३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

दिपायलमा मुख्यमन्त्रीको पुतला दहन

मोहन शाही

डोटी — सुदूरपश्चिम प्रदेश सरकारले महामारी चलेका बेला आफ्नो पारिश्रमिक बढाएको भन्दै मुख्यमन्त्री त्रिलोचन भट्टको पुतला दहन गर्दै नेविसंघ डोटीले शनिबार विरोध जनाएको छ । 

दिपायलमा मुख्यमन्त्रीको पुतला दहन

दिपायलको पिपल्ला बजारमा नेविसंघका नेता कार्यकर्ताहरुले मुख्यमन्त्री भट्टको पुतला दहन गर्दै नाराबाजी गरेका हुन् । ‘कोभिड १९ का कारण नेपालीहरु क्‍वारेन्टानमा भोकभोकै र परीक्षण नहुँदा छटपटिरहेका बेला प्रदेश सरकारले पारिश्रमिक बढाएर उपहास गरेको छ’, नेविसंघ डोटीका सभापति गणेश खड्काले भने,‘प्रदेश सरकारले यसको खारेजी गर्नु पर्छ अन्यथा निरन्तर विरोध जारी रहनेछ ।’ नेविसंघका नेता कार्यकर्ताहरुले सुदूरपश्चिम प्रदेश सरकारमा प्रतिपक्षमा रहेको कांग्रेसका सांसदहरुलाई समेत पारिश्रमिक नलिन खबरदारी गरेका छन् ।

फागुन २९ गते बसेको सुदूरपश्चिम प्रदेश सरकारको मन्त्रिपरिषद् बैठकले ‘मुख्यमन्त्री र मन्त्रीहरूको पारिश्रमिक तथा सुविधासम्बन्धी ऐन (२०७५’ र ‘प्रदेशसभाका पदाधिकारी तथा प्रदेशसभाका सदस्यहरूको पारिश्रमिकसम्बन्धी ऐन’संशोधन गरी सेवासुविधा बढाएको थियो । संशोधित व्यवस्थापछि मुख्यमन्त्रीको पारिश्रमिक मासिक ६० हजार नौ सय ७० मा १६ प्रतिशत बढाएर ७१ हजार, मन्त्रीहररूको पारिश्रमिक ५४ हजारबाट बढाएर ६३ हजार, राज्यमन्त्रीको ६० हजार र सहायकमन्त्रीको ५८ हजार मासिक पारिश्रमिक पु‍र्‍याइएको छ ।

अब सभामुखले मासिक रुपमा ६४ हजार र उपसभामुखले ५९ हजार लिनेछन् भने विपक्षी दलका नेताको ५१ हजार पारिश्रमिक रहेकोमा ५९ हजार ५ सय पुगेको छ । सत्ता पक्ष र विपक्षी दलका प्रमुख सचेतकको ४९ हजार ५ सयबाट बढेर ५७ हजार ५ सय तथा प्रदेशसभा सदस्यहरुको ४८ हजार बढेर ५६ हजार ५ सय पुगेको छ ।


प्रकाशित : जेष्ठ ३१, २०७७ २१:३६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?