२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

बझाङमा फैलिँदै संक्रमण : क्वारेन्टाइनबाट घर पठाइएका ६६ जनामा कोरोना

केदारस्यूँ गाउँपालिकामा लकडाउन, दुई वटा वडा सिल गर्ने निर्णय 
वसन्तप्रताप सिंह

बझाङ — बझाङको केदारस्यूँ गाउँपालिकाको क्वारेन्टाइनबाट घर पठाइएका ६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । शुक्रबार २५ जना र शनिबार ४१ जना गरी ६६ जनामा संक्रमण पुष्टि भएको हो । संक्रमितहरु वडा नम्बर ६ र ७ का बासिन्दा भएको र उनीहरु सबै भारतबाट नेपाल फर्किएको गाउँपालिकाले जनाएको छ । 

बझाङमा फैलिँदै संक्रमण : क्वारेन्टाइनबाट घर पठाइएका ६६ जनामा कोरोना

संक्रमितहरु थापागाउँ, भाटसैन, भामचौर, काँडाचौर र जसुडालगायतका गाउँका स्थानीय हुन । उनीहरु ८ देखि १२ दिन गाउँपालिकाले व्यवस्थापन गरेको क्वारेन्टाइनमा बसेपछि होम क्वारेन्टाइनमा बस्न भनेर गाउँपालिकाले नै घर पठाएको थियो । यद्यपि घर गएका संक्रमितहरु होमक्वारेन्टाइनमा बस्ता पालना गर्नु पर्ने नियमहरु बेवास्ता गर्दै सामान्य मानिसझैं समुदायमा घुलमिल भइसकेको स्थानीयले बताएका छन ।

एकै पटक ठूलो संख्यामा संक्रमितहरु भेटिएपछि गाउँपालिकाले वडा नम्बर ६ र ७ लाई पूर्ण रुपमा सिल गर्ने निर्णय गरेको छ । शनिबार बसेको गाउँकार्यपालिकाको बैठकले गाउँपालिकामा पुन: लकडाउन गर्ने निर्णयसमेत गरेको छ । गाउँपालिकाले वडा नम्बर ६ मा संक्रमण पुष्टि भएकाहरुलाई भाट्सैनमा रहेका चन्द्रोदय माध्यमिक विद्यालय र वडा नम्बर ७ काहरुलाई कैलाश भवानी माध्यमिक विद्यालयको आइसोलेसनमा राख्ने निर्णय गरेको छ ।

‘संक्रमितहरु भेटिएको वडालाई सिल गर्न सुरक्षाकर्मीहरु परिचालन गरिसकेका छौं,’ वडा अध्यक्षसमेत रहेका गाउँपालिका प्रवक्ता लोकेश भण्डारीले भने ‘अवस्था सामान्य नहुन्जलसम्म गाउँपालिकाभरि लकडाउन गर्ने निर्णय भएको छ ।’ गाउँपालिकाभरि खाद्यान्न तथा दैनिक उपभोग्य बस्तुका पसलहरु बिहान ७ देखि १० बजेसम्म मात्रै खोल्न दिइने र एक वडाबाट अर्काे वडामा जानु पर्दा वडाध्यक्षको सिफारिस अनिवार्य हुनु पर्ने निर्णय गरिएको बताए ।

संक्रमितहरु समुदायमा घुलमिल भइसकेको हुनाले उनीहरुको कन्ट्याक्ट ट्रेसिङ गर्नलाई लागि स्वास्थ्यकर्मीहरु परिचालन गरिएको र संक्रमितहरुको सम्पर्कमा आएकाहरुको पीसीआर परिक्षण गर्ने तयारी भइरहेको गाउँपालिका अध्यक्ष इन्द्र भण्डारीले बताए । परीक्षण गर्नका लागि २ सय थान भीटीएम किट गाउँपालिकामै मौजुद रहेको र अपुग किटका लागि स्वास्थ्य कार्यालयसँग समन्वय गरिरहेको अध्यक्ष भण्डारीले बताए ।


प्रकाशित : श्रावण १७, २०७७ १५:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?