कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

कोरोनाले सुदूरपश्चिममा देखिएन गौराको उत्साह

भवानी भट्ट

कञ्चनपुर — समूह समूहमा भेला भएर देउडा गाउँदै हाँसखेलका साथ मनाइएको गौराको दृश्य यसपटक कञ्चनपुरमा देखिएन । सुदूरपश्चिमेलीहरुको ठूलो चाड गौरा पर्व बुधबार मनाइँदा धेरैले पोहोर परारका दिनहरू झल्झली सम्झिए ।

कोरोनाले सुदूरपश्चिममा देखिएन गौराको उत्साह

कोरोनाको त्रासका कारण यसपटकको गौरा पर्व समुदाय धेरै जना भेला भएर मनाउन पाएनन् । कतिपयले परिवार बसेर घरैमा मनाए । कतिले भीडभाड कम गरेर मन्दिर तथा गौरा घरमा मनाएको विधि पुर्‍याए ।

अष्टमीको अघिल्लो दिन भित्र्याएको गौरालाई पुजाआजासँगै देवगाथाहरु गाएर नाच्दै मन्दिरसम्म पुर्‍याइन्छ । बिरुडा पञ्चमीका दिन भिजाएको बिरुडा (गहुँ, मास, सानो केराउ, गुराँस र गहत सहितको पञ्च अनाज) ले गौराको पूजा गरिन्छ । विवाहिता महिलाहरुले निराहार ब्रत बसेर पुजा गर्ने चलन छ ।

गौरा विसर्जनपछि ब्रतालु महिलाहरुले बिरुडाले आफन्तजनको दीर्घायुको कामना गर्दै पुज्ने गर्छन् । ‘यस वर्षको गौरा सबैले घर घरमै मनाउदै छौ,’ साहित्यकर्मी नारा जोशीले भनिन्, ‘कोरोनाको जोखिमका बिच परम्परा पनि जोगायौं ।’ उनले विगतका वर्षहरुमा गौरा घर वा मन्दिरमा हुने भीड नियन्त्रण भएको बताइन् । ‘सबैले सावधानी अपनाएर गौरा मनाइरहेका छौं’ उनले भनिन् ।

जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले कोरोनाको जोखिम न्यूनिकरणका लागि भदौ ४ देखि १० दिनसम्म निषेधाज्ञा लागु गरेकाले पनि गौरा मनाउन महिलाहरु बाहिर धेरै भेला नभएका हुन् । उनीहरुले घर घरमै गौरा मनाए ।

भाद्र दुर्वाष्टमीका दिन पर्ने गौरा पर्व सुदूरपश्चिमसँगै कर्णाली र भारत उत्तराखण्डको कुमाउ गढवाल क्षेत्रमा पनि मनाइन्छ । आजकै दिन नव विवाहिता महिलाले दुवधागो लगाउने काम सुरु गर्छन् । शुक्लपक्षमा पर्ने गौरालाई उजाली र कृष्णपक्षमा पर्नेलाई अधेरी गौरा भनिन्छ ।

प्रकाशित : भाद्र १०, २०७७ १७:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?