२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

सुदूरपश्चिम प्रदेशसभा बैठक दोस्रो दिन पनि अवरुद्ध

अर्जुन शाह

धनगढी — सुदूरपश्चिम प्रदेशसभाको शुक्रबारको बैठक पनि अवरुद्ध भएको छ । 

सुदूरपश्चिम प्रदेशसभा बैठक दोस्रो दिन पनि अवरुद्ध

प्रमुख प्रतिपक्षी कांग्रेस र राजपाका सांसदहरुले बैठक अवरुद्ध गरेपछि बजेटमाथिको छलफलसमेत सुरु हुन सकिरहेको छैन । यसअघि बुधबारको बैठकसमेत अवरुद्ध भएको थियो । प्रतिपक्षी दलहरुले प्रदेश सरकारले कोरोना संक्रमण रोकथामको व्यवस्थापन प्रभावकारी ढंगले गर्न नसकेको, पीसीआर परीक्षण सुस्त भएको तथा कोरोना रोकथाममा भएको खर्चको हिसाबकिताब दिनु पर्ने लगायतका माग गर्दै आएका छन् ।

राजपा सांसद कृष्ण चौधरीले कोरोना परीक्षणका लागि पीसीआर जाँच हुन नसकेको, संक्रमितहरुलाई परीक्षण बिना नै घर पठाइने गरेको, प्रदेश सरकारले कोरोना संक्रमण रोकथाम र उपचारमा गरेको खर्चको हिसाबकिताब दिनुपर्ने र सरकार स्वेच्छाचारी ढंगले अघि बढेकोमा आलोचना गरेका थिए ।

अघिल्लो दिनझैं सभामुख अर्जुनबहादुर थापाले बैठक सुरु गर्नासाथ प्रतिपक्षी दलका सांसदहरु आ–आफ्नो स्थानमा उठेर मौन भएपछि एक सांसदलाई बोल्न अनुमति दिएका थिए । सांसद चौधरीले मन्तव्य राखिसकेपछि सभामुख थापाले सरकारलाई आफ्ना धारणा राख्नका लागि बैठक सञ्चालन हुनुपर्नेमा जोड दिएका थिए । त्यहीअनुसार प्रतिपक्षी सांसदहरुले उठाएका सवालहरुको जवाफ पाउन पनि बैठक सञ्चालन हुनै पर्ने भन्दै सभामुखले बैठक सञ्चालनमा सहयोग गर्न आग्रह गरे । तर प्रतिपक्षी सांसदहरुले मानेनन् ।

प्रतिपक्षी सांसदहरु आशनमा उभिएर मौन भइरहेपछि बुधबारझैं शुक्रबारको बैठक स्थगित भएको हो ।

प्रकाशित : असार १२, २०७७ १८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?