१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

सुदूरपश्चिममा संक्रमण झन् तीव्र

मोहन बुढाऐर

धनगढी — सुदूरपश्चिममा कोरोना भाइरस संक्रमणका कारण बुधबार एकै दिन दुई जनाको मृत्यु भयो । दुवैको शव सेनाले व्यवस्थापन गर्‍यो । आफन्त नजिकै जानसम्म पाएनन् । 

सुदूरपश्चिममा संक्रमण झन् तीव्र

कैलालीको गोदावरी नगरपालिकाका बस व्यवसायीको सेती अस्पतालमा उपचारकै क्रममा निधन भएको थियो । उनको शव मोहना नदीको तटमा गाडियो । सेनाको टोलीले शव गाड्दै गर्दा आफन्तजनले टाढै बसेर श्रद्धाञ्जली दिए ।

त्यस्तै कोहलपुर मेडिकल कलेजमा उपचारका क्रममा मृत्यु भएकी लम्कीचुहा नगरपालिकाकी महिलाको शव कोहलपुरमै अन्तिम संस्कार गरियो । त्यहाँ पनि आफन्तजन सहभागी हुन पाएन्न । महिलाको मृत्युपछि भेरी अस्पतालको प्रयोगशालामा स्वाब जाँच्दा कोरोना पुष्टि भएको थियो ।

लम्कीचुहा अस्पतालले उनलाई जेठ ३१ गते रिफर गरेको थियो । ‘उनमा कोरोना पुष्टि भएपछि अस्पताल सिल गरिएको छ,’ लम्कीचुहाका मेयर महादेव बजगाईंले भने, ‘मृतकका पारिवारिक सदस्य र सम्पर्कमा आएका अन्यलाई क्वारेन्टाइनमा राखिएको छ ।’

यसअघि धनगढी उपमहानगरपालिका–४ की अर्की महिलाको पनि मृत्युपछि कोरोना पुष्टि भएको थियो । उनी सेती प्रादेशिक अस्पतालमा डायलसिस गर्न आएकी थिइन् । कैलालीका ३ र बाजुराका एक बालकसहित गरी सुदूरपश्चिममा कोरोनाले ज्यान जानेको संख्या ४ पुगेको छ । संक्रमण दर हरेक दिन बढ्दै छ । बिहीबार मात्र एकै दिन २ सय ३८ जनामा कोरोना पुष्टि भएको छ ।

सेती प्रयोगशालामा चाप बढेपछि संकलन भएको २ हजार ६६ थ्रोट स्बाव नमुना परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला पठाइएको थियो । त्यहाँबाट बिहीबार आएको रिपोर्टमा डडेल्धुरामा ८४, अछाम ४२, बैतडीमा २५, बाजुरामा ४१ र कैलालीमा २१ जनामा संक्रमण पुष्टि भएको छ ।

यसै गरी सेती प्रयोगशालामा बिहीबार भएको परीक्षणमा थप २४ जनामा कोरोना देखिएको छ । सेती अस्पतालका सूचना अधिकारी दिलीपकुमार श्रेष्ठका अनुसार पछिल्लो २४ घण्टामा १ सय ७८ स्बाव नमुना परीक्षण गरिएकोमा कैलालीका ३, अछाममा १ र कञ्चनपुरमा २० जनालाई कोरोना पुष्टि भएको छ । यससँगै सुदूरपश्चिममा संक्रमितको संख्या ६ सय १७ पुगेको छ ।

यहाँ पहिलोपटक चैत १४ गते धनगढी उपमहानगर–६ का एक युवकमा संक्रमण पुष्टि भएको थियो । उनी चैत पहिलो साता यूएईबाट आएका थिए । उनीबाट परिवारकै भाउजू नाता पर्नेमा कोरोना संक्रमण फैलिएको पाइएको थियो । अहिले दुवै जना निको भइसकेका छन् ।


चैतमै कैलालीमा भारत र वीरगन्जबाट आएका गरी पाँच जनामा संक्रमण देखिएको थियो । उनीहरू पनि निको भएपछि संक्रमितको संख्या शून्य पुगेको सुदूरपश्चिममा अहिले फेरि संक्रमण तीव्र भएको हो । पछिल्लो समय भारतबाट भित्रिएकाहरूका कारण प्रदेश संक्रमणको चपेटामा परेको सुदूरपश्चिम स्वास्थ्य निर्देशनालयका निर्देशक डा. गुणराज अवस्थीले बताए ।

‘जेठ महिनामा भारतबाट आएकाहरूमा संक्रमण दर बढी देखियो,’ उनले भने, ‘सुदूरपश्चिममा भित्रिनेको संख्या सोचेभन्दा बढी भयो । उनीहरूको क्वारेन्टाइन व्यवस्थापनमा चुनौती आयो ।’

भारतबाट भित्रिनेहरूलाई सीमानाकाबाट ल्याउने सवारीसाधनका चालक, क्वारेन्टाइन व्यवस्थापनमा खटिनेहरू र उपचारमा परिचालन भएको जनशक्तिमा समेत कोरोनाले आक्रमण सुरु गरेको उनको भनाइ छ ।

अवस्थीले अहिलेसम्म समुदायमा कोरोना फैलिनसकेको दाबी गरे । ‘भयभीत हुनुपर्ने अवस्था यो प्रदेशमा आइसकेको छैन,’ उनले भने, ‘संक्रमितको सम्पर्कमा आएका व्यक्तिमा मात्रै देखिएको छ ।’

तर स्थानीय बासिन्दा आन्तरिक ट्राभल्स हिस्ट्री भएकाहरूबाटै समुदायमा फैलिसकेको आशंका गर्छन् । ‘कोरोना संक्रमणको दर बढ्दै गइरहेका बेला बजार पनि खुलेकाले संक्रमणको जोखिम झन् बढाएको छ,’ धनगढी–५ का सिद्धराज भट्टले भने, ‘सरकार कोरोना नियन्त्रण र रोकथाममा असफल भइसकेको छ ।’ उनले विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार भारत र बाहिरबाट आएकालाई क्वारेन्टाइनमा राखेर परीक्षणको दायरा बढाउन नसकेकाले संक्रमण बढ्दै गएको बताए ।

प्रकाशित : असार ५, २०७७ १०:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?