बझाङमा पीसीआर परीक्षण सुरु- सुदूरपश्चिम - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

बझाङमा पीसीआर परीक्षण सुरु

दैनिक दुई सयको परीक्षण गरिने 
वसन्तप्रताप सिंह

बझाङ — जिल्लामा बिहीबारबाट पीसीआर परीक्षण सुरु गरिएको छ । प्रयोगशाला परीक्षण गरिएका १० वटा नुमनाको रिर्पोट पुनः पुष्टिका लागि डडेल्धुरा अस्पतालको प्रयोगशालामा परीक्षणमा गर्दा एउटै नतिजा दिएपछि प्रयोगशालाबाट परीक्षण सुरु गरिएको हो ।

आवश्यक पर्दा दैनिक एक हजार नमुनाको परीक्षण गर्न सकिने भए पनि हाललाई दैनिक २ सय स्वाब परीक्षण गरिने अस्पतालले जनाएको छ । जिल्ला अस्पतालका प्रमुख डा.सन्दिप ओखेडाले प्रयोगशाला स्थापनाका लागि सहयोग गर्ने सबैलाई धन्यवाद दिँदै यसले जिल्लामा महामारी रोकथाममा ठूलो भूमिका निर्वाह गर्ने बताएका छन् । ‘नमुनाहरु डडेल्धुरा र धनगढी पठाउनु पर्ने अवस्थाको अन्त्य भएको छ,’ उनले भने, ‘अब रिर्पोट आउन हप्तौं कुर्नु पर्ने छैन ।’ उनले संक्रमण फैलिएको क्षेत्रमा तत्काल द्रूत परीक्षण सेवा पनि सञ्चालन गर्न सकिने बताए ।

प्रयोगशाला सञ्चालनमा आए पछि समयमै परीक्षणको नतिजा आउने र क्‍वारेन्टाइनमा स्थानीय तहले गरिरहेको खर्चभार पनि कम हुने जिल्ला समन्वय समिति प्रमुख खड्गबहादुर खड्काले बताए ।

जिल्लाका सबै पालिकाहरुको लगानीमा प्रयोशालाका उपकरण र जडान गर्दा १ करोड २५ लाख रुपैयाँ खर्च भएको जिल्ला अस्पताल बझाङले जनाएको छ । प्रयोगशाला स्थापनाको लागि यहाँका १० वटा गाउँपालिकाले १०/१० लाख र जिल्ला समन्वय समिति र २ वटा नगरपालिकाले १५/१५ लाखका दरले रकम संकलन गरेका थिए ।

प्रकाशित : आश्विन ८, २०७७ १४:५३
प्रतिक्रिया
पठाउनुहोस्

कांग्रेस महामन्त्री शशांक कोइराला कोरोनामुक्त

कान्तिपुर संवाददाता

काठमाडौँ — कांग्रेस महामन्त्री डाक्टर शशांक कोइराला कोरोनामुक्त भएका छन् । बिहीबार बिहान गरिएको पीसीआर परीक्षणमा महामन्त्री कोइरालाको रिपोर्ट नेगेटिभ आएको उनका स्वकीय सचिव भरत तिवारीले जानकारी दिए ।

महामन्त्री कोइराला आफैले पनि सामाजिक सञ्जालमार्फत आफू कोरोनामुक्त भएको जानकारी दिँदै चिकित्सकको सल्लाहअनुसार अझै केही दिन होम आइसोलेसनमा बस्ने र त्यसपछि पार्टीको नियमित काममा फर्किने बताएका छन् ।

कांग्रेस महामन्त्री कोइरालालाई गत भदौ २३ गते कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । धुम्बाराहीस्थित ह्याम्स अस्पतालमा पीसीआर परीक्षण गराउँदा उनमा कोरोना पुष्टि भएको थियो ।

कोरोना संक्रमण पुष्टि भएपछि होम आइसोलेसनमा बसेका महामन्त्री कोइराला स्वास्थ्यमा समस्या देखिएपछि भदौ ३१ गते ॐ अस्पताल भर्ना भएका थिए । कोइरालालाई नरम खालको निमोनिया र ज्वरो देखिएको अस्पतालले जनाएको थियो । उनी असोज ३ गते अस्पताबाट डिस्चार्ज भई चिकित्सकको सल्लाहमा होम आइसोलेसनमा बसेका थिए ।

प्रकाशित : आश्विन ८, २०७७ १४:४६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×