कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८५

सुदूरपश्चिममा एन्टिबडी पोजिटिभ देखिएका २ हजारको अझै गरिएन पीसीआर टेस्ट

८८ वटै स्थानीय तहलाई ५०/५० बेडको आइसोलेसन भवनसमेत तयार पार्न पत्राचार
मोहन बुढाऐर

काठमाडौँ — सुदूरपश्चिम प्रदेशमा हालसम्म थ्रोट स्बावबाट गरिएको परीक्षणमा २ दशमलव २७ प्रतिशतमा कोरोना संक्रमण देखिएको छ । स्वास्थ्य निर्देशनालयका अनुसार चैतदेखि हालसम्म ८ हजार २ सय ५२ जनामा पीसीआर विधिबाट परीक्षण गरिएको छ ।

सुदूरपश्चिममा एन्टिबडी पोजिटिभ देखिएका २ हजारको अझै गरिएन पीसीआर टेस्ट

त्यसमध्ये १ सय ८८ जनामा कोरोना पोजिटिभ देखिएको छ । भारतसहित विदेशबाट आएकामा मात्र संक्रमण देखिएकाले समुदायमा भने फैलिसकेको छैन ।

निर्देशनालयका अनुसार बुधबारसम्म सुदूरपश्चिममा ९ हजार ४ सय ८२ जनाको थ्रोट स्वाब लिइएको छ । १ हजार ४ सय ५९ जनाको रिपोर्ट आउन बाँकी छ । आरडीटी ४८ हजार २ सय २० जनाको गरिएको छ । आरडीटीबाट २ हजार १ सय ७ एन्टिबडी पोजिटिभ देखिएको छ । तर ती सबैको पीसीआर परीक्षण गरिएको छैन ।

स्वास्थ्य निर्देशनालयका डा. गुणराज अवस्थीले भारतमा संक्रमित भएर आएकाहरुबाट समुदायमा संक्रमण फैलिन नदिनु नै चुनौती रहेको बताए । ‘अहिलेको हाम्रो प्रयास कोरोना समुदायलाई फैलिनबाट रोक्नु हो,’ उनले भने, ‘यसका लागि बाहिरबाट आएकालाई क्वारेन्टाइन, संक्रमितलाई आइसोलेसनमै राखेर संक्रमणको रोकथाम गर्ने प्रयत्न रहेको छ ।’

क्वारेन्टाइन व्यवस्थापन चुनौती

स्थानीय तहले बनाएका क्वारेन्टाइन विश्व स्वास्थ्य संगठनको मापदण्डअनुसार छैनन् । दिनदिनै क्वारेन्टाइन भरिँदै जाँदा जनशक्ति र ठाउँको अभाव हुन लागेको छ । डा. अवस्थीका अनुसार क्वारेन्टाइन राखिएका स्कुल, सार्वजनिक भवन र खाली घर भरिभराउ भइसकेका छन् । ‘अब होम क्वारेन्टाइन र लक्षण नदेखिएकालाई पनि होम आइसोलेसनमा राख्नुपर्ने अवस्था छ,’ उनले भने, ‘घर परिवार र समुदायमा फैलिन सक्ने जोखिम भए पनि अहिलेका क्वारेन्टाइनभन्दा होम क्वारेन्टाइन सुरक्षित हुन्छ ।’

निर्देशनालयका अनुसार बुधबारसम्म ६५ हजार १ सय १२ जना क्वारेन्टाइनमा छन् । ८८ वटै स्थानीय तहका १ हजार ८ सय ५७ क्वारेन्टाइनमा ८१ हजार ३ सय ३१ बेडको व्यवस्था गरिएको उनले जानकारी दिए । क्वारेन्टाइनमा खाना, नास्ता, ओढ्ने/ओछ्याउनेको व्यवस्थादेखि पानी र शौचालयको व्यवस्थापनमा स्थानीय तह चुकिरहेका छन् । 'व्यवस्थित नहुँदा क्वारेन्टाइन आफै संक्रमणको घर बन्न लागेको छ,' उनले भने ।

गौरीगंगा नगरपालिका प्रमुख भीमबहादुर देउवाले दिनदिनै भारतबाट भित्रिनेको संख्या बढ्दै जाँदा व्यवस्थापनमा चुनौती बढेको बताए । उनले भने, ‘आर्थिक रुपमा पनि नगरपालिकाले ठूलो आर्थिक भार उठाउनुपरेको छ ।’

एक महिनामा एक लाख भित्रिए

भारतबाट सुदूरपश्चिम भित्रिने ४ नाकाबाट जेठ महिनामा एक लाखभन्दा बढी नेपाली भित्रिएका छन् । कैलालीको गौरीफन्टा नाकाबाट मात्रै बिहीबारसम्म साढे ७२ हजार भित्रिएको जिल्ला प्रशासन कार्यालयका सूचना अधिकारी शिवराज जोशीले बताए । सुदूरपश्चिमको गड्डाचौकी, बैतडीको झुलाघाट र दार्चुलाको नाकाबाट ३० हजारभन्दा बढी भित्रिएको स्थानीय प्रशासनले जनाएका छन् ।

यो साता गौरीफन्टा नाकाबाट भित्रिनेको संख्यामा भने कमी आएको छ । यहाँबाट बिहीबार १ हजार ४ सय ५० जना भित्रिएका छन् । भारतबाट आउनेका लागि जेठ ७ गते गौरीफन्टा नाका खुला गरिएको थियो । सुरुवाती सातामा दैनिक ५ हजारको संख्यामा नेपाली भित्रिएका थिए ।

अस्पताल भरिभराउ

सुदूरपश्चिम प्रदेशमा कोराना संक्रमितको सख्या बढ्दै गएपछि अस्पतालमा जनशक्ति र ठाउँको अभाव खट्किन थालेको छ । सुदूरपश्चिममा कोभिड-१९ को रिफर सेन्टरको रुपमा रहेका सेती प्रादेशिक अस्पतालले विशेषज्ञ सेवा दिनुपर्ने बाहेकका संक्रमितलाई जिल्ला तथा स्थानीय तहलाई रिफर नगर्नु भनिसकेको छ । अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट हेमराज पाण्डेयले एकदमै जटिल केसका संक्रमितलाई बाहेक अन्यलाई बेड भर्ना गर्न नसकिने बताए ।

'प्रदेश सरकारले कोभिड-१९ को लागि निर्माण गरेको ५० बेड क्षमताको भवनमा सेती अस्पतालले संक्रमितलाई भर्ना गरेर सेवा दिन थालेको छ,' उनले भने, 'अहिले यहाँ ३४ जना कोरोना संक्रमितको उपचार भइरहेको छ ।' जनशक्ति अभावले ५० जनाभन्दा बढी संक्रमितलाई सेवा दिन सक्ने अवस्थामा नरहेको उनी बताउँछन् । ‘सेतीले दैनिक ३ सयभन्दा बढी अन्य बिरामीलाई पनि सेवा दिनुपरिरहेको छ,' उनले भने ।

सेतीमा चाप घटाउन अन्य जिल्ला अस्पताल र प्राथमिक स्वास्थ्य केन्द्रको क्षमता र सेवा विस्तार गर्नुपर्ने उनको सुझाव छ । अस्पतालमै भर्ना गर्नु नपर्ने लक्षण नदिएका संक्रमितलाई आइसोलेसनमा राख्ने व्यवस्था स्थानीय तह आफैले गर्नुपर्ने उनले बताए ।

डा. अवस्थी पनि कोरोना पोजिटिभ देखिएका सबैलाई अस्पतालमा भर्ना गर्न नसकिने अवस्था रहेको बताउँछन् । ‘लक्षण नदेखिएका संक्रमितलाई घर वा स्थानीय तहले बनाएका आइसोलेसनमा राख्नुपर्छ,’ उनले भने, ‘स्वास्थ्यमा गम्भीर समस्या देखिएपछि मात्रै अस्पताल पुर्‍याउने भनेका छौं ।’ उनका अनुसार सुदूरपश्चिमका ८८ वटै स्थानीय तहलाई ५०/५० बेडको आइसोलेसन भवनसमेत तयार पार्न पत्र नै पठाइएको छ ।

प्रकाशित : जेष्ठ ३०, २०७७ १७:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?