चन्दा उठाएर पीसीआर मेसिन

सरकारले पीसीआर मेसिन थप्न ढिलाइ गरेपछि स्थानीय स्तरबाट चन्दा संकलन गरी मेसिन खरिद गर्न थालिएको छ ।
डीआर पन्त

डडेलधुरा — ह्युमनिटी फाउन्डेसनले चन्दा संकलन गरी डडेलधुरा अस्पताललाई पीसीआर मेसिन हस्तान्तरण गरेको छ । विदेशबाट समेत दाताहरूले रकम उपलब्ध गराएपछि पीसीआर मेसिनलगायत सामग्री खरिद गरिएको हो ।

चन्दा उठाएर पीसीआर मेसिन

धनगढीमा रहेको फाउन्डेसन र सुदूरपश्चिम अमेरिकी समाजले सामाजिक सञ्जालबाट अभियान सुरु गरेका थिए । गत जेठ २ गतेदेखि भारतबाट फर्किरहेका नेपालीलाई सीमामा निःशुल्क खाना खुवाउने अभियान सुरु गरेका धनगढीका व्यवसायी श्याम तायल, पुष्कर ओझा, मानसिंह साउँद, पत्रकार दीर्घराज उपाध्यायलगायतको नेतृत्वमा चन्दा संकलन अभियान सुरु भएको थियो ।

पीसीआर मेसिन र अन्य सामानसहित ९६ लाख लागतमा प्रयोगशाला स्थापना हुने फाउन्डेसनका अध्यक्ष श्याम तायलले बताए । ‘मेसिन मात्र ३५/४० लाखमा आउँदो रहेछ,’ उनले भने, ‘यसमा चाहिने अन्य सामग्रीसहित ९६ लाख खर्च लाग्ने भएको हो ।’ मंगलबार इन्जिनियर र प्राविधिकको टोली आएपछि मेसिन जडान सुरु गरिने डडेलधुरा अस्पताल विकास समितिका अध्यक्ष करुणाकर ओझाले बताए ।

सुदूरपश्चिमको सेती प्रादेशिक प्रयोगशाला धनगढीमा एकमात्र पीसीआर मेसिन छ । त्यहाँ दैनिक २ सयदेखि २ सय ५० स्वाब परीक्षण भइरहेको छ । परीक्षण क्षमता कम हुँदा थन्किएका स्वाब पछिल्लो साता केन्द्रीय प्रयोगशाला टेकुमा पनि पठाइएको छ । प्रदेश सरकारले पीसीआर मेसिन थप्न ढिलाइ गरेपछि स्थानीयको पहलमा चन्दा संकलन गरी मेसिन खरिद गरिएको हो ।

प्रकाशित : असार ८, २०७७ १९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?