२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

जलमग्न धनगढी उप–महानगर [तस्बिरहरु]

जिल्लाको पूर्वाेत्तर क्षेत्रमा पुन: डुबानको सम्भावना 
मोहन बुढाऐर

धनगढी — आइतबारदेखिको अविरल वर्षाले धनगढी उप–महानगर जलमग्न भएको छ । जिल्लाको पूर्वाेत्तर क्षेत्रका स्थानीय नदीमा पानीको सतह बढेर पुन: डुबानको जोखिममा परेका छन् । 

जलमग्न धनगढी उप–महानगर [तस्बिरहरु]

धनगढी उप–महानगरको वडा नम्बर–४ को बसपार्क, उत्तरबेहडी वडा–३ को विशालनगर, चटकपुर, मिलनचोक, वडा नम्बर–७ को मनोहरा, मोतिचोक वडा नम्बर–१२ को मुक्तकमैया बस्ती र वडा–५ को हसनपुर, शिवनगर लगायतका क्षेत्रका सयौंको घरभित्र पानी पसेको छ । मुक्त कमैया बस्तीमा घरभित्र पसेको पानीले खाद्यान्न तथा लत्ता कपडा भिजाएको बताएका छन् । दोस्रो तल्ला नभएका केही परिवार आफन्तको घरमासमेत सर्न बाध्य भएका छन् ।

धनगढीको सहरी क्षेत्रका खोलानालाको अतिक्रमण र ढलको राम्रो व्यवस्था गर्न नसक्दा धनगढी उप–महानगरपालिका जलमग्न हुने गरेको छ । निरन्तर वर्षाले कैलालीको पूर्वाेत्तर क्षेत्रका स्थानीय तहमा पानीको बहाव बढेको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक जनकबहादुर धामीले बताए ।

कैलालीको भजनी, जोशीपुर, जानकीनगर टिकापुरलगायत जिल्लाको पूर्वाेत्तर क्षेत्रका ६ घर यसअघि साउन १५ गते आएको बाढीले डुबानमा परेका थिए । उनीहरु बाढीबाट जोगिन हुलाकी सडकमा आएका थिए । करिब एक सातापछि उनीहरु घर फर्कन सुुरु गरेका थिए । भजनीका २ सय ५० परिवार अझै पनि घर फर्कन सकेका छैनन् ।

‘फेरि परेको वर्षाले बाढी आउने डरले त्रसित छौं,’ स्थानीय गंगा चौधरीले भने,‘ नदी किनाराका बस्तीका परिवार सुरक्षित स्थानतर्फ सर्न लागेका छन् ।’ उनले चुरेमा परेको पानीले स्थानीय नदीमा ठूलो बाढी आउने भएकाले जुनसुकै बेला पनि बाढी लाग्न सक्ने बताए । उनका अनुसार कैलालीको पूर्वी क्षेत्रमा स्थानीय मोहना, कान्ध्रा, काडा र पथरिया नदीमा आउने बाढीले बस्ती डुबानमा पर्ने गरेका छन् ।

जल तथा मौसम विज्ञान विभागको अत्तरिया कैलालीको कार्यालयले सोमबार बिहानसम्ममा ५४.३ मिलिमिटर वर्षा भएको जनाएको छ । यसअघि साउन १५ मा सबैभन्दा बढी १९८.३ मिलिमिटर वर्षा भएको थियो । कैलालीको पूर्वाेत्तर क्षेत्रका ६ हजार घर डुबानमा परेका थिए ।

जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले स्थानीय तहमा पानीको बहाव बढेकाले असर पार्ने क्षेत्रका बासिन्दा र स्थानीय तहका प्रमुखहरुलाई सर्तक रहन खबर पठाएको बताए । ‘कुनै ठाउँमा आपतकालिन उद्धारको आवश्यकता परे तुरुन्त खबर गर्न समेत भनेका छौं,’ उनले भने, ‘उद्धार र राहातका लागि पूर्व तयारी गरेका छौं ।’

प्रकाशित : श्रावण २६, २०७७ १६:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?