नाराबाजीका बीच सुदूरपश्चिमको बजेट पारित

अर्जुन शाह

धनगढी — प्रतिपक्षी दलका सांसदहरुको नाराबाजीका बीच सुदूरपश्चिम प्रदेश सरकारले आगामी आर्थिक २०७७/०७८ को बजेट पारित गरेको छ । प्रतिपक्षी दलहरु नेपाली कांग्रेस र राजपाका सांसदहरु सुरुदेखि नै बजेटमाथिको छलफलमा सहभागी भएनन् । उनीहरु प्रदेशसभा बैठकमा नाराबाजीसहित विरोधमा उत्रेका थिए ।

सुदूरपश्चिम प्रदेशसभा बैठकमा विरोध गर्दै प्रतिपक्षी दलका सांसदहरु । तस्बिरः अर्जुन शाह/कान्तिपुर  

नाराबाजीकैबीच आर्थिक मामिला तथा योजनामन्त्री झपटबहादुर बोहराले प्रस्तुत गरेको ०७७/०७८ को राजश्व र व्ययको अनुमान बजेट र ०७७/०७८ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्ने सम्बन्धी विधेयकसमेत सामान्य छलफलपछि पारित भएको हो । प्रतिपक्षी दलहरुले सरकारद्वारा कोरोना रोकथाम र नियन्त्रणमा ठोस कार्य गर्न नसकेको भन्दै सुरुदेखि नै अवरोध जारी राखेका थिए । विरोध नरोकिएपछि सरकारले बजेटमाथिको सामान्य छलफल तथा प्रकृया मात्र पुरा गरेर बजेट पारित गरेको हो ।

प्रकृया पुरा गर्नका लागि बुधबार एकै दिन तीन वटा बैठक सञ्चालन गरिएका थिए । तीनवटै बैठकमा प्रतिपक्षी सांसदहरुले अघिल्ला दिन झै नाराबाजी गरेका थिए ।

प्रमुख प्रतिपक्षी दलका सांसदहरुले भने सरकारले दुई तिहाइको दम्भले पेलेरै बजेट पारित गराएको प्रतिक्रिया दिए । नेपाली कांग्रेसका सांसद कर्ण मल्लले बहुमतको दम्भमा सरकारले अधिनायकवादी व्यवहार गरेको बताए । ‘अहिले देश कोरोनाबाट प्रभावित रहेको असामान्य अवस्थामा प्रदेश सरकारले एकलौटी रुपमा बजेट पारित गरेर जनताका कुरा सुन्‍न नचाहेको देखियो,’ सांसद मल्लले भने, ‘सरकारले आफ्न कमी कमजोरी ढाकछोप गर्ने प्रयास स्वरुप यसो गरेको हो ।’ राजपा सांसद कृष्ण चौधरीले बहुमतको दम्भमा बजेट पारित गरिएको बताए ।

‘सरकारले प्रतिपक्षीका मागहरुमा सार्वभौम संसदमा आफ्ना धारणा र प्रतिबद्धता प्रस्तुत गर्ने हो । उहाँहरुले भनेजस्तो बन्द कोठाभित्र हामीले गोप्य रुपमा लिखित सम्झौता गर्न नचाहेकै हो,’ आर्थिक मामिला तथा योजना मन्त्री बोहोराले भने, ‘यथास्थितीमा बसिरहेर बजेट बन्धक राख्‍ने कुरा सम्भव थिएन । त्यसैले प्रक्रिया पुरा गरेर प्रदेशसभाबाट पारित भएको छ ।’

बुधबारकै दोस्रो बैठकमा आर्थिक मामिला मन्त्रीले राखेका प्रस्तावमा भएको बेग्लाबेग्लै छलफलमा सत्तारुढ दलका सांसदहरु दुर्गाकुमारी कामी र महेशदत्त जोशीले मात्रै आफ्ना धारणा राखेका थिए ।

प्रकाशित : असार २४, २०७७ १६:५२
प्रतिक्रिया
पठाउनुहोस्

उपत्यकामा २३ सहित थप २५५ जनामा कोरोना पुष्टि, संक्रमितको संख्या १६ हजार ४२३ पुग्यो

कान्तिपुर संवाददाता

काठमाडौँ — काठमाडौं उपत्यकामा २३ सहित २५५ जनामा कोरोना भाइरस पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले बुधबार आयोजना गरेको पत्रकार सम्मेलनमा गएको २४ घन्टामा काठमाडौंमा १६ र ललितपुरमा ७ सहित २५५ जना नयाँ संक्रमित फेला परेको जानकारी दिइएको हो ।

मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले पछिल्लो विवरणअनुसार नेपालमा संक्रमितको संख्या १६ हजार ४२३ पुगेको छ ।

संक्रमित हुनेमा झापाका ७, तेह्रथुमका १, सुनसरीका २, इलामका २, मोरङका ३, सिरहाका २, सप्तरीका ४, बारा १, अछामका १७, बैतडीका २, बझाङका ४, दार्चुलाका १, डोटीका १२, गोरखा २, कैलालीका १९, कञ्चनपुरका १२, काठमाडौंका १६, सर्लाहीका २, चितवनका ५, नवलपरासी पूर्वका २, रौटहटका ३२ छन् ।

यसैगरी दाङका ५, धादिङका १, दोलखाका , झापाका १, कास्कीका १, काभ्रेपलान्चोकका २, ललितपुरका ७, लमजुङ १, नवलपरासी पूर्वका १, पर्सा १, रामेछापका २, रौटहटका १, सर्लाहीका १ , सिन्धुपाल्चोकका १ सुनसरीका १, मोरङका १, म्याग्दीका १, कास्कीका १३, गुल्मीका ३, पाल्पाका ५, प्युठानका १, बाँकेका २, कालिकोटका १, रुकुम पश्चिमका ३, रुकमा पश्चिमका ४, जाजरकोटका १, दैलेखका ५, मुगुका २, सुर्खेतका १४, डडेलधुराका २, अछामका ५ , कैलालीका १७ जना छन् ।

प्रवक्ता गौतमका अनुसार गत २४ घन्टामा २५३ जना कोरोना निको भएर घर फर्किएका छन् । यो सँगै नेपालमा कोरोना निको भएर डिस्चार्ज हुनेको संख्या ७ हजार ७५२ पुगेको छ ।

प्रकाशित : असार २४, २०७७ १६:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×