बलात्कार आरोपमा एक जना पक्राउ- सुदूरपश्चिम - कान्तिपुर समाचार

बलात्कार आरोपमा एक जना पक्राउ

मोहन शाही

डोटी — झारफुक गर्ने बहानामा महिलालाई बलात्कार गरेको आरोपमा एक युवक पक्राउ परेका छन् । २० वर्षीया महिलाले बुधबार दिएको उजुरीका आधारमा जोरायल गाउँपालिका–३ का ३१ वर्षीय टेकबहादुर ओली पक्राउ परेका हुन् । 

इलाका प्रहरी कार्यालय जोरायलका इन्चार्ज प्रहरी नायब निरीक्षक महेन्द्र थापाका अनुसार महिलाले उजुरीमा भदौ २ गते घटना भएको उल्लेख गरेकी छन् । उनी श्रीमानसँगै उजुरी दिन आएकी थिइन् ।

सन्तानको आसमा झारफुक गर्न ओलीकहाँ गएका बेला श्रीमानलाई जडीबुटी ल्याउन बाहिर पठाएको र त्यही बेला आफूलाई बलात्कार गरेको महिलाले बताएको प्रहरी नायब निरीक्षक थापाले जानकारी दिए ।

ओलीले भने उनीहरूकै अनुरोधमा झारफुक गरे पनि बलात्कार नगरेको बयान दिएका छन् । झारफुकका लागि हरेक मंगलबार ओलीकहाँ जाने गरेकोमा उक्त घटनापछि जान छाडेको महिलाले बताएकी छन् । उनले उजुरीमा उल्लेख गरेअनुसार भदौ २३ गते ओलीले उनलाई फोन गरे । उनले फोन ‘अफ’ गरेपछि फेरि श्रीमान्लाई फोन गरी अन्तिमपटक झारफुकका लागि आउन आग्रह गरे । श्रीमान्ले महिलालाई त्यसैअनुसार ओलीकहाँ जान भनेपछि उनले घटना बताइदिइन् । त्यसपछि दुवै जना प्रहरीमा गएका हुन् ।

इलाका प्रहरी कार्यालय जोरायलले भने दुवै पक्षलाई जिल्ला प्रहरी कार्यालय, डोटी पठाएको छ ।

प्रकाशित : भाद्र २५, २०७७ १३:०४
प्रतिक्रिया
पठाउनुहोस्

मन्त्रिपरिषद् बैठक स्थगित, सरकारको प्रवक्ता र कुलमानबारे शुक्रबार निर्णय हुने

कान्तिपुर संवाददाता

काठमाडौँ — मन्त्रिपरिषद्को बिहीबार बोलाइएको बैठक स्थगित गरिएको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार सत्तारुढ नेकपाको शुक्रबार बोलाइएको बैठकको तयारीमा अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली व्यस्त रहनुपर्ने भएकाले मन्त्रिपरिषद् बैठक स्थगित भएको हो ।

मन्त्रिपरिषद्को बैठक बिहीबार साँझ बोलाइएको थियो । मन्त्रीहरूलाई बिहीबार साँझ बैठकमा आउन भनिएको थियो भनिएकोमा बिहान १० बजेतिर मन्त्रिपरिषद् बैठक स्थगित भएको जानकारी दिइएको थियो ।

मन्त्रिपरिषद्को आगामी बैठकबाट नेपाल विद्युत प्राधिकरणका कार्यकारी निर्देशक नियुक्ति हुने बताइएको छ । ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री वर्षमान पुनले प्राधिकरणको कार्यकारी निर्देशकमा नियुक्तिबारे यसअघि ने मन्त्रिपरिषद्को बैठकमा छलफल गरेका थिए ।

मन्त्री पुनले हालका कार्यकारी निर्देशक कुलमान घिसिङलाई नै निरन्तरता दिने कि अर्को व्यक्तिलाई ल्याउने भन्ने बारेमा छलफल गरेका थिए । मन्त्री पुनले सार्वजनिक रूपमा घिसिङलाई नै निरन्तरता दिइने भनिसकेका छन् । तर कति समयका लागि नियुक्ति गर्ने भन्ने यकिन भएको छैन ।

मन्त्री निकट स्रोतका अनुसार चार वर्षका लागि फेरि प्राधिकरणको प्रमुखमा कुलमानलाई नियुक्त गर्ने कि २ वर्षका लागि भन्ने निर्णय भइसकेको छैन । 'दुई वर्षका लागि फेरि जिम्मेवारी दिने कि चार वर्षका लागि भन्ने यकिन भइसकेको छैन । उहाँलाई फेरि जिम्मेवारी दिने भन्नेतर्फ नै छलफल भइरहेको छ,' मन्त्री निकट स्रोतले भन्यो ।

त्यस्तै, मन्त्रिपरिषद्को भोलिको बैठकले सरकारको प्रवक्ता तोक्ने र केही मुलुकका लागि राजदूत सिफारिस गर्ने पनि तयारी भइरहेको बताइएको छ ।

प्रकाशित : भाद्र २५, २०७७ १२:२६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×