बैतडीको क्वारेन्टाइनमा खाना पकाउने व्यक्तिको मृत्यु

तृप्ति शाही

बैतडी — बैतडीमा क्वारेन्टाइनमा बसेकाहरुलाई खाना पकाउने एक जना पुरुषको मृत्यु भएको छ । दशरथचन्द नगरपालिका–४ मा रहेको जगन्नाथ बहुमुखी क्याम्पसको क्वारेन्टाइमा बसेकाहरुलाई खाना पकाउने गरेका दशरथचन्द नगरपालिका ६ कै करिब ५० वर्षीय पुरुषको मृत्यु भएको प्रहरीले जनाएको छ ।

शुक्रबार राति घरमै बिरामी भएका उनको शनिबार बिहान अस्पताल ल्याउँदै गर्दा मृत्यु भएको जानकारी आएको जिल्ला प्रहरी प्रमुख एसपी नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

क्वारेन्टाइनमा खाना पकाउने व्यक्तिको मृत्यु भएकोले कोरोना परीक्षणका लागि स्वाब संकलनको कार्य गर्न ल्याबका कर्मचारीहरु गएका स्वास्थ्य कार्यालयका प्रमुख योगेशप्रसाद भट्टले बताए । स्वाब संकलन गर्ने र शव कसरी व्यवस्थापन गर्ने भन्ने कुराको तयारी भइरहेको उनले जानकारी दिए । ३/४ दिन अघिबाट भने उनले क्वारेन्टाइनमा खाना पकाउन छोडेका बुझिएको छ ।

प्रकाशित : असार १३, २०७७ १२:३२
प्रतिक्रिया
पठाउनुहोस्

बैठकमा उपस्थित भएर निस्किए ओली, स्वास्थ्यका कारण : दाहाल

कान्तिपुर संवाददाता

काठमाडौँ — प्रधानमन्त्री निवास बालुवाटारमा जारी सत्तारुढ नेकपाको स्थायी कमिटी बैठकमा प्रधानमन्त्री तथा पार्टी अध्यक्ष केपी शर्मा ओली केहीबेर मात्र सहभागी भएर बाहिरिएका छन् । शुक्रबारको बैठकमा उनी उपस्थित नभएपछि सदस्यहरुले चर्को आलोचना गरेका थिए । 

शनिबार पनि ओली केहीबेरमा निस्किएपछि अर्का अध्यक्ष दाहालले स्वास्थ्यका कारण उनी पूरै समय बैठकमा बस्न नसकेको प्रष्टीकरण सदस्यहरुलाई दिएका थिए । प्रधानमन्त्री नै उपस्थित हुने भनेर बालुवाटारमा बैठक राख्दा पनि उनी उपस्थित नभएको भन्दै शुक्रबार केही सदस्यले ओलीले पार्टी कमिटीलाई हेपेको बताएका थिए । बैठकको पहिलो दिन अध्यक्षद्वयले सम्बोधन गर्ने दिन भने ओलीले बैठकमा आफ्नो सरकारका उपलब्धिबारे लामो व्याख्या दिएका थिए । उनले सरकारले धेरै राम्रा काम गरे पनि पार्टीले त्यसको प्रचार गर्न नसकेको गुनासो पनि गरेका थिए । उनी बोल्दै गर्दा अर्का नेता माधव नेपालले 'एकोहोरो आफ्नै बखान नगर्न' भन्दै उनलाई बीचैमा रोक्न खोजेका थिए ।

विविध ६ वटा एजेन्डामा सुरु भएको बैठकमा नेपाल भारत सीमा र नागरिकता लगायतका विषयमा छलफल भएका छन् । एमसीसी लगायतका विषयमा भने बैठक प्रवेश गरेको छैन ।

शुक्रबारदेखि सदस्यहरुले बोल्ने क्रम सुरु भएको हो । शनिबार पनि सदस्यहरुले सीमा विवाद लगायतकै विषयमा बोल्ने एक सदस्यले बताए ।

प्रकाशित : असार १३, २०७७ १२:१७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×