३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

बझाङमा स्क्रब टाइफसले एकको मृत्यु

नौ बिरामी स्वास्थ्यकर्मीको सम्पर्कमा
वसन्तप्रताप सिंह

बझाङ — जिल्लामा पहिलो पटक देखिएको स्क्रब टाइफसबाट एक जनाको मृत्यु भएको छ भने अर्का एक सिकिस्त छन् । विभिन्न पालिकाका नौ जना बिरामी स्वास्थ्यकर्मीको सम्पर्कमा आएका छन् ।

बझाङमा स्क्रब टाइफसले एकको मृत्यु

स्क्रब टाइफसबाट बिहीबार जिल्ला अस्पतालमा उपचारका क्रममा दुर्गाथली गाउँपालिकाकी २२ वर्षीया पत्रिका चिमाडीको मृत्यु भएको हो । जिल्ला अस्पतालमै उपचाररत थलार गाउँपालिकाकी १७ वर्षीया किशोरीको अवस्था पनि चिन्ताजनक छ । ‘संक्रमण निकै फैलिइसकेपछि अस्पताल ल्याइएकाले पत्रिकालाई बचाउन सकिएन,’ जिल्ला अस्पतालका डा. मिलन खड्काले भने ।

उनले जयपृथ्वी राजमार्ग बन्द भएकाले बिरामी रेफर गरेर पठाउन सकिने अवस्था नरहेको र तराईका अस्पतालमा आईसीयू र भेन्टिलेटर खाली नभएको जानकारी पाएकाले बिरामीलाई जिल्ला अस्पतालमै उपचार प्रयास गरिरहेको बताए । संक्रमणको सुरुवाती चरणमा स्थानीय मेडिकलको औषधि खाएर बिरामी घरमै बसेको र अवस्था जटिल भएपछि मात्रै अस्पताल ल्याइने हुनाले उपचारमा कठिनाइ भइरहेको डा. खड्काले बताए ।


हालसम्म थलारा गाउँपालिकाका ३, मस्टा गाउँपालिका र जयपृथ्वी नगरपालिकाका २/२, खप्तड छान्ना र दुर्गाथली गाउँपालिकाका एक/एक जनामा स्क्रब टाइफसको संक्रमण देखिएको जिल्ला अस्पतालले जानकारी दिएको छ । ‘बिरामीले घरमै उपचारको कोसिस गर्ने भएकाले यो संख्या अझै धेरै हुने हाम्रो अनुमान छ,’ डा. खड्काले भने ।

संक्रमण फैलिएकाले प्रदेश स्वास्थ्य निर्देशनालयमा परीक्षण किट र औषधिका लागि माग गरेको जिल्ला अस्पतालका प्रमुख डा. सन्दीप ओखेडाले बताए । उच्च ज्वरो आएका बिरामीलाई तत्काल जिल्ला अस्पताल पठाउन पनि जिल्लाका स्वास्थ्यकर्मीहरूलाई निर्देशन दिइएको उनले जानकारी दिए । ‘संक्रमण फैलिने जोखिम आकलन गरेर केही पालिकालाई यसको उपचारमा प्रयोग गरिने औषधि खरिद गर्न पनि सल्लाह दिएका छौं,’ उनले भने । मुसा तथा गाईबस्तुको शरीरमा रहने रिकेन्सिया नामको किर्नाले टोकेपछि लाग्ने यो रोग बझाङमा पहिलो पटक देखिएको उनले बताए ।

सुरुमा ज्वरो आउने, टाउको दुख्ने, बान्ता हुने जस्ता लक्षण देखिने यो रोगको समयमा उपचार नभए बिरामीको ज्यान जाने खतरा उच्च हुने स्वास्थ्यकर्मीहरू बताउँछन् । यसको रोकथामका लागि घरमा मुसा पस्न नदिने, वरपर व्यक्तिगत सरसफाइमा ध्यान दिने, पशुबस्तुको सम्पर्कमा जाँदा सावधानी अपनाउनुपर्ने स्वास्थ्यकर्मीको सुझाव छ ।

प्रकाशित : श्रावण ३०, २०७७ १९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?