दार्चुलाको खलंगा र जौलजिवी नाका ३ दिनका लागि खुला

मनोज बडू

दार्चुला — भारतको पिथौरागढ जिल्लासित सीमा जोडिएका दार्चुलाको जौलजिवी र सदरमुकामको खलंगा झोलुंगे पुल बुधबारबाट खुलेका छन् । भारतमा पेन्सन बुझ्ने नेपाली र दुवैतर्फ अलपत्र परेकालाई आवतजावत गर्न दिनेगरी तीन दिनका लागि झोलुंगे पुल खोलिएको हो ।

दार्चुलाको खलंगा र जौलजिवी नाका ३ दिनका लागि खुला

लकडाउनका कारण गत चैत ११ गतेदेखि नेपाल–भारत जोड्ने सीमानाका बन्द हुँदा भारतीय भूतपूर्व सैनिकहरुले पेन्सन बुझ्न सकिरहेका थिएनन् । लामो समयदेखि अन्तर्राष्ट्रिय नाका बन्द हुँदा भारतीय पेन्सनरहरुलाई धेरै समस्या भएकाले नाका खोलिएको जिल्ला प्रशासनले जनाएको छ ।

जिल्ला प्रशासनले जारी गरेको सूचनामा बिहान ९ बजेबाट दिउँसो १ बजेसम्म र दिउसो ३ देखि बेलुका ६ बजेसम्म पुल खुला रहने जनाए पनि खलंगाको झोलुंगे पुल बिहान ११ बजेदेखि १२ बजेसम्म मात्रै खुला गरिएको थियो । अब फेरि ३ बजे नाका खुला गरिने जिल्ला प्रशासनका नायब सुब्बा पदमराज भट्टले बताए ।

त्यस्तै मालिकार्जुन गाउँपालिका ७ जौलजिवीस्थित नेपाल–भारत जोड्ने झोलुंगे पुल पनि खुला गरिएको छ । जिल्लाका अन्य स्थानीय तहभन्दा मालिकार्जुन र लेकम गाउपाँलिकामा भारतीय भूपू सैनिक बढी रहेका छन् ।

त्यस्तै सीमामा अलपत्र परेका मानिसहरुलाई नेपाल आउन चाहने र भारत जान चाहनेहरुलाई पनि दुवैतिरका प्रशासनको समन्वयमा नाका खोलिएको हो । जिल्ला प्रशासन कार्यालय दार्चुलाले भारतको पिथौरागढ प्रशासनलाई पत्राचार गरेर तीन दिनलाई पुल खुला गर्न आग्रह गरेको थियो । जिल्लाका केही स्थानीय तहले जिल्ला प्रशासनलाई भारतीय पक्षसँग आग्रह गर्न पत्राचार गरेका थिए ।

सम्बन्धित समाचार

प्रकाशित : असार २४, २०७७ १३:४७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?