३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

बझाङको खप्तडछान्‍नामा दुई गाउँका बासिन्दाबीच झडप, जनप्रतिनिधि र प्रहरी घाइते

वसन्तप्रताप सिंह

बझाङ — खप्तडछान्‍ना गाउँपालिकामा दुई गाउँका गाउँलेबीच झडप हुँदा दुई जना घाइते भएका छन् । वडा नम्बर ४ को माझीगाउँ र वडा नम्बर ३ को मेलतडी गाउँका बासिन्दाबीच भएको झडपमा वडा नम्बर ३ की वडा सदस्य सुपारी रावल र छान्ना प्रहरी चौकीका इन्चार्ज असई रामबहादुर बम्म घाइते भएका छन् ।

गाउँलेहरुबीच ढुंगामुढा हानाहान हुँदा वडा सदस्य रावलको पिठ्युँ र टाउकोमा तथा असई बम्मको हातमा चोट लागेको प्रहरी चौकी खप्तडछान्नाले जानकारी दिएको छ । घाइते दुवै जनाको मेल्तडी स्वास्थ्य चौकीमा उपचार भइरहेको छ ।

मेल्तडी गाउँका धिरज रोकाया र माझीगाउँका आँचल रोकायाको परिवारको घरायसी विवादका कारण झडप भएको प्रहरीले जनाएको छ । दुवै पक्षले सामाजिक सञ्जालमा एक अर्कालाई लक्षित गालीगलौज गर्न थालेपछि यो मनमुटावले झडपको रुप लिएको खप्तडछान्ना प्रहरी चौकीका इन्चार्ज रामबहादुर बम्मले बताए ।

मंगलबार दिउँसो माझीगाउँका बासिन्दा खानेपानी योजनाको काम गर्न मेल्तडी गएका बेला धिरज रोकायाको उक्साहटमा लागेका मेल्तडीका स्थानीयले ढुंगामुढा प्रहार गरेपछि दुवै पक्षबीच झडप भएको थियो ।

तनाव बढ्दै गएपछि स्थितीलाई नियन्त्रणमा लिन जिल्लाबाट थप प्रहरी बल त्यहाँ परिचालन गरिएको र दुई जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय बझाङका डीएसपी गणेश बमले बताए ।

प्रकाशित : श्रावण ६, २०७७ १५:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?