कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

डडेलधुरामा सुरु भयो कोरोना परीक्षण

डीआर पन्त

डडेलधुरा — सुदूरपश्चिम प्रदेशमा धनगढी बाहिर पनि कोभिड-१९ परीक्षण सुरु गरिएको छ । नागरिक स्तरबाट चन्दा संकलन गरेर डडेलधुरा अस्पतालमा ल्याइएको पीसीआर मेसिनबाट बिहीबारदेखि स्वाब परीक्षण गर्न थालिएको हो ।

डडेलधुरामा सुरु भयो कोरोना परीक्षण

हृयुमनिटी फाउन्डेशन र सुदूरपश्चिम अमेरिकी समाजको सहयोगमा डडेलधुरा अस्पतालमा पीसीआर मेसिन सञ्‍चालनमा ल्याइएको हो । ‘पहिलो दिन ९ जनाको स्वाब परीक्षण गरिएको छ,’ डडेलधुरा अस्पतालका प्रयोगशाला प्रमुख ईश्वरी भुसालले भने, ‘परीक्षण गरिएका सबै स्वाब थप पुष्टिका लागि सेती प्रादेशिक अस्पतालमा पठाइने छ ।’ पीसीआर मेसिन स्थापना पछि पहिलो परीक्षण भएका कारण यसको गुणस्तर पुष्टिका लागि धनगढी पठाउन लागिएको उनले जानकारी दिए ।

यसअघि बुधबार राजधानीबाट आएका विशेषज्ञ इन्जिनियर, सेती प्रादेशिक अस्पतालका प्रयोगशाला प्रमुख रमेश शाही र डडेलधुरा अस्पतालका प्रयोगशाला प्रमुख भुसालसहितको प्राविधिक टोलीले पीसीआर मेसिनको गुणस्तर परीक्षण गरेका थिए । धनगढीमा परीक्षण भइसकेका स्वाबको पुनः डडेलधुरामा स्थापना भएको पीसीआर मेसिनमा परीक्षण गरिएको थियो ।

नागरिक स्तरबाट चन्दा उठेको ९६ लाखको लगानीमा डडेलधुरामा उक्त प्रयोगशाला स्थापना गरिएको हो । तीन साता अघि हृयुमनीटी फाउन्डेशनले कैलालीबाट सुरु गरेको उक्त अभियानमा देश विदेशमा रहेका धेरै सुदूरपश्चिमेलीले चन्दा प्रदान गरेका थिए । ‘तीन हप्ताको छोटो अवधिमा डडेलधुरामा पीसीआर मेशिन स्थापना गर्न सफल भएका हौं,’ फाउन्डेशनका सदस्य दीर्घराज उपाध्यायले भने, ‘सुदूरपश्मिका सात पहाडी जिल्लाका जनताका लागि यसले धेरै सहजता प्रदान गर्ने छ ।’

डडेलधुरामा स्थापना भएको कोरोना परीक्षण ल्याबले एक दिनमा ३ सय ८४ जनाको परीक्षण गर्ने क्षमता राख्छ भने एउटा सिफ्टमा ९६ जनाको नमूना परीक्षण हुने प्रयोगशाला प्रमुख ईश्वरी भुसालले जानकारी दिए । बिहीबार परीक्षण गरिएका स्वाबको सेती प्रादेशिक अस्पतालमा पुनः परीक्षण गरेपछि नियमित रुपमा डडेलधुरा अस्पतालमा नमुना परीक्षण हुने पनि उनले जानकारी गराए । ‘बिहीबारदेखि नै नियमित परीक्षण सुरु भइसकेको हो,’ भुसालले भने, ‘सेती प्रादेशिक अस्पतालमा रहेको चाप पनि कम हुने र पहाडी जिल्लामा संकलित नमुना डडेलधुरामा हुन थालेपछि नतिजा पनि छिटो प्राप्त हुने छ ।’

प्रयोगशालाको सञ्‍चालन खर्च भने डडेलधुराका स्थानीय तहले सहयोग गर्ने छन् । दुई हप्ता अघि डडेलधुराका सातवटै स्थानीय तह र जिल्ला समन्वय समितिले ल्याब सञ्चालनका लागि आवश्यक बजेटको व्यवस्थापन गर्ने जिम्मा लिएका थिए ।

प्रकाशित : असार १८, २०७७ १६:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?