कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९१

रिपोर्ट नआई धमाधम घर पठाइँदै

मेनुका ढुंगाना

अछाम — अछाममा कोभिड १९ को परीक्षणको दायरा बढाउन सकिएको छैन । मापदण्डअनुसार क्‍वारेन्टाइन अवधि १४ दिन र होम क्‍वारेन्टाइन ७ दिन बस्नु पर्ने भए तापनि अछाममा भने २४ दिनसम्म क्‍वारेन्टाइनमै बस्नु परेको छ । 

रिपोर्ट नआई धमाधम घर पठाइँदै

आरडीटी पोजिटिभ देखिएका, संक्रमितको सम्पर्कमा आएका र कोरोना भाइरसको लक्षण देखिएका व्यक्तिहरुलाई प्रथामिकतामा राखि स्वाब संकलन गरेर धनगढी पठाइएको स्वास्थ्य कार्यालय अछामका सूचना अधिकारी देव जोशीले बताए ।

सुदूरपश्चिम स्वास्थ्य निर्देशनालले एक दिनमा २५० जनाको मात्रै परीक्षण गर्न सक्ने जानकारी दिएपछि पाँच दिनसम्म स्वाब नै संकलन नगरिएको जोशीले बताए । ‘जेठ १८ गते नै स्वाब संकलन गरेर पीसीआर टेस्टको लागि धनगढी पठाएका हौं । तर अहिलेसम्म रिपोर्ट आएको छैन’, उनले भने, ‘सधैंभरी क्‍वारेन्टाइनमा राख्दा उहाँहरुमाथि पनि अन्याय जस्तो हुने भयो । रिपोर्ट नआए पनि उहाँहरुलाई घर पठाइएको छ । कोरोना संक्रमित भएको रिपोर्ट आएमा फेरि घरबाट आइसोलेसनमा ल्याउनु पर्ने हुन्छ ।’

मेल्लेख गाउँपालिकाको विभिन्न वडामा भएका क्‍वारेन्टाइनबाट स्वाब संकलन गरी पठाइएको उनले जानकारी दिए । नमुनाको रुपमा मेल्लेखका ३० जनाको पीसीआर परीक्षणका लागि सुर्खेत पठाउँदा १० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको थियो । ‘संक्रमित अझै बढ्न सक्ने आकलन गरेर स्वाब पठाएका हौं । तर रिपोर्ट आएन । यसले धेरै जोखिम निम्त्याउने देखिन्छ’ उनले भने ।

सूचना अधिकारी जोशीका अनुसार आइतबारसम्म अछामका २ सय १२ क्‍वारेन्टाइनमा ९ हजार १४ जना बसेका छन् । तीमध्ये २ सय ९१ जनामा आरडीटी पोजिटिभ देखिएको छ । आरडीटी पोजिटिभ देखिएकामध्ये लक्षण देखिएका केही व्यक्तिहरुलाई मात्रै क्‍वारेन्टाइनमा राखिएको छ । कतियप क्‍वारेन्टाइनमा बसेका व्यक्तिहरुले रिपोर्ट नआउँदासम्म घर जान मानेका छैनन् ।

अहिलेसम्म ५ सय १२ जनाको पीसीआर रिपोर्ट आएको र तीमध्ये १३ जना संक्रमित भेटिएका छन् । मुलुकका विभिन्न क्षेत्रबाट आएकाहरुलाई होम क्‍वारेन्टाइनमा र भारतबाट आएकाहरुलाई मात्रै क्‍वारेन्टाइनमा राखिएको छ । स्वास्थ्य कार्यालयको तथ्यांकअनुसार आइतबारसम्म ७ हजार ४४४ पुरुष, १५ सय ३७ महिला, ४ सय ७५ जना ५ वर्ष मुनिका बालबालिका रहेका छन् । तीमध्ये गर्भवती र सुत्केरी महिला ५२ जना रहेका छन् भने क्‍वारेन्टाइनमा नै ४ जना महिला सुत्केरी भएका छन् ।

अछाममा क्‍वारेन्टाइनमा बसेकाहरु धेरै भएकाले उच्च जोखिम भएको स्वास्थ्य कार्यालयका प्रमुख झनक ढुंगाना बताउँछन् । ‘निर्देशनालयले जे परिपत्र गर्‍यो हामीले त्यहीअनुसार काम अघि बढाउने हो । रिपोर्ट समयमा नआउँदा सबै आत्तिएका छन्’ उनले भने, , ‘अहिलेसम्म संक्रमणको उच्च जोखिम क्वारेनटाइनमा छ । रिपोर्ट नआउँदा घर पठाउनु परेको छ । अब समुदायसम्म संक्रमण फैलन सक्ने सम्भावना पनि बढेको छ ।’

स्थानीय तहहरु पीसीआर मेसिन खरिद गर्न केन्द्रित भएको उनले बताए । ‘मेसिन खरिद गरेरमात्रै समस्या समाधान हुँदैन यो सञ्‍चालनका पछाडि अन्य विविध व्यवस्था हुन जरुरी छ । सबै सरोकारवाला र स्थानीय तहले साथ दिएमा स्वास्थ्य कार्यालय, जिल्ला अस्पताल र बयालपाटा अस्पतालले आवश्यक काम अघि बढाउन सक्छ’ उनले भने ।

प्रकाशित : जेष्ठ ३२, २०७७ १६:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?