ । उनी आफैंले गाएका राष्ट्रिय गीत, लोक, भजन, आधुनिक, तीज गीत १५ वटा रेकर्ड गरेका छन् । सारंगी बजाउन उनी भारतका दिल्ली, दार्जिलिङ, सिक्किम, केरलालगायत सहर घुमेका छन् । १९ वर्षको उमेरमा उनी सारंगी बजाउन नर्वे पुगे । विभिन्न देशको लोकसंगीत प्रदर्शनीमा उनले नेपालका अन्य तीनसहित आफ्नो प्रस्तुति देखाए ।

प्रकाशित : आश्विन २५, २०७७ ०९:५१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×