१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७०

बझाङमा एउटै प्राविधिकले हेर्छन् ८० योजना

पर्याप्त जनशक्ति नभएकै कारण फोटो हेरेर भुक्तानी दिनुपर्ने बाध्यता रहेको प्राविधिकहरू सुनाउँछन्
वसन्तप्रताप सिंह

बझाङ — बझाङको जयपृथ्वी नगरपालिकाले चालू वर्षका लागि झन्डै २ सय ५० वटा पूर्वाधार विकासका योजनामा रकम विनियोजन गरेको छ । त्यसबाहेक संघीय सरकार र प्रदेश सरकारबाट प्राप्त विभिन्न अनुदानका ५० भन्दा बढी योजना पनि छन् ।

बझाङमा एउटै प्राविधिकले हेर्छन् ८० योजना

यस्तै संघ र प्रदेश सांसदहरूले बाँड्ने पूर्वाधार विकासका योजना पनि जोड्ने हो भने योजनाको संख्या तीन सय नाघ्छ । यी सबै योजनाको सम्भाव्यता अध्ययन, लागत अनुमान तथा डिजाइन इस्टिमेट र अनुगमनको काम नगरपालिकाका चार प्राविधिकले गरिरहेका छन् । जयपृथ्वी नगरपालिकामा हाल एक इन्जिनियर, एक ओभरसियर र दुई सब–ओभरसियर मात्रै छन् ।

अधिकांश विकास निर्माणका काम असार महिनामै हुने भएकाले चार प्राविधिकले रात दिन काम गर्नुपरिरहेको उनीहरू बताउँछन् । ‘अहिले त रात–दिन काम गर्दा पनि भ्याउन मुस्किल परेको छ,’ इन्जिनियर लालबहादुर थापा भन्छन्, ‘कामको चाङ यति ठूलो छ कि कसैसँग बोल्ने र खाना खाने फुर्सद पनि छैन ।’

प्राविधिकहरूलाई कामको चाप बढेसँगै योजनाहरूको गुणस्तर खस्किएको उनको भनाइ छ । ‘कम्तीमा ६/७ पटक अनुगमन/निरीक्षण गर्नुपर्ने योजनामा एकपटक मात्रै पुगेर भुक्तानी दिनुपर्ने अवस्था छ । एक दिनमा धेरै योजनाको अनुगमन गर्नुपर्दा गुणस्तर त कमजोर हुने नै भयो,’ उनले भने ।

जिल्लाका प्रायजसो पालिकाहरूको हालत यस्तै छ । कतिपयमा त एकपटक पनि नहेरी योजनाको भुक्तानी दिनुपरिरहेको स्वयं प्राविधिकहरू बताउँछन् । ‘टेक्निकल स्टाफ कम छौं । योजनाहरू निकै टाढाटाढा भएकाले सबैतिर जान सम्भव नै छैन,’ बुंगल नगरपालिकाका इन्जिनियर डम्बर धामी भन्छन्, ‘त्यसैले जनप्रतिनिधिहरूको सिफारिस लिएर फोटो हेरेर पनि भुक्तानी दिनुपर्ने बाध्यता छ ।’ जनसंख्या र क्षेत्रफलमा जिल्लाकै ठूलो नगरपालिकाका रूपमा रहेको बुंगलमा चालू वर्ष नगरपालिका, संघ र प्रदेश सरकारका गरी ७ सयभन्दा बढी पूर्वाधारका योजना रहेको उनले बताए । यी सबै योजनाको प्राविधिक काम ११ जनाले गरिरहेको धामीले जानकारी दिए ।

जिल्लाका १२ वटै पालिकामा पर्याप्त प्राविधिक नहुँदा योजनाको गुणस्तर मात्रै घटेको छैन, समयमै काम सम्पन्न गर्न पनि समस्या हुने गरेको छ । ‘तीन जना मात्रै प्राविधिकले डिजाइन इस्टिमेट बनाउने, एमबी उठाउने काम गर्ने कि फिल्डमा हेर्ने ?,’ बित्थडचिर गाउँपालिकाका अध्यक्ष प्रेमबहादुर बोहरा भन्छन् । उक्त गाउँपालिकामा इन्जिनियरसहित ११ प्राविधिकको दरबन्दी रहेकोमा हाल तीन ओभरसियरले १ सय ५० भन्दा बढी योजनाको काम गरिरहेको ओभरसियर गणेश उपाध्यायले बताए ।

पूर्वाधार विकास कार्यालय बैतडीका प्रमुख इन्जिनियर जगतप्रसाद जोशी सुदूरपश्चिमका सबैजसो स्थानीय तहमा यस्तै खालका समस्या देखिएको जनाउँदै विकासका लागि भन्दा बजेट सकाउन काम भइरहेको बताउँछन् । ‘अति नै सानो योजना भए पनि प्राविधिकले कम्तीमा तीन दिन समय दिनु अनिवार्य हुन्छ’ जोशीले भने, ‘यहाँ त ठूलाठूला योजनाको पनि स्थलगत अनुगमन नै नगरी भुक्तानी दिने गरिएको छ ।’

प्रकाशित : असार १९, २०७७ १२:३१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?