बझाङ — बझाङको केदारस्युँ गाउँपालिकामा क्वारेन्टाइनबाट घर फर्केका थप २४ जनामा कोरोना संक्रमण देखिएको छ । यसअघि ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो ।
बुधबार र बिहीबार देखिएका नयाँ संक्रमितहरु समुदायमा घुलमिल भइसकेकाहरु छन् । संक्रमितहरु घर गएर परिवार र समुदायका मानिसहरुको सम्पर्कमा गएको देखिएपछि उनीहरुको सम्पर्कमा आएका ३ सय ५० जनाको थ्रोट स्वाब संकलन गरिएको छ । उनीहरुको सम्पर्कमा आएका अरु मानिसहरु पत्ता लगाउने काम भइरहेको गाउँपालिकाले जनाएको छ ।
‘अहिले देखिएका सबै संक्रमितहरु भारतबाट आएका मानिस हुन्’, गाउँपालिका प्रवक्ता लोकेश भण्डारीले भने, ‘उनीहरु क्वारेन्टाइनमा पूरा अवधि नबसेर गाउँघरमा घुलमिल भएका कारण समुदायमा पनि संक्रमण सरेको हुन सक्छ । स्वास्थ्यकर्मीको टोलीले संक्रमितको सम्पर्कमा आएकाहरु पत्ता लगाउने र परीक्षण गर्ने काम गरिरहेको छ ।’
समुदायमा घुलमिल भइसकेकाहरुमा संक्रमण देखिएपछि गाउँपालिकाका वडा नं ६ र ७ मा जिल्ला प्रशासन कार्यालयले साउन १९ देखि ३२ गते सम्मका लागि निषेधाज्ञा जारी गरेको छ ।
प्रकाशित : श्रावण २३, २०७७ १६:०२