सीमा क्षेत्रमा विशेष प्याकेज ल्याइने

कान्तिपुर संवाददाता

दार्चुला — गृहमन्त्री रामबहादुर थापाले सीमा क्षेत्रका जनताका लागि विशेष प्याकेजका कार्यक्रम ल्याइने बताएका छन् ।

सीमा क्षेत्रमा विशेष प्याकेज ल्याइने

शनिबार जिल्ला सदरमुकाम खलंगामा आयोजना गरिएको पत्रकार सम्मेलनमा उनले व्यास गाउँपालिका–१ टिंकर र छाङरुलगायत सीमा क्षेत्रका बासिन्दाका लागि विशेष प्याकेजका कार्यक्रम ल्याइने बताएका हुन् ।

‘त्यहाँका नागरिकको रोजगारी, युवालाई प्रहरीमा भर्ती गर्ने, स्वरोजगार दिने खालका कार्यक्रम सरकारले ल्याउने छ,’ उनले भने । यसका लागि उक्त क्षेत्रका भारतीयजस्तै सरकारले नेपाली नागरिकलाई पनि आरक्षण व्यवस्था गर्नुपर्ने र सरकारी सेवा तथा सुरक्षा निकायमा भर्नाका लागि प्राथमिकता दिइनुपर्ने उनले बताए । सीमा सुरक्षासँगै जनताले विकास र रोजगारीमा आरक्षण माग गरेका हुनाले त्यसैअनुसार विशेष सुविधा दिलाउन सरकार प्रतिबद्ध रहेको उनको भनाइ छ ।

शुक्रबार व्यास गाउँपालिका–१ छाङरुमा सशस्त्र प्रहरी बल नेपाल नम्बर ५० गुल्मको भवन शिलान्यास गरेर खलंगा फर्किएका गृहमन्त्री थापाले कालापानी क्षेत्रमा बाह्रै महिना सुरक्षाकर्मीलाई बस्न स्थायी संरचना निर्माण हुन लागेको बताए । सीमा सुरक्षा सरकारले मात्रै गरेर नहुने भन्दै जनताको साथ अत्यावश्यक रहेको उनको भनाइ छ ।

गृहमन्त्री थापाले कालापानी रणनीतिक महत्त्वको क्षेत्र भएको बताउँदै यसलाई व्यापारिक मार्ग र पर्यटकीय गन्तव्य स्थलका रूपमा विकास गर्नुपर्ने धारणा राखेका छन् । उनले अहिले सरकारले सीमा समस्या समाधानका लागि कूटनीतिक पहल अगाडि बढाएको बताए ।

प्रकाशित : आश्विन १०, २०७७ १९:५६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?