१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६८

बाजुरामा चार छोराछोरीसहित आमा बेपत्ता

अर्जुन शाह

बाजुरा — बाजुराको हिमाली गाउँपालिका ५ स्थित कवाडीमा शुक्रबार चार छोराछोरीसहित आमा बेपत्ता भएकी छिन् । रुगीन गाउँमा घर भई कवाडीमा बस्दै आएका स्थानीय धर्म नेपालीकी श्रीमती ३० वर्षीया सत्ता नेपाली र उनकी ५ वर्षीया छोरी आरती, ४ वर्षकी सन्तोषी, २ वर्षका छोरा सम्मान र एक वर्षीया छोरी किस्मती बेपत्ता भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 

आमाले छोराछोरीसहित कवाडी नदीमा हाम फालेर आत्महत्या गरेको हुनसक्ने प्रहरीले प्रारम्भिक अनुमान गरेको छ । ‘एउटा बच्चाको चप्पल र लुगा कवाडी नदीको किनारमा भेटिएको खबर छ,’ डिएसपी मनजीत महराले भने, ‘नेपाली सेना, प्रहरी र स्थानीयले नदी र वरपर संयुक्त रुपमा खोजी कार्य गरिरहेको भए पनि भेटिएका छैनन् ।’

कवाडी बजार कवाडी नदी र कर्णाली नदीको संगमस्थल नजिकै पर्दछ । प्रहरीले उनका श्रीमान् धर्मलाई नियन्त्रणमा लिएको छ । प्रहरीकाअनुसार शुक्रबार बिहान सत्ता नेपाली गाउँमा खलो माग्न गएका थिए । उनी गाउँबाट फर्किंदासम्म घरमा श्रीमान्‌ले खाना नपकाएकाले श्रीमान् श्रीमतीबीच खटपट भएको थियो ।

‘छोरा बुहारीको खटपटपछि बुहारी बच्चाहरुलाई लिएर नदीतिर लागेको देखेको सासुले बताएकी छिन्’ डिएसपी महराले बताए । दलित समुदायका विपन्न परिवारहरुले खेती पाकेपछि घरघरबाट अन्न माग्ने चलनलाई खलो प्रथा भनिन्छ । बाजुराका सबै गाउँतिर खलो माग्ने परम्परा कायमै छ ।


प्रकाशित : आश्विन १६, २०७७ २०:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?