स्वास्थ्यकेन्द्र टाढा हुँदा बाटैमा सुत्केरी, महिलाको मृत्यु- सुदूरपश्चिम - कान्तिपुर समाचार

स्वास्थ्यकेन्द्र टाढा हुँदा बाटैमा सुत्केरी, महिलाको मृत्यु

अर्जुन शाह

बाजुरा — सिंहवीर रोकाया दम्पतीको बुढेसकालको सहारा एक्ली छोरी अम्बकलाबाहेक अरू कोही थिएन । अढाई वर्षअघि उनले पल्लो गाउँ सिराडीका दलबहादुर बोहरासँग विवाह गरिन् तर आमाबाबुलाई एक्लै नछाड्ने सर्तमा । विवाह गर्दा केटालाई घरज्वाइँ बस्न मन्जुर गराएर आमाबाबुको सास रहँदासम्म हेरचाह गर्ने समझदारी थियो ।

तर बूढीनन्दा नगरपालिका–४ कुरुकी २३ वर्षीया अम्बकलाकी बिहीबार प्रसूति–व्यथाले ज्यान गयो । व्यथाले च्यापेपछि कोल्टी लैजाँदै गर्दा बिहीबार साँझ बाटैमा उनको मृत्यु भएको हो । कोल्टी प्राथमिक स्वास्थ्य केन्द्र गाउँदेखि पाँच घण्टा पैदल दूरीमा छ । छोरीको मृत्युसँगै ६५ वर्षका बुवा सिंहवीर र आमा बिसा रोकायाको बुढेसकालको सहारा पनि चुँडिएको छ ।

‘बिहानतिर बेथा सुरु भएको हो । अप्ठेरो हुँदै गएपछि दिउँसोतिर आफन्त भेला भएर कोल्टी लैजाने निर्णय गरेका थिए,’ वडाध्यक्षसमेत रहेका अम्बकलाका नातेदार राजन रोकायाले भने, ‘करिब एक घण्टा तल दोगाडेमा पुगेपछि उनको मृत्यु भयो ।’ उनका अनुसार बर्खाले घोडेटो बाटो पनि भत्केकाले झनै असजिलो थियो । गर्भवतीलाई ओरालो बाटोमा बोकेर लैजान झन् बढी समय लाग्यो । ‘दोगाडे पुगेपछि अम्बकला सुत्केरी भइन् तर अत्यधिक रक्तस्रावले केही समयमै मृत्यु भयो,’ रोकायाले भने । अम्बकलाले जन्म दिएकी छोरीको स्वास्थ्य भने ठीकै रहेको उनले बताए ।

कुरु गाउँ कोल्टी क्षेत्रकै सबैभन्दा विकट ठाउँ हो । ३ सय ९५ परिवार बसोबास गर्ने गाउँमा प्रसूति केन्द्र छैन । आधारभूत स्वास्थ्य इकाइ भए पनि सुत्केरी गराउने तालिम प्राप्त स्वास्थ्यकर्मी नभएको अनमी ताराकुमारी सिंहले बताइन् । ‘भौतिक पूर्वाधार र सामग्री सबै छ तर जनशक्ति छैन,’ उनले भनिन्, ‘कुरुका गर्भवतीलाई निकै अप्ठेरो छ ।’ अनमी सिंहका अनुसार ०७४ सालसम्म प्रसूति केन्द्र सञ्चालनमा थियो । स्थानीय तह बनिसकेपछि त्यहाँ कार्यरत तालिम प्राप्त स्वास्थ्यकर्मीको सरुवा भएपछि सेवा बन्द भएको हो ।

नगरपालिकामा बारम्बर तालिमप्राप्त स्वास्थ्यकर्मीको माग गर्दै आए पनि उपलब्ध नभएको वडाध्यक्ष रोकायाले बताए । ‘सुत्केरी गराउन सक्ने तालिमप्राप्त नर्स पठाइदिनुस् भन्दा पनि नगरपालिकाले सुनुवाइ गरेको छैन,’ उनले भने, ‘यसअघि स्थानीय फुगी रोकायाको पनि सुत्केरी गराउन कोल्टी लैजाँदै गर्दा बाटैमा मृत्यु भएको हो ।’ नगर उपप्रमुख सृष्टि रेग्मीले स्वास्थ्यकर्मीको संख्या अपुग भएको बताइन् । कुरु सबैभन्दा विकट गाउँ भएकाले त्यहाँ प्राथमिकता दिनुपर्नेमा कमजोरी भएको उनको भनाइ छ । जिल्ला स्वास्थ्य कार्यालय बाजुराका अनुसार गत आर्थिक वर्षमा यहाँ ५ जना सुत्केरीको मृत्यु भएको थियो ।

प्रकाशित : आश्विन २४, २०७७ १०:१९
प्रतिक्रिया
पठाउनुहोस्

घरै बस्नुपर्दा चिढिँदै बालबालिका

अर्जुन शाह

धनगढी — विद्यालय छुटेयता धनगढी– ५ का ११ वर्षीय सोमित बिष्टको स्वभावमा निकै परिवर्तन आएको छ । चार कक्षामा अध्ययनरत उनी फरासिला अनि सबैसँग घुलमिल हुन रुचाउँथे । अहिले एक्लै बस्छन् । बेलाबेला आमाबाबुसँग झर्किरहन्छन् । समयमा खाजाखाना खानसमेत रुचाउँदैनन् । बरु राति अबेरसम्म इन्टरनेट गेम खेल्छन् ।

‘मेरो बच्चाको स्वभाव निकै फेरबदल भयो । अहिले पढलेखमा त लगाउनै मुस्किल भइसक्यो,’ सोमितका बुबा प्रदीपले भने, ‘भोकप्यास पनि मान्न छाडेको छ । बच्चा एकोहोरो भएको छ ।’ गाउँटोलका अधिकांश अभिभावकले आफ्ना बच्चामा उस्तै समस्या रहेको सुनाए ।

६ महिनादेखि विद्यालय अवरुद्ध हुनु तथा लामो समयको बन्दाबन्दीका कारण घरमै बस्नुपर्दा बालबालिकामा गम्भीर मनोवैज्ञानिक समस्या देखापरेको अध्येताहरू बताउँछन् । बिर्सने, दिक्क लाग्ने, हैरानी महसुस हुने, अरूसँग कुरा गर्न मन नलाग्ने, व्यक्तिगत सरसफाइ गर्न मन नलाग्ने समस्या देखिएका बालबालिकाको क्षेत्रमा कार्यरत सामाजिक कार्यकर्ताहरूको भनाइ छ । बालबालिकालाई समय बिताउन गाह्रो हुने, टाउको तथा शरीर दुख्ने, परिवारका सदस्यसँग बस्न मन नलाग्ने, रिस उठ्नेलगायत समस्या देखिएको एक अध्ययनले औंल्याएको छ ।

बाल सहभागिताको क्षेत्रमा कार्यरत ६८ वटा संस्थाहरूको साझा समूह (कन्सोर्टियम नेपाल) ले सुदूरपश्चिमका अछाम, बझाङ, डोटी, कैलालीसहित ३१ जिल्लामा बालबालिकामा परेको असरबारे हालै अध्ययन गरेको हो । ‘लामो समय घरभित्रै बस्नुपर्दा बालबालिकालाई चौतर्फी असर परेको देखिन्छ,’ सेती प्रादेशिक अस्पतालका बालविशेषज्ञ डा. हेमराज पाण्डे भन्छन् ।

अध्ययनमा सहभागी बालबालिकामध्ये ९ प्रतिशतमा बिर्सने समस्या देखिएको छ । त्यस्तै ६५ प्रतिशतले समय बिताउन गाह्रो हुने, १७ प्रतिशतले हैरानी महसुस हुने गरेको गुनासो गरेका छन् । १३ प्रतिशतमा रिस उठ्ने समस्या पाइएको छ । ८ प्रतिशत बालबालिकाले टाउको तथा शरीर दुख्ने समस्या रहेको बताएको कन्सोर्टियमका अध्यक्ष किरण थापाले जानकारी दिए ।

अध्ययनअनुसार विगतमा सप्ताहमा एक–दुई दिन छुट्टी भए मक्ख पर्ने बालबालिका यति बेला खुसी छैनन् । ८८ प्रतिशत बालबालिका सकेसम्म चाँडो विद्यालय खुलोस् भन्ने चाहना राख्छन् । अध्ययन अनुसार २९ प्रतिशत बालबालिका मात्र कुनै खालको वैकल्पिक पठनपाठनमा सहभागी हुन पाएका छन् । वैकल्पिक पठनपाठन सञ्चालन भएका विद्यालयमध्ये करिब २० प्रतिशत मात्र प्रभावकारी देखिएका छन् । वैकल्पिक कक्षामा पनि निजी विद्यालयका माथिल्लो कक्षामा पढ्ने बालबालिकामा मात्र पहुँच छ । ‘यो संख्या पनि निकै कम रहेको पाइएको छ,’ थापाले भने ।

वैकल्पिक कक्षाको पहुँचमा भएका बालबालिका बढी मात्रामा अनलाइन कक्षामा छन् । तर यस माध्यमको पढाइमा सबैको सहज पहुँच छैन । ‘विश्वासिलो इन्टरनेट सुविधा नहुने, नियमित विद्युत् नहुने, विद्यार्थीसँग अनलाइन कक्षाका लागि आवश्यक ल्यापटप, मोबाइल नहुनेलगायत समस्या छन्,’ धनगढीमै एक निजी विद्यालयका शिक्षक केशव महताले भने ।

अध्ययन प्रतिवेदनमा उल्लेख भएअनुसार ५१ प्रतिशत विद्यालयसँग अनलाइन कक्षाका लागि न्यूनतम आधारभूत व्यवस्था छैन । ६८ प्रतिशत शिक्षक नै अनलाइन कक्षा व्यवस्थित सञ्चालन गर्न सक्षम नरहेको पाइएको छ । ८० प्रतिशत विद्यार्थीसँग अनलाइन कक्षाका लागि आवश्यक सामग्री नै नभएको, ६० प्रतिशत परिवारले अनलाइन कक्षाका लागि आवश्यक सामग्री व्यवस्था गर्न सक्ने अवस्थामा नरहेको पाइएको थापाले बताए । ४६ प्रतिशत बालबालिकाले मात्र कोरोनाबाट बच्ने उपाय तथा रोकथामका उपाय अवलम्बन गरेको पाइएको छ ।

अध्ययनमा सहयोगी वर्ल्ड भिजनका अधिकृत विनयप्रकाश बरालका अनुसार सबै अभिभावकले आवश्यक विद्युतीय सामग्री किन्न नसक्ने र त्यससम्बन्धी आवश्यक जानकारीसमेत नहुने समस्या पनि छन् । सुविधा उपलब्ध हुने परिवारका बालबालिकाले पनि अनलाइन वा वैकल्पिक कक्षाका लागि शान्त वातावरण नपाउने, अनलाइन कक्षामा अनलाइन देखिए पनि ध्यान अन्यत्रै हुने अवस्था रहेको बरालले बताए ।

बालबालिकाले बन्दाबन्दीको समयमा पनि हिंसा महसुस वा अवलोकन गरेका छन् । जसमध्ये १६ प्रतिशत बालबालिकाले फोनमार्फत हिंसा भएको बताएका छन् । २२ प्रतिशतले मानसिक तनाब वा दबाब रहेको, १६ प्रतिशतले यौनजन्य हिंसा वा दुर्व्यवहार भएको उल्लेख गरेका छन् । यस्तै इन्टरनेटमार्फत हुने हिंसा १३ प्रतिशत, बलात्कारको प्रयास ९ प्रतिशत पाइएको अध्ययनले देखाएको छ ।

यस्तो अवस्थामा अभिभावकले बाल–मनोविज्ञानको निकै ख्याल गर्नुपर्ने मनोविद्हरू औल्याउँछन् । ‘बच्चाहरू एक्लो बस्न खोज्ने, मोबाइल बढी चलाउन खोज्नेलगायत समस्या विकराल बनिरहेका छन्,’ काउन्सिलिङ साइकोलोजी नेपालकी बालमनोविद् रोजी महर्जन भन्छिन्, ‘अभिभावकले आफ्नो बच्चामा पहिला र अहिलेको व्यवहारमा कुनै अन्तर आएन–आएको निकै ख्याल गर्नु जरुरी छ । यति फरक देखिन थाल्यो भने बेवास्ता गर्नै हुन्न ।’

प्रकाशित : भाद्र २४, २०७७ १२:१८
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×