२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६१

क्वारेन्टाइनमा गर्भवती र सुत्केरीलाई सकस

बैतडीका विभिन्न क्वारेन्टाइनमा ४६४ महिला
तृप्ति शाही

बैतडी — बैतडीको दशरथचन्द नगरपालिका–७ एैचेकाडाकी दुर्गा बडु ६ महिनाकी गर्भवती हुन् । रोजगारीका लागि भारतको हरियाणा पुगेका उनका श्रीमान् अशोकले दुर्गालाई पनि साथै लिएर गएका थिए । कोरोना महामारीबाट जोगिन उनीहरु १५ दिनअघि मात्रै कञ्चनपुरको गड्डाचौकी नाका भएर आएका हुन् ।

क्वारेन्टाइनमा गर्भवती र सुत्केरीलाई सकस

अहिले गाउँमै रहेको कैलपाल विद्यालयको क्वारेन्टाइनमा उनीहरु बसेका छन् । परीक्षणको क्रममा दुवैमा आरडीटी पोजिटिभ देखिएको छ । पीसीआर रिपोर्ट भने आउन बाँकी छ ।

गर्भवती अवस्थामा क्वारेन्टाइनमा बस्दा निकै दु:ख भइरहेको दुर्गाले बताइन् । उनले भनिन्, ‘क्वारेन्टाइनमा समस्या धेरै छ । भुइँमा सुत्नु परिरहेको छ । यो बेलामा सरसफाइमा ध्यान दिनु पर्छ, पानी धेरै पिउनु पर्छ भन्ने गरिएपनि तर यहाँ हामी बसेको ठाउँमा पानीको व्यवस्था छैन । कसरी सरसफाइमा ध्यान दिनु ?’ खानपीनमा पनि समस्या रहेको दु:खेसो उनको थियो ।

दुईपटक मात्र खान पाएको उनले बताइन् । उनले भनिन्, ‘सुख्खा खाना दिने गरेको छ । खाजा पनि छैन । बिहान फिक्का चिया । अनि कहिले १० त कहिले १२ बजे दालभात मिल्छ । साँझ पनि ७/८ बजे दालभात नै मिल्छ अनि भइहाल्यो ।’ ओढ्ने ओछ्याउने कपडा पनि कम भएकोले चिसो हुने गरेको उनले सुनाइन् । आफ्नो अवस्था यस्तो भएकोले होम क्वारेन्टाइनमा बस्छु भनेको भएपनि कसैले नमानेका उनले बताइन् ।

श्रीमती गर्भवती भएकोले अलग्गै कुनै ठाउँमा बस्न दिनुस् भनेर वडाअध्यक्षलाई आग्रह गरे पनि माथिकै निर्णय हो भनेर कसैले नसुनेको उनका श्रीमान अशोकले बताए । आफू विद्यालयकै क्वारेन्टाइनमा बसेपनि श्रीमतीलाई अलग्गै स्थानमा राखिदिन भनेपनि नमानेको बताए ।

यस्तै जिल्लाकै मेलौली नगरपालिका–२ मा केदारेश्वर माविको क्वारेन्टाइनमा रहेकी रुवी आउजी पनि ३ महिनाको बच्चा लिएर क्वारेन्टाइनमा बसेकी छिन् । श्रीमान् र ५ वर्षको छोरासंँगै गौरीफन्टाबाट आएकी उनी भारतको महाराष्ट्रमा बस्दै आएकी थिइन् । कोरोनाको कारणले आफ्नो घर फर्केकी उनी क्वारेन्टाइनमा बस्न लागेको १० दिन भइसक्यो ।

गर्मी ठाउँबाट आएको भन्दै उनले चिसोले गर्दा क्वारेन्टाइनमा अफ्ठेरो भएको बताइन् । गाडीमा ४/५ दिन लगातार यात्रा गर्नु परेकोले राम्रोसँंग खान नपाउदा दूध कम भएको उनले बताइन् । ‘बच्चाले राम्रोसँंग दूध खान पाएको छैन । पहिले त ठिकै थियो’ उनले भनिन, ‘क्वारेन्टाइनमा सुत्केरीको लागि छुट्टै केही व्यवस्था छैन, भोक लागेर खाउँ भनेपनि किनेर पनि केही नपाउने रहेछ ।’ उनले घर फर्कंदा गाडी भाडामै धेरै खर्च भएकोले अब खर्च पनि बाँकी नरहेको दुखेसो पोखिन् ।

जिल्ला स्वास्थ्य कार्यालयमा अनुसार शुक्रबारसम्म ३ हजार ९ सय जना जिल्लाका विभिन्न पालिकाका क्वारेन्टाइनमा बसेका छन् । जसमा ४ सय ६४ जना महिला रहेका छन् । त्यसमा केही गर्भवती र सुत्केरी पनि रहेका छन् । दजर्नौ गर्भवती र सुत्केरीको दुर्गा र रुवीकोजस्तै विभिन्न समस्या र पीडामा क्वारेन्टाइनमा दिन बिताइरहेका छन् ।

यसरी क्वारेन्टाइनमा बसेका सुत्केरी र गर्भवती महिलाको लागि छुट्टै व्यवस्था भने जिल्लामा छैन । अन्य सबै महिला/पुरुषझैं उनीहरु पनि बस्न बाध्य छन् । गर्भवती र सुत्केरीलाई अघिपछिको भन्दा पोषिलो खानेकुरा, बस्ने ठाउँ राम्रो चाहिने भएपनि उनीहरु यस्ता सुविधाबाट बन्चित रहेका छन् ।

मेलौली नगरपालिकाले पनि उनीहरुको लागि व्यवस्था गर्न नसकेको स्वास्थ्य शाखा प्रमुख नारायणबहादुर चन्दले बताए । पालिकालाई व्यवस्थापन गर्नै गाह्रो भइरहेको भन्दै उनले यूएनपीएले एकपटक यस्ता महिलाहरुलाई केही स्वास्थ्य सााग्रीहरु सहयोग गरेपनि अरु सुविधा दिन नसकिएको बताए ।

स्वास्थ्यको आधारमा जिल्लाका क्वारेन्टाइनमा व्यवस्थापन राम्रो नभएको सिगास गाउँपालिकाको ढुंगाड स्वास्थ्यचौकी प्रमुख हेमन्तसिंह साउँदले बताए । ‘गर्भवती र सुत्केरीहरु धेरै दुख र समस्यामा छन्’ उनले भने । उनका अनुसार उनीहरुलाई क्वारेन्टाइनमा कुनै विशेष प्रकारको सुविधा छैन । अन्य नागरिक सरह नै बस्न बाध्य छन् । यस्तो अवस्थामा आमा र बच्चाको स्वास्थ्य जोखिममा पर्न सक्ने उनी बताउँछन् ।

प्रकाशित : जेष्ठ ३१, २०७७ १२:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?