कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्रतिपक्षीको नाराबाजीका बीच बजेटमाथिको छलफल सुरु

अर्जुन शाह

धनगढी — प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र राजपाको विरोध र नाराबाजीका बीच सुदूरपश्चिम प्रदेशसभामा मंगलबारदेखि आगामी वर्षका लागि सरकारले पेश गरेको बजेटमाथिको छलफल सुरु भएको छ ।

प्रतिपक्षीको नाराबाजीका बीच बजेटमाथिको छलफल सुरु

प्रतिपक्षी दलहरुले कोभिड–१९ भाइरसको संक्रमण रोकथाम तथा नियन्त्रणका लागि सरकारले ठोस योजना नल्याएसम्म बैठक चल्न नदिने भन्दै यस अगाडीदेखि नै अवरोध गर्दै आएका छन् ।

सभामुख अर्जुनबहादुर थापाले मंगलबारको बैठक सुरु गर्नासाथ प्रतिपक्षी दलका सांसदहरुले रोष्टम अगाडी पुगेर नाराबाजी सुरु गरेका थिए । तर प्रतिपक्षी दलका सांसदहरुको नाराबाजीकैबीच सभामुख थापाले बजेटमाथिको छलफल सुरु गराउँदै सत्तारुढ दलका सांसद हर्कबहादुर कुँवरलाई मन्तव्य राख्‍न अनुमति दिएका थिए ।

सांसद कुँवरले मन्तव्यका क्रममा बजेट सान्दर्भिक रहेकाले बजेट पारित हुनुपर्ने बताउँदै आफ्नो संक्षिप्त मन्तव्य अन्त्य गरेका थिए । यतिञ्जेलसम्म नाराबाजी चलिरहेकै थियो । सत्तारुढ दलका केही सांसदहरु भने प्रतिपक्षी दलहरुले विरोध गर्न पाउने भएपनि सभामुखतर्फ पिठ्यु फर्काएर नाराबाजी गर्न नपाइने भन्दै नियमापत्ति गरिरहेका थिए । सांसद कुँवरले बोलिसकेपछि सभामुख थापाले बुधबारसम्मका लागि बैठक स्थगित गरेका छन् ।

समर्थन रहेको ‘सरकारले वार्तामा बोलाइसकेपछि समझदारी भएर मात्रै संसद सञ्चालन गर्नुपर्नेमा सरकारप्रति नकारात्मक टिप्पणी आउने डरले पेलेरै अगाडी बढ्ने नीति लिएको छ,’ प्रमुख प्रतिपक्षी दल कांग्रेस सांसद कर्णबहादुर मल्लले भने, ‘बजेट कोरोनामैत्री बनाउनुपर्ने, आर्थिक अनियमितताका सवालहरुमा संसदीय समिति बनाउनुपर्ने हाम्रा मागहरु हुन् ।’

यसअघि दुई दिनअघिको बैठकमा पनि उनीहरुको नाराबाजी र विरोधकाबीच बजेटमाथिको छलफलको प्रस्ताव पारित गराइएको थियो ।

आगामी आर्थिक वर्ष ०७७/०७८ को बजेट प्रस्तुत भइसकेपछि असार १० गतेखि त्यसमाथिको छलफलको कार्यसूची थियो । तर अचानक प्रतिपक्षी दलका सांसदहरुले उक्त दिन बैठक सञ्‍चालन हुन नदिने भन्दै अवरोध गरेका थिए । प्रतिपक्षी दलहरुले पीसीआर चेकजाँचको दायरा बढाउनुपर्ने, क्‍वारेन्टाइनमा बसेकाहरूलाई कोरोना परीक्षण नै नगरी घर पठाउने काम रोक्नुपर्ने, क्‍वारेन्टाइन तथा आइसोलेसनको उचित व्यवस्थापन तथा कोरोना रोकथाम तथा नियन्त्रणका लागि प्रभावकारी पहल गर्नुपर्ने लगायतका मागहरु राख्दै आएका छन् ।

त्यसयता सरकार र प्रतिपक्ष दलहरुबीच विभिन्‍न चरणमा वार्ता र छलफल भएपनि समझदारी भने हुन सकेको छैन । दुवै पक्षका आ-आफ्नै दाबी र बुझाइका कारण उनीहरुबीच सहमति नभएको हो । बजेटमाथिको छलफल सुरु हुने महत्वपूर्ण समयमा प्रतिपक्षी दलले कोभिड-१९ को बहाना झिकेर योजनामा बार्गेनिङ गरिरहेको सरकारको दाबी गर्दै आएको छ ।

आर्थिक मामिला तथा योजना मन्त्री झपटबहादुर बोहराको भनाइमा प्रतिपक्षी दलका सांसदहरुले माग पुरा गर्ने प्रतिबद्धतालाई लिखित गर्न माग गरिरहेको र सरकारले लिखित गर्न नसक्ने बताए ।

प्रकाशित : असार २३, २०७७ १७:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?