कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

इंगलद्वारमा पाँच वर्षपछि बल्ल पुल बन्दै

बसन्तप्रताप सिंह

बझाङ — साइपाल गाउँपालिकाको इंगलद्वारमा ठेक्का सम्झौता भएको पाँच वर्षपछि बल्ल झोलुंगे पुल निर्माण अघि बढेको छ । दुर्गम भेग भएकाले पुलका सामग्री हेलिकप्टरमार्फत ढुवानी गरिँदै छ ।

इंगलद्वारमा पाँच वर्षपछि बल्ल पुल बन्दै

लट्ठा, फलाम, सिमेन्टलगायत समान निर्माण स्थलमा पुर्‍याइसकिएको र आगामी असोजभित्र पुल हस्तान्तरण गरिसकिने ठेकेदार कम्पनी हरिहरि निर्माण सेवा प्रालि जनाएको छ । ‘सामान ढुवानी गर्न सबै विकल्पहरूमा प्रयास गर्दागर्दै समय बित्यो, मान्छे र खच्चर मार्फत ढुवानी सम्भव नभएपछि अन्त्यमा हेलिकप्टर प्रयोग गरेका हौं,’ प्रालिका प्रमुख प्रकाशजंग शाहले भने ‘अब सबै सामान पुगिसकेकोले धमाधम काम हुन्छ । असोज १५ सम्म पुल हस्तान्तरण हुन्छ ।’

पुल निर्माणस्थल जिल्लाको अन्तिम मानव बस्ती साइपाल गाउँपालिकाको धुली गाउँबाट झन्डै २० किलोमिटर उत्तरमा पर्छ । यही बाटो भएर स्थानीयका साथै हजारौंको संख्यामा यार्सा तथा जडीबुटी संकलक र कैलास मानसरोवरका तीर्थयात्री जाने गरेका छन् ।

पुल नभएकैले स्थानीयले जोखिम मोलेर सेती नदीको जंघार तर्ने गरेका छन् । पाँच वर्षको अवधिमा यहाँबाट सेती तर्दा ७ जनाले ज्यान गुमाइसकेका छन् ।

२०७३ मंसिरमा स्थानीय विकास मन्त्रालयअन्तर्गतको डोलिडार परियोजनाले यहाँ पुल निर्माणका लागि टेन्डर आह्वान गरेको थियो । १ सय २० मिटर लम्बाइको पुल १ करोड ७८ लाख २८ हजारको लागतमा निर्माण गर्ने सम्झौता भएको थियो ।

ढिलै भए पनि पुल निर्माण हुने पक्का भएपछि खुसी लागेको गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले बताए । ‘ठेकेदार खोज्दै निकैपटक काठमाडौं धाइयो,’ उनले भने, ‘धेरै लामो प्रयासपछि अब पुल बन्ने पक्का भएको छ । यो पुल बनेपछि यहाँको आवतजावतमा सजिलो त हुन्छ नै चीनसँगको व्यापार–व्यवसाय पनि फस्टाउनेछ ।’

जताततै जोखिम

इंगद्वारमा पुल बन्ने भए पनि गाउँपालिकाका अन्य धेरै नदी–खोलामा जोखिम उस्तै छ । गाउँपालिका र स्थानीयको सक्रियतामा बनेका काठेपुल असार दोस्रो सातातिर आएको बाढीले बगाएको छ ।

थरुनीघाट, राम, लोकन्ते, घाटगंगा, औलागाड खोला र सेती नदीको बीचपानी, इंगलद्वार र स्याङवनलगायत ठाँउमा ठूलो जोखिम मोलेर तनुपरिरहेको धुलीका तन्जन लामाले बताए । साँघु भाँच्चिएर नदीमा खस्दा गत वर्ष मात्रै २ यार्सा संकलकको ज्यान गएको थियो । २०७५ सालमा एकै घरका तीन जना किशोरको ज्यान गएको थियो ।

‘लेकाली क्षेत्रमा साँघु बनाउन भनेजस्तो काठ पनि पाइँदैन । कहिलेकाहीँ त काठ नपाएका कारण साँघु बनाउन नसकेर १/२ दिन ओढारमै बस्नुपर्ने हुन्छ,’ लामाले भने ।

यहाँका विभिन्न नदी र खोलाहरूमा कम्तीमा ७ वटा पुलको आवश्यकता रहेको र यसका लागि विभिन्न ठाउँ धाए पनि सुनुवाइ नभएको गाउँपालिका अध्यक्ष राजेन्द्र धामीले बताए । ढुवानीका कारण एउटा झोलुंगे पुलको लागत एक करोडभन्दा बढी पर्ने भएकाले गाउँपालिकाको बजेटबाट सम्भव नभएको उनको भनाइ छ ।

प्रकाशित : श्रावण २८, २०७७ ११:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?