कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

गाउँपालिकाका अध्यक्षद्वारा वृद्धमाथि दुर्व्यवहार

वसन्तप्रताप सिंह

बझाङ — मष्टा गाउँपालिकाका अध्यक्ष कर्णबहादुर कठायतले एक जना वृद्धलाई अपशब्द बोल्दै दुर्व्यवहार गरेका छन् । उनले ती वृृद्धलाई दुर्व्यवहार गरेको भिडियो सामाजिक सञ्जालमा भाइरल भएको छ । भिडियोमा अध्यक्ष कठायतले सोही गाउँपालिकाको नौरा गाउँका ७७ वर्षीय पिरु रोकायालाई गाली गलौज गर्दै हातपात गर्न खोजेको देखिन्छ ।

गाउँपालिकाका अध्यक्षद्वारा वृद्धमाथि दुर्व्यवहार

तीन मिनेट २० सेकेन्डको उक्त भिडियोमा निकै आक्रोशमा देखिएका अध्यक्ष कठायतले ती वृद्धलाई धम्की समेत दिएका छन् । अध्यक्ष कठायतले पटकपटक आफू गाउँपालिकाको अध्यक्ष भएको भन्दै वृद्धलाई अपशब्द प्रयोग गरेको भिडियोमा देखिन्छ ।

शनिबार साँझबाट सामाजिक सञ्जालमा भाइरल हुन थालेको उक्त भिडियोमा भएको घटना साउन ११ गतेको भएको वृद्ध पिरु रोकायाले कान्तिपुरलाई बताएका छन् । ‘हामी तीनचार जना बुढाबुढी अध्यक्षकै गाउँ नजिकैको सार्वजनिक ठाउँमा बसेर गफ गर्दै थियौं । एक्कासी ऊ रक्सीले मात्तिएर आयो,’ रोकायाले भने, ‘उसले सोझै मेरो नाम लिएर देउपाटो भन्ने ठाउँको जग्गा तेरो बाउको हो भन्दै गाली गर्न थाल्यो । मैले मेरो बाउको नभए तेरो बाउको हो ? मात्र के भनेको थिए । गाली गर्दै झम्टिन आयो । त्यही भएका अन्य युवाले नरोकेको भए मलाई कुट्ने थियो ।’

उनले अध्यक्ष कठायतले देउपाटा भन्ने ठाउँमा आफ्नो बाजेको पालादेखि दर्ता रहेको जग्गाको विषयलाई निहुँ बनाएर आफूलाई कुट्न खोजेको बताए । केही महिनाअघि आफ्नो गाउँ नौरामा गाउँ नै जोखिममा पार्ने गरी गाउँपालिकाले निर्माण गर्न लागेको सडकको आफूले विरोध गरेको र सोही रिसले अध्यक्षले आफूमाथि दुर्व्यवहार गरेको आरोप रोकायाको छ ।

यता गाउँपालिकाका अध्यक्ष कर्ण कठायतले भने तत्कालीन मुखिया समेत रहेका रोकायाले सार्वजनिक जग्गा आफ्नो नाममा दर्ता गरेको र त्यहाँ खेलकुद मैदान निर्माण गर्ने काममा अवरोध गरेकाले आफूले आक्रोशमा आएर वृद्धसँग झगडा गरेको बताए । उनले भने, ‘सार्वजनिक जग्गा कब्जा गरेर विकास निर्माणको कामलाई अवरोध गरेकाले गाली गरेको हुँ । मबाट कुनै गल्ती भएको भए माफी माग्न तयार छु ।’

यसैबीच सामाजिक सञ्जालमा भाइरल भएको यो भिडियोलाई लक्षित गर्दै अध्यक्ष कठायत, नेकपा र अहिलेका जनप्रतिनिधिहरु प्रति आक्रोशपूर्ण टिप्पणीहरु आउन थालेपछि नेकपा बझाङले यस विषयमा विज्ञप्ती जारी गरेको छ । नेकपा जिल्ला कमिटी बझाङका अध्यक्ष मिनबहादुर कुँवर र सचिव दमन भण्डारीले जारी गरेको विज्ञप्तीमा अध्यक्ष कठायतलाई यस विषयमा ७ दिनभित्र पार्टीमा स्पष्टिकरण पेश गर्न भनिएको छ ।

भाइरल भिडियोले पार्टीको गम्भीर ध्यानार्कषण भएको भन्दै यसको बारेमा पार्टीले छानबिन गर्ने र भदौ ३ गते बस्ने सचिवालय बैठकले आवश्यक कारबाही गर्ने उल्लेख गरिएको छ । विज्ञप्तीमा भिडियोको विषयलाई लिएर थप घटना नघटाउन र थप अतिरञ्जित नगर्न पनि सार्वजनिक अपिल गरिएको छ ।

प्रकाशित : श्रावण १८, २०७७ १५:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?