१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

जयपृथ्वी राजमार्गमा फेरि पहिरो

वसन्तप्रताप सिंह

बझाङ — बाढीले सडक बगाएपछि यातायात अवरुद्ध भएको जयपृथ्वी राजमार्गमा फेरि पहिरो गएको छ । राजमार्गको कचाली खोला र सुवेडाको बीचमा पर्ने डिलमुगामा पहिरो गएको हो ।

जयपृथ्वी राजमार्गमा फेरि पहिरो

शनिबार रातिबाट सुरु भएको पहिरो खस्ने क्रम आइतबार दिउँसो पनि जारी छ । पहिरोले सडकको १५ मिटर भागमा क्षति पुर्‍याएको छ । पहिरोले स्थानीय दीपकराज जोशीको घरमा पनि क्षति पुगेको छ भने सुवेडाका स्थानीयको खेतीयोग्य जमिन र त्यहाँ लगाइएको तरकारी तथा धानबाली नष्ट भएको छ । यस्तै पहिरोमा परेर सुवेडा जिउला सिँचाइ आयोजनाको २० मिटरजति पक्की नहर बगेको र बिजुलीका दुइटा पोलसमेत भाँचिएको जोशीले बताए ।

पहिरो आएको स्थानबाट तल स्थानीयको खेतीयोग्य जमिन र घर परेकाले सडकबाट ढुंगामाटो पन्छाउन कम्तीमा ५ दिन लाग्ने सडक डिभिजन कार्यालयका सब इन्जिनियर इन्द्रराज जोशीले जानकारी दिए । उनका अनुसार ठूलो पहिरोले ल्याएको ढुंगामाटो ट्रिपरमा हालेर ओसार्नुपर्ने भएकोले सडक खोल्ने अझै समय लाग्छ । ‘पहिरो कसरी हटाउने भन्ने विषयमा स्थानीय, डिभिजन सडक कार्यालय र सुरक्षा निकायबच छलफल भइरहेको छ,’ उनले भने ।


यसैबीच गत साउन २६ गतेको बाढीले बगाएको जयपृथ्वी राजमार्गको जालीबगर खण्ड पुनर्निर्माणको काम अन्तिम चरणमा पुगेको डिभिजन सडक कार्यालयले जनाएको छ । बाढीले बगाएको सडकमा १५ मिटर ग्याबिन जाली हालिएको र बाँकी ३ मिटर सडक निर्माणको काम सोमबारसम्म सकिने सब–इन्जिनियर जोशीले बताए ।

बझाङलाई अन्य जिल्लासँग जोड्ने एक मात्र विकल्प रहेको राजमार्ग लामो समयदेखि अवरुद्ध हुँदा सदरमुकाम चैनपुरलगायत जिल्लाको माथिल्लो भेगमा दैनिक उपभोग्य वस्तुहरूको अभाव देखिन थालेको छ । निर्माण सामग्री ढुवानी गर्न तथा आपत्कालीन अवस्थाका बिरामीलाई जिल्लाबाहिर पठाउन समस्या भएको छ ।

प्रकाशित : श्रावण ३२, २०७७ १३:३९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?