संक्रमण नदेखिएका स्थानीय तहमा विद्यालय सञ्चालनको तयारी

मनोज बडू

दार्चुला — जिल्लाको अपीहिमाल र दुहु गाउँपालिकाले असोज सुरुबाट विद्यालय सञ्चालन गर्ने तयारी गरिरहेका छन् । कोरोना संक्रमणका कारण बन्द रहेका विद्यालय स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर सञ्चालनमा ल्याउने तयारी थालेका हुन् । गाउँपालिकामा अहिले कोरोना संक्रमित नदेखिएको भन्दै विद्यालय सञ्चालनको तयारी भएको हो ।

शिक्षण सिकाई क्रियाकलापलाई सहज बनाउन स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाइ असोज ८ गतेदेखि विद्यालय खोल्ने तयारी भएको दुहु गाउँपालिकाका अध्यक्ष पुलेन्द्रबहादुर कार्कीले जानकारी दिए । ‘सबै सुरक्षा मापदण्ड अपनाएर शिक्षण संस्था सञ्चालनको तयारी गरिँदैछ,’ उनले भने, ‘सुरक्षा सामग्री गाउँपालिकाले उपलब्ध गराउने छ ।’ विद्यालयका शिक्षकहरुलाई सुरक्षा सतर्कता पूर्ण रुपमा अपनाउन भनिएको उनको भनाइ छ ।

स्वास्थ्य सुरक्षाका.मापदण्ड अपनाएर भौतिक सामाजिक दूरी कायम गरी सिफ्ट अनुसार कक्षा सञ्चालन हुने गाउँपालिकाका शिक्षा शाखा प्रमुख हेमराज जोशीले बताए । विकट क्षेत्रमा अन्य माध्यमबाट विद्यार्थीको पढाई सञ्चालन गर्न नसकिने देखिएपछि नियमित कक्षा सञ्चालन सुरु गर्ने तयारी भइरहेको हो । पाठ्यक्रम विकास केन्द्रले तयार पारेका पाठ्यक्रम विद्यालयमा पढाइ सुरु गरिने उनले बताए ।

लामो समयदेखि विद्यालय बन्द हुँदा विद्यार्थीहरुमा नकारात्मक असर परेकाले विद्यालय सञ्चालनको तयारी भएको स्थानीय तहले जनाएका छन् । गत चैतदेखि बन्द रहेका विद्यालयहरु खुल्न नसक्दा विद्यार्थीको पठनपाठनमा समस्या भएको छ । अहिले हरेक स्थानीय तहले वैकल्पिक शिक्षण विधिको उपाय खोज्न थालेका छन् ।

सदरमुकाम खलंगास्थित महाकाली नगरपालिकाले सिकाई सहजीकरण कार्ययोजना पेश गर्न सबै विद्यालयलाई निर्देशन गरेको छ । निमित्त प्रमुख प्रशासकीय अधिकृत नरसिंह बडालले विद्यार्थी सिकाइ सहजीकरण निर्देशिका २०७७ अनुसार विद्यालयले आफ्नो सेवा क्षेत्रभित्रका सबै बालबालिकाहरुलाई विद्यालय अथवा विद्यालयबाहिर सिकाई केन्द्र रहने गरी कार्ययोजना असोज ९ गतेभित्र पेश गर्न भनेको छ । सिकाई सहजिकरणका लागि स्थानीय अभिभावकको कम्तीमा ५० प्रतिशत उपस्थितिसहितको कार्ययोजना पेश गर्नुपर्ने छ ।

अपिहिमालमा वैकल्पिक शिक्षण सुरु

अपिहिमाल गाउँपालिकाले सोमबारबाट वैकल्पिक शिक्षण सिकाई कार्यक्रम सञ्चालन गरेको छ । हाल गाउँपालिकामा कोरोना संक्रमण नदेखिएपनि सरकारले तत्काल विद्यालय खोल्न अनुमति नदिँदा गाउँपालिकाले विद्यालयहरुमा वैकल्पिक शिक्षण सिकाई कार्यक्रम सञ्चालन गर्ने निर्णय गरेको गाउँपालिका अध्यक्ष धर्मानन्द मन्यालले जानकारी दिए ।

सबै विद्यालयका प्रधानाध्यापक एवं शिक्षा शाखाको संयुक्त बैठकले सोमबारबाट वैकल्पिक शिक्षण विधिबाट शिक्षण सिकाई कार्यक्रम सञ्चालन गर्ने निर्णय भएको हो । विद्यालयमा विद्यार्थीहरुको सामाजिक भौतिक दूरी कायम गर्ने, मास्कको प्रयोग तथा स्वास्थ्य सुरक्षाका मापदण्ड अपनाएर वैकल्पिक शिक्षण गर्न निर्देशन दिइएको उनले बताए ।

प्रकाशित : आश्विन ५, २०७७ २०:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?